म्याग्देको पर्यटन विकास योजना तयार

समाधान संवाददाता २०७६ साउन २६ गते १३:५७

कृष्ण न्यौपाने
दमौली

‘पर्यटन विकास एउटै लक्ष्यः म्याग्दे गाउँपालिकाको उज्ज्वल भविष्य’ मूल ध्येयका साथ तनहुँको म्याग्दे गाउँपालिकाले आवधिक पर्यटन विकास योजना निर्माण गरेको छ । नेपालका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरुको पहिचान, संरक्षण, प्रबद्र्धन एवं प्रचारप्रसारमार्फत् राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारको रुपमा पर्यावरण अनुकूल पर्यटन उद्योगको विकास गर्ने भन्ने सरकारको नीति बमोजिम गाउँपालिकाले ५ वर्षे (०७४÷७५–०७८÷७९) पर्यटन विकास योजना बनाएको हो ।

मध्यनेपाल पर्यटन विकास समिति अध्यक्ष एवं पर्यटनविद् हरिसिं गुरुङको नेतृत्वमा भौगोलिक सूचना प्रणाली विशेषज्ञ, योजनाविद्, इन्जिनियर लगायतको टोलीले गाउँपालिकाको पर्यटन विकास योजना तयार गरेको हो । पर्यटन स्रोतहरुको संरक्षण एवं विकास गर्ने र पर्यटन उद्यमशीलताका साथै गाउँपालिकाको दीर्घकालीन सोचमा केन्द्रित भई गरिबी, अशिक्षा तथा विकासका मूलधारबाट वञ्चित जाति, वर्ग, क्षेत्र र समुदायलाई गुणात्मक जीविकोपार्जनको अवसर प्रदान गर्ने उद्देश्यसहित पर्यटन विकास योजना तयार गरिएको गाउँपालिका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन् ।

Advertisement

‘पर्यटन विकासको अवस्थालाई प्रबद्र्धन गर्नुका साथै प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाहरुको संरक्षण गर्ने योजनाको मुख्य उद्देश्य हो,’ रानाले भनिन्, ‘यसले स्थानीयवासीको जीविकोपार्जनमा सुधार ल्याई समावेशीमूलक आर्थिक विकासमा योगदान पुर्‍याउने विश्वास लिएका छौं ।’ प्रकृति र संस्कृतिको धनी गाउँपालिकाको विकास पर्यटनबाटै सम्भव रहेकाले पर्यटन गतिविधिलाई आर्थिक विकासको मूल आधार बनाई योजनाबद्ध ढंगबाट कार्यान्वयन गरिनेछ ।

पर्यटन विकास योजनाले प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदा संरक्षण र प्रबद्र्धन, आन्तरिक एवं बाह्य पर्यटन बजारको पहुँचमा सुधार, नयाँ पर्यटकीय सम्पदा र उपजको पहिचान र विकास, दिगो पर्यटन विकासका भौतिक तथा सामाजिक पूर्वाधार र पर्यटन सेवा, सुविधामा विकास र पर्यटन विकास र संस्कृति संरक्षणसम्बन्धी जनचेतनामा अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

Advertisement

गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेका अनुसार पर्यटकीय सम्पदा संरक्षण, सम्बद्र्धन तथा प्रबद्र्धन गरी गाउँपालिकालाई कृषि एवं सांस्कृतिक गन्तव्यको रुपमा पहिचान गर्ने लक्ष्य लिइएको छ । घिमिरेले पर्यटन उद्योगको विकास तथा विस्तारका लागि महत्वपूर्ण सम्पदा तथा स्थलको आधारमा छुट्टाछुट्टै पर्यटन क्षेत्र निर्माण गरिने जानकारी दिए । ‘ग्रामीण पर्यटनलाई महत्वपूर्ण व्यवसायको रुपमा अघि बढाई गाउँपालिकाको अर्थतन्त्रको प्रमुख आधारशीलाको रुपमा विकास गर्ने लक्ष्य लिएका छौं,’ उनले भने ।

