अमुक प्रतिष्ठानलाई किन राज्यको जग्गा ?

समाधान संवाददाता २०७६ भदौ ५ गते १२:०७

विकास रोकामगर
पोखरा

प्रदेश सांसद विन्दुकुमार थापाले रवीन्द्र अधिकारी प्रतिष्ठानको भवन बनाउन जग्गा दिन लागेको भन्दै आपत्ति जनाएका छन् । बुधबार गण्डकी प्रदेश सभाको विशेष समयमा उनले पोखरा ५ स्थित वागबानी तथा कृषि अनुसन्धान केन्द्रको २ रोपनी जग्गा ल्याउन प्रक्रिया सुरु भएकोमा त्यसलाई तत्काल रोक्नुपर्ने बताएका हुन् ।

‘खुलेका सबै प्रतिष्ठानलाई राज्यले जग्गा दिन सक्छ भने त्यसमा मेरो आपत्ति छैन,’ सांसद थापाले भने, ‘त्यसो होइन भने कसैलाई दिने र कसैलाई नदिने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।’ उनले सार्वजनिक जग्गा अमुक प्रतिष्ठानलाई दिने परिपाटी बन्द गर्न माग गरे ।

Advertisement

सांसद रवीन्द्र स्मृति प्रतिष्ठानलाई तीनै तहका सरकारले गरेको आर्थिक सहयोगको पनि विरोध गरे । ‘विपक्षी पार्टीका स्व. नेताहरुको नामसमेत सुन्न नचाहने सरकारले एउटा गुट र पार्टीगत राजनीति गरिरहेको छ,’ उनले भने । प्रतिष्ठानलाई संघीय सरकारबाट १ करोड, प्रदेश सरकारबाट २ शीर्षकमा ६० र ५० लाख गरी १ करोड १० लाख र पोखरा महानगरबाट २० लाख रकम विनियोजन भएको छ ।

सांसद थापाले तालवाराही मन्दिर गुठी जग्गा निजी कम्पनीलाई भाडामा दिइन भन्दै त्यसलाई रोक्न माग गरे । उनले भने, ‘स्थानीय सरकार, स्थानीय बासिन्दा र मन्दिर व्यवस्थापन समितिसँग तथा सरोकारवालासँग सल्लाह नै नगरी समिधा गुठी भाडामा दिइन लागेको छ । त्यसबाट कमिसनको गन्ध आइरहेको छ ।’

Advertisement

सांसद प्रभा कोइरालाले जनप्रतिनिधि आइसकेपछि भ्रष्टाचार बढेकोले त्यसलाई नियन्त्रण गनुपर्ने बताइन् । विशेष समयमा उनले भनिन्, ‘भ्रष्टाचार घट्नुको साटो दिनानुदिन बढिरहको छ । यसविरुद्ध शून्य सहनशीलता अपनाउन जरुरी छ ।’ उनले भ्रष्टाचार बढेकै कारण जनप्रतिनिधि अलोकप्रिय बन्दै गइरहेको धारणा राखिन् ।

सांसद हरिशरण आचार्यले पोखरा मुग्लिन सडक खण्ड जीर्ण हुँदा यात्रुले सास्ती खेप्नु परिरहेको ध्यानाकर्षण गराए । उनले भने, ‘दुलेगौंडादेखि लामेआहालसम्मको सडक जीर्ण भइसकेको छ । सडक जीर्ण भएर धुलो र धुँवाले सबैलाई हैरान बनाएको छ ।’ उनले प्रदेशका मन्त्री दिनहुँ त्यही बाटो हुँदै ओहोर दोहोर गरे पनि मूकदर्शक बनेको आरोप लगाए ।

सांसद मिना गुरुङले न्यूनतम ज्याला र योगदानमा आधारित सामाजिक सुरक्षा योजना सबै क्षेत्रमा लागु गर्न आग्रह गरिन् । सांसद कृष्ण थापाले विभिन्न विकास निर्माणका काममा लेनदेनका आधारमा काम भइरहेकाले त्यसलाई रोक्न आग्रह गरे । बुधबार बसेको प्रदेश सभा बैठकको शून्य समयमा ओमकला गौतम चालिसे, विशेष समयमा सांसद मीना गुरुङ, कृष्ण थापा, विन्दुकुमार थापा, हरिशरण आचार्य, प्रभा कोइराला, विष्णुप्रसाद लामिछाने र मेखलाल श्रेष्ठले बोलेका थिए ।

दशैंमा विदेशबाट घर आएर रोटेपिङ खेल्नुस्ः पर्यटनमन्त्री लम्साल
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले आगामी पुससम्म १५ लाख आन्तरिक पर्यटक भित्र्याउने घोषणा गरेका छन् । उनले विदेशिएका नेपालीलाई स्वदेश बोलाउने र त्यसका लागि स्थानीय तहलाई परिचालन गर्ने बताए ।

‘विदेशमा रहेका सबै दाजुभाइ दशैंमा घर आउनुस् रोटेपिङ खेल्नुस भनेका छौं । यसका लागि हामी स्थानीय तहलाई परिचालन गर्दैछौं,’ मन्त्री लम्सालले भने, ‘भ्रमण वर्षलाई प्रभावकारी बनाउन हामी विभिन्न तरिकाले लागिरहेकै छौं ।’ उनले आगामी अन्तर्राष्ट्रिय पर्यटन वर्षमा सातै प्रदेशका मुख्यमन्त्री लगायतलाई गण्डकी प्रदेशमा भेला गराउनेबारे छलफल भइरहेको सुनाए ।

मन्त्री लम्सालले आन्तरिक भ्रमण वर्षको तयारीमा प्रदेश तल्लीन भएर लागेको बताए । उनले ढिलै भएपनि भ्रमण वर्ष सफल पार्न समिति गठन गरेको र त्यसले ६ पटक बैठक बसिसकेको जानकारी दिए । ‘काम भइरहेको छ । होमस्टे प्रवद्र्धनमा पनि हामी लागिरहेकै छौं,’ उनले भने, ‘गण्डकी प्रदेशमा आगामी पुष सम्ममा १५ लाख आन्तरिक पर्यटक भित्रिन्छन् ।’

११ वटा जिल्लाका ३० वटा होमस्टेलाई प्रदेशले ३० करोड अघिल्लो आर्थिक वर्षमा वितरण गरिसकेको र चालु आर्थिक वर्षमा पनि २५ करोड विनियोजन भएको मन्त्री लम्सालले सुनाए । ‘अघिल्लो वर्ष नपाएका होमस्टेलाई हामीले यो वर्ष रकम दिने भनेका छौं,’ उनले भने, ‘तर नयाँ होमस्टेले पाउनुहुने छैन । पुरानो र चलिरहेकै हुनुपर्ने छ ।’ उनले विदेशी पर्यटकलाई पनि गाउँगाउँ पु¥याउने लक्ष्य प्रदेशले राखेको सुनाए ।

तपाईको प्रतिक्रिया