पाेखरा महानगरले आफ्नै प्राविधिक शिक्षालय खाेल्ने

समाधान संवाददाता २०७६ भदौ ३ गते ११:५९

समाधान संवाददाता
पोखरा

पोखरा महानगरले अब आफैं प्राविधिक शिक्षालय खोल्ने भएको छ । सोमबार बसेको महानगरको ३२ औं कार्यपालिका बैठकले अटो र सिभिल इन्जिनियरिङ कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले ‘पोखरा बहुप्राविधिक शिक्षालय’ को फोकल पर्सन राधाकृष्ण लामिछानेलाई नियुक्त गरेको महानगर प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए । ‘बैठकले उहाँलाई फोकल पर्सन नियुक्त गरेको छ । अब चाँडै प्राविधिक शिक्षालयबारे उहाँको टिमले अर्को निर्णय गर्छ,’ उनले भने, ‘कति सिट संख्याको हुन्छ । कहाँ खोल्ने भन्नेबारे उहाँहरुले नै निर्णय गर्नुहुनेछ ।’ लामिछाने महानगर शिक्षा परिषद् सदस्यसमेत हुन् ।

Advertisement

बैठकले महानगर क्षेत्रभित्र ५ वटा सेवा केन्द्र खोल्ने निर्णय गरेको छ । बैठकले पोखरा वडा नम्बर २, १३, २७, महानगरको कार्यालय र उपत्यका नगर विकास समितिको कार्यालयमा सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको प्रवक्ता नेपालीले जानकारी दिए ।

सेवा केन्द्रका लागि महानगरले अधिकृत, लेखापाल, प्राविधिक, नापीसहितको टोली खटाउने छ । ‘अब वडागत योजना, प्राविधिक लागत तथा अन्य सेवा लिन सहजपन ल्याउन सहज हुनेछ,’ उनले भने, ‘सानासाना योजनाका लागि टाढाबाट महानगरै धाउनुपर्ने समस्या पनि अन्त्य हुने विश्वास गरेका छौं ।’

Advertisement

भ्रमण वर्ष २०२० लाई सफल पार्न महानगरको कार्यापालिका बैठकले ३ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ । प्रवक्ता नेपालीले गण्डकी प्रदेशको निर्णय बमोजिम महानगरले उपसमिति तोक्न लागेको प्रष्ट्याए । उपसमितिमा पोखरा ३३ का वडाध्यक्ष शिव आचार्य, पोखरा ६ का वडाध्यक्ष जगत पहारी र पोखरा ३१ का वडाध्यक्ष कमल थापा रहने निर्णय भएको छ ।

बैठकले पोखरा महानगरका ग्रामीण क्षेत्रका सडकखण्डको मापदन्ड तोक्ने निर्णय गरेको छ । ‘ग्रामीण बाटोको मापदन्ड नतोक्दा सबै तिरबाट विरोध भइरहेको थियो । महानगरलाई पनि काम गर्न गाह्रो थियो,’ उनले भने, ‘मापदण्ड तोकिसकेपछि ती सबै समस्या हल हुने हामीले विश्वास लिएका छौं ।’ उनले विज्ञ प्राविधिको सल्लाह अनुसार ३७ वटा सडकखण्डको मापदण्ड तोक्ने निर्णय भएको जानकारी दिए ।

महानगरको ३२ औं कार्यपालिका बैठकले अस्थायी कर्मचारीको म्याद थप्ने, सवारी साधन नभएका कर्मचारीलाई निशुल्क इटिकेटिङ सुविधा उपलब्ध गराउने, ‘घ’ वर्गको ठेक्कापट्टा इजाजत लिन आवेदन दिएका ५ कम्पनीलाई स्वीकृत दिने लगायत निर्णय गरेको प्रवक्ता नेपालीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया