—सम्पादकीय— सार्वजनिक सम्पतिको संरक्षण

समाधान संवाददाता २०७६ साउन २३ गते १३:४६

पोखरा १८ जामुनबोट रत्न आधारभूत विद्यालयको १५ रोपनी जमीन तत्कालीन विद्यालय व्यवस्थापन समितिले वार्षिक १८ हजार रुपैयाँका दरले २० वर्षलाई भाडामा लगाएको सार्वजनिक भयो । त्यतिका सस्तोमा र विद्यालयको जमिन स्थानीयले भाडामा दिने अधिकार कहाँबाट पाए चासोको विषय बन्यो । अहिले रत्न आधारभूत विद्यालय जनजागृति माविमा गाभिएको छ । बन्द भएको विद्यालयको स्रोतसाधन भने भाडामा लगाइएको छ । त्यस्ता स्रोतसाधनको जिम्मेवारी कसले लिने हो र कसरी व्यवस्थापन गर्ने हो भन्नेबारे अन्योलै देखिन्छ । बन्द भएका, मर्ज भएका अरु पनि विद्यालय कास्कीमा छन् । तिनका भौतिक संरचना र जमीन बेवारिस छ ।

यता तालबराही गुठीको जमीन ५५ रोपनी ३९ वर्षका लागि भाडामा दिन सूचना आएको छ । गुठीको जमीन त्यसरी निजी संस्थालाई किन दिन खोजिएको हो ? प्रष्ट छैन । पोखराको महत्वपूर्ण धार्मिक संस्थाको जमीन स्थानीयसँग छलफलै नगरी निजी क्षेत्रलाई सुम्पिन किन खोजियो ? यसमा कसको स्वार्थ छ ? प्रश्न बग्रेल्ती छन् । पोखराको विन्ध्यवासिनी मन्दिरको भेटी व्यवस्थित भइसकेको छ । विन्ध्यवासिनीका पुजारी तलबमा छन् । आम्दानी पारदर्शी छ । मन्दिरको जमीनमा प्राकृतिक चिकित्सालय बन्दैछ, गुरुकुल बन्दैछ । मन्दिर आफैंले ज्येष्ठ नागरिक मिलन केन्द्र चलाएको छ ।

एम्बुलेन्स सेवा दिएको छ । तर विन्ध्यवासिनीभन्दा ज्यादा धार्मिक पर्यटक पुग्ने तालबाराही मन्दिरको भेटी आजसम्म गुपचुप छ । मन्दिर व्यवस्थापन समितिले आजसम्म वार्षिक आयव्यय विवरण सार्वजनिक गरेको सुनिएको छैन । पुजारी तलबमा छन् कि दानदक्षिणा सबै मुठीमा लैजान्छन् केही अत्तोपत्तो छैन । देउताकै मन्दिरको यो हालत हुनु कतिसम्म लाजमर्दाे कुरा हो भन्ने मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र सदस्यले बुझ्न सक्नुपर्ने हो । धार्मिक क्षेत्रले धर्मको ख्याल गर्नुपर्ने हो । त्यसो गरेको पाइएको छैन ।

हुँदाहुँदा तालबाराही गुठीको जमीन निजी संस्थालाई भाडामा लगाउन खोजिएको छ र त्यो पनि ३९ वर्षका लागि ? ३९ वर्ष चानेचुने समयावधि होइन । समाजशास्त्रले २५ वर्षलाई १ पुस्ता मान्छ । त्यसभन्दा ज्यादा समयका लागि गुठी जमीन निजी र व्यक्तिगत नाफाको उद्देश्यका लागि सुम्पिएर के कस्तो धर्म गर्न खोजिएको हो ? पश्चिमा देशमा धार्मिक संस्थाहरु अस्पताल चलाउँछन् । स्कुल चलाउँछन् ।

धार्मिक मिसनरीका विद्यालय र अस्पताल हाम्रै देशसम्म आइपुगेको पत्तो तालबाराही मन्दिरको व्यवस्थापन समितिलाई किन नभएको होला ? कि उनीहरुले नजरअन्दाज गरेका हुन् ? तालबाराही मन्दिरको आम्दानी विद्यालय, स्वास्थ्य लगायत जनहितकारी र परोपकारी कर्ममा लगाउने इच्छाशक्ति नदेखिनु साह्रै बिडम्वनापूर्ण हो । पोखराको महत्वपूर्ण मन्दिर र गुठीले त्यस्तो परोपकारी कर्म गर्दिए देशैभरिलाई उदाहरण हुने थियो कि ?

तपाईको प्रतिक्रिया