सुन किन्नेभन्दा बेच्नेकाे भीड

समाधान संवाददाता २०७६ साउन २७ गते १५:३४

जमुना शर्मा
चिप्लेढुंगा

नेपाली बजारमा सुनको भाउ बढेपछि सुन किन्नेभन्दा बेच्नेहरु धेरै छन् । चाडपर्व नजिकिँदै गर्दा सुनको भाउ बढेपछि नेपाली बजारमा सुन किन्नेभन्दा बेच्नेको भीड बढ्न थालेको हो । चाडपर्वको मौसममा ग्राहक कुरिरहेका सुन व्यापारी यतिबेला सुन किन्नभन्दा बेच्न आएका ग्राहकबाट हैरान छन् ।

मूल्य बढेको मौकालाई अवसरका रुपमा लिनेले भएको सुन बेच्ने गरेका छन् । अहिले सुनका गहना किन्नेभन्दा पनि बेच्न खोज्नेको संख्या बढी रहेको सगरमाथा सुनचाँदी पसल महेन्द्रपुल पोखराका सुरेन्द्र विश्वकर्माको भनाइ छ । सुनको मूल्य बढेपछि बिक्रीमा भने कमी आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपाली बजार पनि प्रभावित भएको हो ।

Advertisement

‘पसलभरि ग्राहक छन् तर सुन किन्न हैन’, उनले भने, ‘आफ्नै पसलबाट प्रति तोला ५२ हजार रुपैयाँमा सुन खरिद गरेर लगेकाहरु अहिले त्यही बिल लिएर प्रति तोला ७० हजार रुपैयाँमा बेच्न आएका छन् ।’ आफ्नै ग्राहकको सुन खरीद नगर्ने पनि भएन, खरीद गर्न पैसा पुर्‍याउनै गाह्रो भएको उनको भनाइ छ । तीज आयो भनेर सुनमा लगानी गरेका सुन व्यवसायीलाई मर्का परेको दाबी विश्वकर्माको छ ।

सुनको शुक्रबार सम्मको मूल्य ७० हजार प्रतितोला छ । तेजाबी सुन ६९ हजार ७ सयमा कारोबार भएको विश्वकर्माले बताए । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीका प्रथम उपाध्यक्ष रामबहादुर विश्वकर्माले सुन व्यापार १० प्रतिशतमा झरेको बताए । ‘नेपाली महिलाको तीजलाई लक्षित गहना अहिले यत्तिकै थन्किएका छन् । ग्राहक पुराना गहना लिएर बेच्न आउनुभएको छ’, विश्वकर्माले भने, ‘नयाँ सुन बैंकमा राखेर ग्राहकको पुरानो सुन खरीद गर्न बाध्य भएका छौं ।’ यस्तै अवस्था रहे व्यवसाय नै धरासायी बन्ने उनी बताउँछन् ।

Advertisement

कास्कीमा झण्डै ५ सय बढी सुनचाँदी व्यवसाय दर्ता छन् भने र स्वर्णकार कल्याण संघमा दर्ता भएका ३ सय कालीगढ प्रत्यक्ष रोगजारीमा संलग्न छन् । सुनको मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय बजारमा अमेरिका र चीनबीचको पछिल्लो समय चलेको व्यापारिक द्वन्द्व नै प्रमुख कारण भएको व्यवसायीको भनाइ छ । डलरमा भन्दा सुनमा लगानी बढेकाले मूल्यवृद्धि भयो, माग बढेपछि मूल्य वृद्धि स्वभाविक हो । सुनको मूल्य देशको आन्तरिक अवस्थाले भन्दा पनि अन्तर्राष्ट्रिय कारोवारले फरक सुन व्यवसायी भरत दियालीको भनाइ छ ।

५८ हजारमा ८ तोला सुन किनेकी पोखरा चाउथेकी सानुमाया खड्का अहिले त्यही सुन बेचेर छोरालाई अस्ट्रेलिया पठाउने तरखरमा छिन् । ‘पैसा पुगेको थिएन, सुनको मूल्य बढ्यो, यही बेला सबै सुन बेचेर छोरालाई अस्ट्रेलिया पठाउन लागेको छु । मूल्य घटेपछि फेरि किनौला । अहिलेको समस्या टर्ने भयो ।’

दैनिक २५÷३० तोला सुनका गहनाको व्यापार गर्दै आएका महेन्द्रपुलको रुपाकोट सुनचाँदी पसलका सञ्चालक दशरत सुनार अहिले सुन किन्ने मानसिकताले कोही ग्राहक नआउने बताउँछन् । ‘नेपालीको आयस्रोत भन्दा निकै उच्च रहेको सुन अब किन्न सहज छैन, तोलाको ७० हजार रुपैयाँ हालेर सुन किन्ने अवस्था छैन’, उनले भने ।

डलरको भाउ तलमाथि भइरहेपछि सुनको भाउमा पनि अस्थिरता आउने गर्छ । अन्तर्राष्ट्रिय बजारकै असरले नेपाली बजारमा केही समयदेखि सुनको मूल्य बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा स्थिर भए पनि नेपालका ठूला व्यवसायीको कारण मूल्य बढ्ने गरेको साना व्यवसायीको आरोप छ । सुनको मूल्य बढेर ८० हजार रुपैयाँसम्म पुग्नसक्ने व्यवसायीले अनुमान गरेका छन् ।

तपाईको प्रतिक्रिया