अनुगमनका क्रममा नापतौल सामग्री जफत

समाधान संवाददाता २०७६ साउन २३ गते १३:२८

समाधान संवाददाता
पोखरा

जिल्ला प्रशासन कार्यालय कास्कीको अनुगमन टोलीले पोखरामा फुटपाथमा व्यापार गर्नेले प्रयोग गरेका माना, पाथी लगायत सामान जफत गरेको छ । अनुगमन समितिले माना, आधा मानाको रुपमा प्रयोग गरिएका टिनका वस्तु १९ थान, स्प्रिरिङ तराजु ३१ थान, स्टिलका गिलास १९ थान बरामद गरिएको गुणस्तर तथा नाप तौल कार्यालय पोखराका निरीक्षक युवराज अधिकरीले जानकारी दिए । उनले प्लास्टिकको भाँडा, सिसाको गिलास लगायत नाप्न प्रयोग गरिने अन्य वस्तु १९ थान टोलीले जफत गरेको अधिकारीले बताए ।

स्टान्डर्ड नाप तौल ऐन, २०२५ अनुसार उक्त वस्तु प्रयोग गर्न नापाइने उपझोक्ता मञ्च कास्की अध्यक्ष कपिलनाथ कोइरालाले बताए । यसरी प्रयोग भएका नापतौलका सामग्री वैज्ञानिक नभएको उनले बताए । अनुगमन समितिले नापतौलका सामान बिक्री वितरण गर्ने ४ वटा गोदामा पनि अनुगमन गरेको थियो । तर अनुगमको क्रममा गोदाममा स्टान्डर्ड नाप तौल ऐन, २०२५ ले बन्देज लगाएको नापतौलका वस्तुहरु नभेटिएको अनुगमन समितिले जनाएको छ ।

महेन्द्रपुल, चिप्लेढुंगा, मानव अधिकार चोक, न्युरोड, सभागृहचोक, पृथ्वीचोक लगायत ठाउँमा गरिएको अनुगमनका क्रममा यस्ता वस्तु प्रयोग गरेको भेटिएको हो । डोकोमा फलफूल लिएर बेच्ने, जिम्बु, मरिच, लगायत वस्तु बेच्न स्टान्डर्ड नाप तौल ऐन, २०२५ ले बन्देज लगाइका वस्तु प्रयोग गरिएको भेटिएको हो ।

नाप तौलका सामान जफत गरेपछि स्टान्डर्ड नाप तौल ऐन, २०२५ अनुसार किलोग्राम, र लिटरको आधारमा वस्तु नाप तौल गरी बेच्न अनुगमन समितिले निर्देशन दिएको छ । नापतौलका सामान अनुगमन टोलीले जफत गरेपछि फुटपथका सामान बिक्रेताले अनुगमन समितिसँग यस्ता समान बिक्री गर्ने गोदामलाई नै कारबाही गर्नुपर्ने माग गरे ।

Advertisement

अनुगमन समितिमा पोखरा महानगरपालिकाका नासु दुर्गाराज तिवारी, गुणस्तर तथा नाप तौल कार्यालयका सहायक निरीक्षक रघुनाथ पौडेल, जिल्ला प्रशासन कार्यालय कास्की खरिदार शुशीलादेवी पोख्रेल, पोखरा उद्योग वाणिज्य संघ सदस्य रामेश्वर अधिकारी लगायत थिए ।

उपझोक्ताले मूल्य तिरेपछि सही तौलको सामान किनेर खान पाउनुपर्ने उपझोक्ता मञ्च कास्कीका सचिव मिलन तिवारीले बताए ।

तपाईको प्रतिक्रिया