—सम्पादकीय—अख्तियारको सक्रियता

समाधान संवाददाता २०७६ भदौ ५ गते १३:२९

कास्की मालपोतका अधिकृत अविनाश कुँवर ५९ हजार रुपैयाँ घुससहित मंगलबार पक्राउ परे । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोलीले उनलाई राष्ट्रबैंक चोकमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा समात्यो । ३३ वर्षे ती अधिकृतले कर छुट र छिटो काम गर्ने बहानामा घुस मागेको सेवाग्राहीले जनाएका छन् ।

२३ साउनमा सडक डिभिजन कार्यालय पोखराका प्रमुख इन्जिनियर हरिप्रसाद पोखरेल ९ लाख रुपैयाँ घुससहित समातिएका थिए । साउनकै १२ गते म्याग्दीमा स्वास्थ्य कार्यालयका कर्मचारीहरु घुससहित समातिए । असार १७ गते स्याङ्जामा खानेपानी कार्यालयका इन्जिनियर ४ लाख रुपैयाँ घुससहित समातिएका थिए । पोहोर साल मंसिर १६ गते पोखरामा क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख डा. तारानाथ पौडेल १ लाख रुपैयाँ घुससहित पक्राउ परेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय धमाधम घुससहित कर्मचारीहरु पक्राउ गरिरहेको छ । कतिपयले यसलाई नेपालमा भ्रष्टाचार मौलाएको रुपमा चित्रित गरेका छन् । तर खासमा मौलाएको चाहिँ अख्तियारको सक्रियता हो । कास्कीको मादी १ चिप्लीमा खेलकुद मैदान बनाउँदै नबनाई रकम भुक्तानी भएको एउटा घटनामा अख्तियारले मुद्दा चलाएको छ । पोहोर असोज २४ गते सहन्यायाधिवक्ता सुरेन्द्र थापा ५ लाख रुपैयाँ घुससहित समातिएका थिए । उनमाथि भ्रष्टाचार मुद्दा चलिरहेकै छ । यातायात व्यवस्था कार्यालय लाइसेन्सका कर्मचारीलाई पनि अख्तियारले हालै समातेको थियो ।

Advertisement

अख्तियारलाई लाग्ने आरोप के हो भने सानातिना भ्रष्टाचारका मामलामा संलग्नहरु समात्यो, ठूलालाई समात्न सकेन । तै सर्वसाधारणहरु भने मालपोत, यातायात, स्थानीय तह, स्वास्थ्य जस्ता कार्यालयहरुमा भइरहेका भ्रष्टाचार र ढिलासुस्तीबाट आजित छन् । ती कार्यालयका कर्मचारीलाई घुससहित समात्दा सर्वसाधारणमा सकारात्मक प्रभाव परेकै छ ।

पछिल्लो समय समातिएका कर्मचारीको घुस हजारमा नभई लाखमा छ र ९ लाख रुपैयाँसम्म । पक्राउका यी प्रतिनिधि घटनाले कर्मचारीतन्त्रमा मौलाएको भ्रष्टाचारलाई बाहिर ल्याएकै छ । दिनदिनै जसो अख्तियारले घुससहित कर्मचारी पक्राउ गरेको समाचार आइरहेको छ । तर कर्मचारीले घुस खान छाडेको देखिन्न । यो अख्तियारको कमजोरी होइन, कर्मचारीमा भएको भ्रष्टाचारी मनोवृत्तिकै उपज हो । कानुनले दोषीलाई कारबाही त गर्न सक्छ तर सिंगो समाजलाई रुपान्तरण गर्न सक्दैन । बदलिनुपर्ने भनेको समाज आफै नै हो ।

Advertisement

सर्वसाधारणले घुस नदिने बानी बसाल्नु सबैभन्दा महत्वपूर्ण कुरा हो । कर्मचारीले घुस नलिई काम गर्ने दृढता देखाउनु महत्वपूर्ण कुरा हो । भ्रष्टाचार निर्मुलको ठेक्का अख्तियार दुरुपयोग अनुसन्धान आयोगको होइन । सम्पूर्ण नागरिक सचेत हुने हो र सबै नैतिकवान हुने हो भने भ्रष्टाचार हुँदैन । अर्काे भ्रष्टाचार पूरै निर्मुल हुन कठिनै छ, मान्छे स्वाभाविक रुपमा लोभी, लालची र स्वार्थी छ, पशुबाटै विकसित हुँदै आएको प्राणी भएको हुँदा पाशविक प्रवृत्ति बाँकी छ मान्छेको जिनमा । इमान्दार र नैतिकवानहरुको संख्या बढ्यो भने बेइमान र अनैतिकहरुको मनोबल त्यसै घट्छ र भ्रष्टाचार न्यून भइजान्छ ।

तपाईको प्रतिक्रिया