व्यवसायीलाई यातायात मजदुरको सम्मान

समाधान संवाददाता २०७६ साउन २६ गते १३:०५

समाधान संवाददाता
पोखरा

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका निर्वाचित अध्यक्ष तथा सञ्चालक समिति सदस्यलाई शनिबार यातायात मजदुरले सम्मान गरेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा व्यवसायीलाई भादगाउँले टोपी लगाएर सम्मान गरिएको हो । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश अध्यक्ष रुद्रबहादुर खत्रीले बस व्यवसायी कम्पनीमा रुपान्तरण भएपछि यातायात क्षेत्र पनि औपचारिक क्षेत्रमा जाने दाबी गरे ।

Advertisement

यातायात मजदुर पनि केही समयपछि योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आउने उल्लेख गर्दै अध्यक्ष खत्रीले सबै क्षेत्रमा काम गर्ने मजदुरलाई पेन्सनको व्यवस्था भए कोही पनि नेपाली काम खोज्न विदेश जान नपर्ने बताए ।

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष तथा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका केन्द्रीय उपाध्यक्ष योगेन्द्रबहादुर केसीले कम्पनी अन्तर्गत सार्वजनिक यातायातलाई प्रस्थान बिन्दु किटान भए तापनि गन्तव्य निर्धारण नभएको बताए । ‘कम्पनीमा गएपछि पहिला व्यवसायी स्थापित भएर यातायात मजदुरको सेवा सुविधामा ध्यान दिनेछौं,’ उनले भने, ‘नयाँ परिवेश अनुसार व्यवसायी आत्मनिर्भर बन्दै सामाजिक सुरक्षा लागु गर्न प्रयास गर्ने छौं ।’

Advertisement

कार्यक्रममा जिफन्टको सामाजिक सुरक्षा तथा सहकारी प्रवद्र्धन समिति केन्द्रीय सदस्य ईश्वरप्रसाद आचार्य, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन केन्द्रीय सचिव बलराम सापकोटा, यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज कर्णसिं गुरुङ, संगठन केन्द्रीय सचिव विष्णुबहादुर पराजुली, संगठन गण्डकीका अध्यक्ष विष्णुबहादुर खत्री क्षेत्री, संगठनका सहसचिव तिलबहादुर विक, प्रदेश सदस्य तथा लामो दुरी इकाइ अध्यक्ष श्यामप्रसाद बजगाँई लगायतले व्यवसायी र मजदुर १ सिक्काका २ पाटो भएको बताए ।

तपाईको प्रतिक्रिया