तायमचा नृत्य उपाधि भीमसेन टोललाई

समाधान संवाददाता २०७६ भदौ २ गते १२:४७

समाधान संवाददाता, पोखरा

गाईजात्रा पर्वको अवसरमा पोखरामा आयोजित तायमचा नृत्य प्रतियोगिताको उपाधि भीमसेनटोल तायमचा समितिले जितेको छ । नेवा खल कास्कीको आह्वान तथा महेन्द्रपुल तायमचा समिति पोखराको आयोजनामा शुक्र र शनिबार गाईजात्रा महोत्सव तथा तायमचा नृत्य प्रतियोगिता भएको हो । जितसँगै भीमसेनटोलले नगद ३० हजारसहित सिल्ड तथा प्रमाणपत्र प्राप्त गर्‍यो । विजयी टोलीलाई नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे, महेन्द्रपुल तायमचा समितिका अध्यक्ष ओमलाल बड्गामी र तायमचा नृत्य प्रतियोगिताका संयोजक मानकाजी माकाजुले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा दोस्रो भएको तेर्सापट्टी तायमचा समितिले नगद २० हजार सिल्ड तथा प्रमाणपत्र प्राप्त गरे । नयाँबजार तायमचा समिति तृतीय भए । नयाँबजारले नगद १० हजार सिल्ड र प्रमाणपत्र प्राप्त गर्‍यो । सान्त्वना स्वरुप रानीपौवाले नगद ५ हजार र मायाको चिनो पायो । महिला टोलीको उपाधि भने बागवजार कचाः खलले जितेको छ ।

Advertisement

बागबजारले जितसँगै नगद १५ हजार र सिल्ड प्राप्त गरेको छ । विधागत रुपमा अन्तर्गत उत्कृष्ट ख्यालीको विजेता रानीपौवा भयो । वाद्यवादन कुँडहर, उत्कृष्ट परी मोहोरियाटोल र उत्कृष्ट जोकर भीमसेनटोलले जितेको छ । विधागत प्रत्येक विजेताले २ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा पोखराका विभिन्न टोलका ३० टोलीले प्रतिस्पर्धा जनाएका थिए । जसमा ६ वटा महिला टोली थियो ।

पोखराको महेन्द्रपुल सडकमा २ दिनसम्म चलेको महोत्सवको पहिलो दिन शुक्रबार नेवारी सांस्कृतिक नृत्य, बाजा, तथा सांस्कृतिक कार्यक्रम भएको थियो । लाइभ कन्र्सट अन्तर्गत मौलिक बाजाका लागि ख्यातिप्राप्त लक्ष्य ब्यान्ड, तन्त्र ब्यान्ड तथा देउराली व्याण्डको प्रस्तुतिमा दर्शकले मनोरञ्जन लिएका थिए । चेतनामूलक सांस्कृतिक फेसन सोले पनि दर्शकलाई मन्त्रमुग्ध पारेको थियो । २० वटा स्टलमा नेवारी खानाका परिकार राखिएको थियो ।

Advertisement

महेन्द्रपुल तायमचा समितिका अध्यक्ष ओमलाल बडगामीको अध्यक्षतामा शुक्रबार भएको कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए ।

तपाईको प्रतिक्रिया