तुइनरहित तनहुँ

समाधान संवाददाता २०७६ भदौ ६ गते १४:४६

कृष्ण न्यौपाने
दमौली

तुइन प्रयोग गरेर यात्रा गर्दा सर्वसाधारणको ज्यान जोखिममा परेपछि २०७२ असोज २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरबाट तुइन विस्थापित गर्ने घोषणा गरे । जोखिमपूर्ण यात्राको साधनको रुपमा लिइने तुइन विस्थापित गरी झोलुंगे पुल निर्माण गर्ने प्रधानमन्त्री ओलीको घोषणा थियो ।

सोही घोषणा बमोजिम तनहुँ जिल्ला तुइनरहित भएको छ । जिल्लाका ८ ठाउँमा रहेका तुइन विस्थापित गरी झोलुंगेपुल बनाइएको छ । जिल्लामा प्राविधिक कार्यालय र गैरसरकारी संस्था समन्वय समितिले तुइन विस्थापित गरि झोलुंगेपुल निर्माण गरेका छन् । गैरसरकारी संस्था समन्वय समितिलाई तुइन विस्थापित गर्न प्राक्टिकल एक्सन नामक संस्थाले आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो । १ सय २० मिटरभन्दा लामो झोलुंगेपुलको काम तत्कालीन स्थानीय विकास मन्त्रालय अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन र १ सय २० मिटरभन्दा छोटो दूरीका झोलुंगेपुलको काम सम्बन्धित जिल्ला विकास समितिमार्फत भएको थियो ।

Advertisement

जिल्लाका सबै तुइन विस्थापित गरी झोलुंगेपुल निर्माण गरिएको जिल्ला
समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए । उनका अनुसार अन्तिम तुइन विस्थापित गर्ने क्रममा बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ जोड्ने खहरेमा सेती नदीमाथि झोलुंगेपुलको निर्माण अन्तिम चरणमा पुगेको छ ।
संघीयता कार्यान्वयनपछि जिल्ला प्राविधिक कार्यालय खारेज भएको कारण उक्त निर्माणाधिन झोलुंगेपुलको प्राविधिक सहयोग नवलपुर जिल्लास्थित जिल्ला पूर्वाधार कार्यालयले गरिरहेको छ ।

जिल्लास्थित देवघाट गाउँपालिकाको बगन्दी र नवलपुर जोड्ने कालीगण्डकी नदी,
सोही गाउँपालिकाको कोटा र नवलपुर जिल्ला जोड्ने कालीगण्डकी नदी, सोही गाउँपालिकाको गरम नरम र नवलपुरको बुलिमराङ जोड्ने कालीगण्डकी नदी तथा व्यास नगरपालिका–१३ र रिसिङ गाउँपालिकाको सोलुङघाट जोड्ने सेतीमादी नदीमा तुइन विस्थापित गरी झोलुंगेपुल निर्माण गरिएको गैसस समन्वय समितिका महासचिव राजेश्वर हड्खलेले बताए ।

Advertisement

देवघाट गाउँपालिका–४ र चितवन जिल्लाको भरतपुर महानगरपालिका स्थित मुग्लिन नारायणखण्ड जोड्ने स्थानमा र शुक्लागण्डकी नगरपालिकाको झरौटा र ढोरफिर्दी जोड्ने सेतीनदीमा जिल्ला प्राविधिक कार्यालयले तुइन विस्थापित गरी झोलुंगेपुल निर्माण गरेको छ ।

देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले तुइनको कारण यात्रामा हुने जोखिम झोलुंगेपुलले हटाएको बताए । ‘सबैभन्दा बढी तुइन देवघाट गाउँपालिकामा विस्थापित भएको छ,’ उनले भने, ‘झोलुंगे पुल बनेपछि सर्वसाधारणले सुरक्षित रुपमा आवातजावत गर्न पाएका छन् ।’

तपाईको प्रतिक्रिया