सहरमा एब्सेलिङ ट्रायल

समाधान संवाददाता २०७६ भदौ ६ गते १५:५२

ईश्वर देवकोटा
पोखरा

काठमाडौं निवासी नुर्जा जोशी पोखरा लेकसाइडस्थित होटल रानिवन आर्केडको ५ औं तलाबाट तल नियाल्दै थिइन् । घडीको सुईले साँझको संकेत गरिसकेको थियो तर, नुर्जा फेवाकिनारमै रहेको रानिवन आर्केडको ५० फिट टपबाट भुइँ झर्ने तम्तयार देखिइन् । द लास्ट रिर्सोट, भोटेकोशीदेखि आएका गाइडले उनलाई सेफ्टी पिन लगाइदिए र सँगै टाउकोमा हेल्मेट, हातमा लेदर ग्लोब्स् ।

कन्फीडेन्ट देखिएकी नुर्जा स्योर भइन् अब तल झर्नु छ । गाइडले उनलाई रेलिङबाहिर दुवै खुट्टा झिक्न लगाए । एकपटक वाललाई किक हान्न लगाई डोरीमा चिप्लिन भनें । उनले त्यसै गरिन् । ३÷४ पटकको जिकज्याकमा उनी ५ तलामाथिबाट सडक पेटीमा झरिन् । पहिलेजस्तो डर भागिसकेको उनको अनुहारले प्रष्ट बताउँन्थ्यो ।

Advertisement

तल झर्नासाथ उत्साही हुँदै उनले भनिन्, ‘काठमाडौंमै रक क्लाइमिङ गरेको थिए । एडभन्चरियस् गेमको अरु अनुभव थिएन । एब्सेलिङ गर्ने मौका आजै जुर्‍यो साथीहरुसहित आइपुगें ।’

सेफ्टी पिनको सहायताले सिंगल डोरीमा तुर्लुङ झुन्डिएर भुइँमा झर्ने व्यवस्था द लास्ट रिसोर्ट भोटेकोशीले नै आयोजना गरेको थियो । त्यसमा काँध मिलायो पोखराकै होटल रानिवन आर्केडले । साहसिक पर्यटकको गन्तव्य पोखरामा त्यस्तै किसिमका गतिविधि बढाउन पनि रानिवनले व्यवस्थापनमा सहकार्य ग¥यो । ३ दिनको कार्यक्रममा ३ सय ७५ जना सहभागि भए । निशुल्क एडभेन्चर अनुभव पस्कने जमर्को गरिएको अभियानमा उत्साहजनक पर्यटक सहित पोखराकै स्थानीहरुसमेत सहभागि भए ।

Advertisement

सहरबाट केही पर यस्तै प्रकृतिको क्यानोनिङ छ । झरनामा पानीको फोहोरासँग कुस्ती खेल्दै पोखरीमा झर्ने प्रयास त्यहाँ हुन्छ । यहाँ अग्ला भवनका भित्तासँग खुट्टाले धक्का दिँदै सरर भुइँमा झरिन्छ ।

आन्तरिक पर्यटन भ्रमण वर्ष मनाइरहेको गण्डकी प्रदेशले पर्यटकलाई थप आकर्षण बढाउन ट्रायलको रुपमा एब्सेलिङ निशुल्क उपलब्ध गराइएको होटल रानिवन आर्केडका सञ्चालक समेत रहेका टान पश्चिमाञ्चल संघका अध्यक्ष हरि भुजेलले जानकारी दिए ।

‘सहरका अग्ला घरहरुमा पनि साहसिक खेल सञ्चालन गर्न सकिन्छ भन्ने सम्भावना देखाउन पनि एब्सेलिङ गराइएको हो,’ उनले भने, ‘साहसिक खेलका गतिविधि बढाएर पर्यटकको बसाइँ लम्बाउन सके अर्थतन्त्रमै सहयोग पुग्छ भन्ने हाम्रो ध्येय हो ।’

राष्ट्रिय पर्यटन वर्ष सन् २०२० मा को पूर्वसन्ध्यामा एडभेन्चर गेमको विधा थप्न एब्सेलिङले महत्वपूर्ण योगदान गर्ने उनको विश्वास छ । बञ्जि जम्प, जिप फ्लाइङ, प्याराग्लाइडिङसँगै सहरका अग्ला भवनमा एब्सेलिङले पर्यटकीय चहलपहल बढाउन मद्दत पुग्ने उनले सुनाए ।

पोखरा आफैंमा एडभेन्चरको रुपमा परिचित हुँदै गर्दा एब्सेलिङको महत्व झन् हुन सक्ने सोचेर नै ट्रायल टेस्ट गरिएको द लास्ट रिसोर्टका मार्केटिङ हेड मोहित श्रेष्ठले जानकारी दिए । २० वर्षदेखि भोटेकोशीमा विभिन्न एडभेन्चर खेल पस्किदै आएको छ । कम्पनीका श्रेष्ठ भन्छन्, ‘एब्सेलिङलाई पोखरामा ब्रान्ड बनाउनु पर्छ । सम्भावना देखेका छौं ।’

तपाईको प्रतिक्रिया