डेंगु नियन्त्रणमा बेवास्ता

समाधान संवाददाता २०७६ भदौ ४ गते १४:०७

भूगोलको हिसाबमा मुलुककै ठूलो पोखरा महानगरमा धेरै रोग संक्रमणको जोखिममा छ । ठूलो भूगोल, बाक्लो बस्ती अनि बढ्दो बसाइसराइँ र आवतजावतका कारण यहाँ सरुवा रोगको जोखिम बढेको हो । बर्ड फ्लुले पोखरालाई बर्सेनिजस्तो सताउँछ । स्वाइनफ्लुको संक्रमणले त पोखराका १ युवाको ज्यान पनि गइसकेको छ ।

धेरै तालतलैया भएकाले यहाँ साइबेरिया लगायत युरोपेली मुलुकहरुबाट जाडो मौसममा धेरै थरि चराचुरुंगी आउँछन् । जसका कारण बर्डफ्लुको जोखिम पोखरामा बढी रहन्छ । जसका कारण कुखुरापालक किसानले बर्सेनि मर्का खेप्नु परेको छ । भएका कुखुरा मार्नु पर्ने अवस्था आउँदा उपभोक्ता मासुकै लागि लागि चर्को मूल्य तिर्न वाध्य छन् ।

पछिल्लो समयमा पोखरामा डेंगु रोगको संक्रमण बढेको छ । जेठ यता मात्रै झन्डै १ सय २५ जनामा यो रोग देखिएको छ । यो त अस्पतालमा पुगेर रगत जचाउँदा पत्ता लागेकाहरुको संख्या हो । आर्थिक अवस्था कमजोर र स्वास्थ्यप्रति चेतनाको कमीले अस्पताल नपुग्नेहरुको संख्या पनि यहाँ कम छैन ।

Advertisement

आखिर पोखरामा यसको जोखिम किन बढिरहेको छ त ? यसका मुख्य २ कारण छन् । पहिलो त बाहिर सहरबाट आउने व्यक्तिले उतैबाट डेंगुको संक्रमण लिएर आएको हुनसक्छ । दोस्रो यहींको फोहरमैला व्यवस्थापनमा कमजोरी । धेरै समयसम्म जमेर रहेको पानीमा रहेका लामखुट्टेका कारण पोखरामा यो रोगको संक्रमण फैलिँदो छ ।

पोखरामा रहेका कवाडी संकलन केन्द्रको फोहरमैला डेंगु सार्ने लामखुट्टेको मुख्य वासस्थान रहेको पत्ता लागिसकेको छ । सहरलाई ‘स्मार्ट’ बनाइरहँदा फोहरमैलाकै कारण यस्ता रोगको जोखिम बढ्नु महानगरका लागि पक्कै पनि सुहाउँदो विषय होइन । यसमा सर्वसाधारणले पनि चासो नदेखाएको पाइएको छ । सामान्य भन्दा सामान्य सरसफाइमा ध्यान नदिँदा सर्वसाधारण आफै रोगको जोखिम मोलिरहेका छन् ।

Advertisement

डंगुको यति खतरा बढिरहेका बेला सरकारी निकाय भने बिरामीको संख्याको रेकर्ड राखेर बसिरहेको छ । यसको नियन्त्रणमा कुनै तहका सरकारबाट पनि गम्म्भीर रुपमा चासो देखाइएको छैन । संघीय सरकार मातहतका स्वास्थ्य संरचनाले अहिले जनचेतना र सरसफाइजस्ता विषयमा ध्यान दिँनैनन् । नजिकै रहेका प्रदेश र स्थानीय तहका सरकारले यसको जिम्मेवारी लिनुपर्ने हो । तर खै किन हो, यसमा दुवै सरकार उदासिन देखिएका छन् ।

स्वास्थ्य निर्देशनालय र जिल्ला तहका अस्पतालहरु प्रदेश मातहत छन् । तर कार्यक्रम कसरी कसले सञ्चालन गर्ने भन्ने अन्योल छ । विषय नमिल्ने व्यक्तिलाई कार्यालय प्रमुख बनाएको भनेर स्वास्थ्य निर्देशनालयका कर्मचारी आफै असन्तुष्ट छन् । यस्तो अवस्थामा उनीहरुले नागरिकको स्वास्थ्यतिर ध्यान दिन भ्याएकै छैनन् । महानगर कहाँ कता अलमलिएको छ पत्तो छैन ।

महानगरभित्रै स्वास्थ्य महाशाखा छ । अनि सबैजसो वडाहरुमा स्वास्थ्यका इकाइ छन् । त्यहाँ कर्मचारी पनि कार्यरत छन् । महिला स्वास्थ्य स्वयंसेविका पनि नभइका होइनन् । तर खै केमा कुरा नमिलेर हो, महानगर नगरवासीको स्वास्थ्यमा संवेदनशील हुन सकेको छैन ।

भित्रिने र बाहिरिने गरी १५ लाख हाराहारीमा जनसंख्या भएको पोखरामा सवा सयलाई डेंगु रोग लाग्नु अनौठो नभएको भन्ठानेर महानगरले चासो नदेखाएको हो भने यो उसको ठूलो गल्ती हो । जे होस् ३ तहका सरकार मिलेर यस्ता रोग नियन्त्रण गर्न बेलैमा जुट्नु पर्छ ।

तपाईको प्रतिक्रिया