पर्यटन विकासका लागि गाउँपालिकाले प्रमुख कार्यनीति निर्माण गरेको छ । नेपालको संविधान २०७२ र पर्यटन नीति २०६५ को आधारमा पर्यटन विकास तथा संस्कृति संरक्षण सम्बन्धी स्थानीय कानुन निर्माण गरी योजनाको प्रभावकारी कार्यान्वयन गरिने प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले बताए । गाउँपालिकाका अध्यक्षको अध्यक्षतामा जनप्रतिनिधि, सरोकारवाला निकाय र विषयगत कार्यालयको सहभागिता रहने गरी म्याग्दे पर्यटन प्रबद्र्धन समिति गठन गरिनेछ ।

भाषा, साहित्य, कला संस्कृतिको छुट्टाछुट्टै कोष स्थापना गरी विद्यमान विभिन्न भाषा, साहित्य, कला, संगीत लगायत समग्र संस्कृतिको विशिष्टकृत तरिकाले संरक्षण र विकास गर्ने, धेरै पर्यटक भित्र्याउन र उक्त क्रमलाई निरन्तरता दिन पर्यटन वर्ष, पर्यटन महोत्सव, सडक महोत्सव जस्ता कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ ।

गाउँपालिकाको पर्यटन विकासका लागि पर्यटकीय क्षेत्रहरुको प्राथमिकता पहिचान गरिएको छ । पर्यटन विकास योजना निर्माणका टोली प्रमुख एवं मध्यनेपाल पर्यटन विकास समिति अध्यक्ष एवं पर्यटनविद् हरिसिं गुरुङका अनुसार ग्रामीण पर्यटन, पदयात्रा पर्यटन, धार्मिक पर्यटन, साहसिक पर्यटन, जलविहार, खेल तथा मनोरञ्जन पर्यटनका क्षेत्र पहिचान गरिएको छ ।

योजनामा पर्यटन विकास सवल, कमजोर पक्ष, अवसर र चुनौतीलाई समेत पहिचान गरिएको छ । पृथ्वी राजमार्गसँगै फैलिएको उर्वर फाँट, प्राकृतिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण पदमार्ग, साहसिक पर्यटनका लागि आकर्षक स्थल, घरबासका लागि प्रचूर सम्भावना रहेका ठाउँ, प्राकृतिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण पदमार्ग पर्यटन विकासका सवल पक्ष हुन् । यद्यपि पर्यटन विकास योजनाका केही कमजोर पक्ष पनि योजनामा औंल्याइएको छ ।

पर्यटकीय सम्पदाको एकीकृत तथ्यांक अभाव, पर्यटकीय सेवा सुविधा तथा भौतिक पूर्वाधारको अभाव, तालिम प्राप्त जनशक्ति कमी, व्यवस्थित पदमार्ग तथा घरबासको विकास हुन नसक्नु, ठूला होटल तथा रिसोर्टका साथै पर्यटकीय सेवा सुविधामा लगानीकर्ताको अभाव योजनाको कमजोर पक्ष हुन् ।

पर्यटन विकास योजना कार्यान्वयनपश्चात् गाउँपालिकामा २०७९ सम्म ४ लाख ५१ हजार ५ सय आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गर्ने अनुमान छ । मानहुँ क्षेत्रमा ३० हजार, मनपाङ क्षेत्रमा ५ हजार, अकलाथानमा १ लाख, मूलाबारी भैरवथानमा ५ हजार, हषृपुर आकाशेदेवीमा ५ हजार, पृथ्वी राजमार्ग अन्तर्गतका पर्यटकीय स्थलमा ३ लाख, सेतीनदी जलाधार क्षेत्र, मानहुँ–भीमाद पदयात्रा र हर्षपुर–पोखरा पदयात्रामा ५ सय पर्यटक पुग्ने अनुमान छ ।

गाउँपालिकाले पर्यटन विकास योजना निर्माणका लागि विसं २०७४ फागुन १५ गते सम्झौता गरेको थियो । सम्झौता भएको ३ महिनाभित्र टोलीले सबै पक्षसँग छलफल र अन्तक्रिया गरी योजना तयार गरेको थियो । टोलीले स्थानीय क्षेत्रको पर्यटकीय सम्पदास्थल अद्यावधिक गर्नुका साथै भावी योजनासम्बन्धी प्रश्नावलीको आधारमा सूचना तथा जानकारी संकलन गरेको थियो ।

तपाईको प्रतिक्रिया