लेउवासंघको चुनाव भदौ २१ गते

समाधान संवाददाता २०७६ साउन २६ गते १३:३९

समाधान संवाददाता
पोखरा

लेखनाथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका प्रकाशित भएको छ । भदौ २१ गते बिहान ७ बजेदेखि ४ बजेसम्म मतदान हुने भएको छ । साउन २६ गते मतदाता नामावली प्रकाशन, साउन २७ गते मतदाता नामावलीमा नाम छुट भएकालाई समावेश तथा त्रुटि सच्याउने कार्यतालिका छ ।

निर्वाचन आयुक्त अधिवक्ता खगेन्द्रराज आचार्यका अनुसार साउन २८ गते दोस्रो नामावली र साउन २९ गते मतदाता नामावलीउपर दावी विरोध र सोही दिन अन्तिम मतदाता नामाबली प्रकाशन गरिनेछ ।

Advertisement

संघमा विभिन्न पदमा उम्मेदवारी मनोनयनका लागि भदौ १० गतेलाई तोकिएको छ । बिहान ११ बजेदेखि २ बजेसम्म मनोनयन फारम वितरण ११ बजेदेखि साढे २ बजेसम्म मनोनयन दर्ता गर्न सकिनेछ । भदौ १० गते २ः३० देखि ३ बजेसम्म उम्मेदवारको प्रथम नामावली प्रकाशन, ३ देखि ४ बजेसम्म उम्मेदवार विरुद्ध दावी विरोध, साढे ४ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशनको तालिका छ ।

भदौ १२ गते बिहान ११ः३० देखि २ः३० बजेसम्म उम्मेदवारी फिर्ता र ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । सोही दिन ४ बजेदेखि साढे ४ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न वितरण तथा अपरान्ह ५ बजे नमुना मतपत्र प्रकाशन गर्ने कार्यक्रम निर्वाचन उपसमितिले बनाएको छ ।

Advertisement

निर्वाचन उपसमितिले भदौ २० गते ३ः३० बजे उम्मेदवारको परिचय कार्यक्रम राखेको छ । उम्मेदवार परिचयमा अध्यक्षका प्रत्यासीले १०, पदाधिकारीले ५ मिनेट र सदस्यले ३ मिनेटमा आफ्ना कुरा राख्न सक्नेछन् । उम्मेदवार परिचय कार्यक्रममा जानीजानी सहभागी नभए उम्मेदवारको सूचीबाट हटाउन सक्नेगरी निर्वाचन समितिले सूचना जारी गरेको छ ।

नयाँ नेतृत्वका लागि भदौ २१ गते बिहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म लेखनाथ उद्योग वाणिज्य संघको भवनमा मतदान प्रक्रिया अघि बढ्ने निर्वाचन आयुक्त खगेन्द्रराज आचार्यले जानकारी दिए । मतदान सकिएलगत्तै मतगणना गरी परिणाम घोषणा गरिने उनले बताए ।

अध्यक्षका प्रत्यासी ढकालको प्यानल घोषणा
नेतृत्वका लागि अध्यक्षमा बलराम ढकाल र भरतकुमार अधिकारी आकांक्षी देखिएका छन् । वरिष्ठ उपाध्यक्ष ढकाल प्यानल नै निर्माण गरेर चुनावी मैदानमा होमिएका छन् भने अधिकारी भने छलफलमै छन् । उनले आइतबारसम्म प्यानल नै घोषणा गर्ने गरी तयारी थालेको बताइएको छ ।

ढकाल समूहबाट वरिष्ठ उपाध्यक्षमा छत्रधर आत्रेय, प्रथम उपाध्यक्षमा विनोदकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा राजेन्द्र ओझा, महासचिवमा गोपीचन्द्र बास्तोला, उपमहासचिवमा उपेन्द्र सुवेदी राजु र कोषाध्यक्षमा जानुका पराजुली चुनावी मैदानमा उत्रिने भएका छन् । खुला ८ सदस्य पदमा पुरानै कार्यसमिति सदस्यहरु मेनुका श्रेष्ठ, रामजी पौडेल, शैलेन्द्रमोहन भट्टराई, भरत ओझा, भीमबहादुर नेपाली काइराला, धीरज श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । नयाँ अनुहारमा बुद्धि बास्तोला र राधाकृष्ण अधिकारी आउने बताइएको छ ।

महिला सदस्यमा सन्ध्या दाहाल र इन्दिरा रोक्का चुनावी मैदानमा उत्रिदै छन् । एसोसियटमा विक्रम कर्माचार्य र संस्थागततर्फ हार्डवयर एसोसियसनका वजरिष्ठ सल्लाहकार सुदेव गुरुङ (माइला दाइ)को उम्मेदवारी रहने जनाइएको छ । संस्थागत तर्फका उम्मेदवार गुरुङ भने ढकाल समूहका हैनन् ।

खुला सदस्यमै बृहत बेगनास सरसफाइको नेतृत्व गरिरहेका रामबहादुर रानाभाट, खेमराज बराल, दीपकज्योति ढुंगाना, विन्दुचन्द्र बराल, एलपी ढुंगाना, सूर्य बन्जरा, अशोक बराल, ज्ञानेन्द्र बजगाई लगायतले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया