विद्यालयले नै नियम नमानेपछि स्कुल बस नियन्त्रणमा

समाधान संवाददाता २०७६ साउन २३ गते १२:३५

समाधान संवाददाता
पोखरा

उद्देश्यविपरीत सञ्चालन भएका पोखराका स्कुल बसलाई कारबाही गरिएको छ । भाडा प्रयोजनका निमित्त यातायात व्यवस्था कार्यालयमा दर्ता भई निजी प्रयोगमा सवारी सञ्चालन भएको पाइएपछि कारबाही भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सार्वजनिक ‘कालो प्लेट’मा दर्ता भई विद्यार्थी ओसारपोसार गरिरहेको अवस्थामा भेटिएका ६ वटा बस नियन्त्रणमा लिएको छ ।

कान्तिपुर एकेडेमी, होली एन्जल सेकेण्डरी स्कुल, एलए मावि, मेट्रोपेलिटन एकेडेमी, जुनियर सिटिजन्स एकेडेमी, बेसलाइन एकेडेमीको बसलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी जितजंग कार्कीले जानकारी दिए ।

Advertisement

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार सवारी जुन प्रयोजनका लागि दर्ता भएको हो सोही प्रयोजनमा मात्र उपयोग गरिनुपर्ने प्रावधान छ । ऐन विपरीत पोखराका अधिकांश स्कुलले सार्वजनिक सेवामा वर्षौंसम्म गुडेर पत्रु बनेका गाडी बालबालिका ओसार्न प्रयोग गर्दै आइरहेका छन् । त्यस्ता सवारीलाई नियन्त्रणमा लिई थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालय गण्डकीमा सिफारिस पठाइएको ट्राफिक कार्यालयका सूचना अधिकारी जितजंग कार्कीले बताए । पत्रु भएकै कारण कतिपय स्कुल बस पोखरामा सबैभन्दा धेरै वायु प्रदूषण गर्नेमध्ये अग्रपंक्तिमा छन् ।

न्यूरोडस्थित एलए माध्यमिक विद्यालयको ग१ख २४८८ नम्बरको बस केही वर्ष पहिले पोखरा बस व्यवसायी समितिमार्फत सार्वजनिक यात्रुलाई सेवा दिँदै आएको थियो । पछिल्लो केही वर्ष विद्यालयले उक्त गाडी विद्यालयमा बालबालिका ओसारपोसार गर्न प्रयोग हुँदै आएको छ ।

Advertisement

मेट्रोपेलिटन एकेडेमीले विद्यालयको प्रयोगमा ल्याएको ग१ख २७६१ नम्बरको बस पहिले यात्रु ओसार्न प्रयोग हुँदै आएको थियो । सार्वजनिक सवारीलाई २० वर्षे नीति ल्याएपछि अधिकांश व्यवसायिले गाडीलाई कवाडीमा फाल्नभन्दा आम्दानी देखेर निजी प्रयोगमा ल्याउने गरेका छन् । ट्राफिकले नियन्त्रणमा लिएका स्कुल बस कतिपयको वर्षौयता नवीकरण, जाँचपाससमेत भएको छैन । सामान्य जरिवाना तिर्दै छुट्दै आएका सवारीलाई अब भने प्रक्रिया नपु¥याई नछाड्ने ट्राफिक कार्यालयले जनाएको छ ।

पिसजोन एकेडेमीको ग१क ६४२ नम्बरको बस केही समययता ट्राफिक प्रहरीकै नियन्त्रणमा छ । उक्त गाडी ६ वर्षयता नवीकरण नभएकाले नियन्त्रणमा लिइएको सूचना अधिकारी कार्कीले बताए । विद्यालय प्रशासनलाई पटकपटक ताकेता गर्दा समेत नवीकरणका लागि कुनै चासो नदेखाएको उनी बताउँछन् ।

अनुगमनका क्रममा यसअघि नियन्त्रणमा लिइएका सवारीलाई यातायात कार्यालयले ५ हजारसम्म जरिवाना लिँदै आएको थियो । जरिवाना तिर्दै उम्कदै गरेपछि अबभने यातायात कार्यालयले कालो प्लेटलाई रातोमा रुपान्तरण गर्न अन्तिमपटक जरिवानासहित सचेत गराइने यातायात व्यवस्था कार्यालय गण्डकीका निमित्त प्रमुख सुन्दर शर्माले जानकारी दिए ।

‘सवारी ऐन अनुसार प्रयोजन विपरीत सञ्चालन हुँदै आएका सवारीलाई १ देखि ५ हजार रुपैयाँसम्म जरिवाना तिराउँदै आएका छौं,’ उनले भने, ‘जरिवानाले मात्रै नियन्त्रण नहुने हुँदा नम्बर प्लेट परिवर्तन गराउन सचेत गराउँछौं ।’ कारबाहीमा परेका सवारीले अर्कोपटक पनि सोही प्रकृतिको नियम मिचेमा हदैसम्मको कारवाही जरिवाना गरिने उनको भनाइ छ । क्षमताभन्दा बढी विद्यार्थी बोक्ने स्कुल बसहरुलाई समेत नियन्त्रणमा लिई कारवाहीका लागि सिफारिस गरिएको ट्राफिक कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया