आँखा उपचारमा सफलता

समाधान संवाददाता २०७६ भदौ १३ गते १२:३८

मनिपाल मेडिकल कलेज पोखरामा दिनहुँजसो हेलिकोप्टर अवतरण गर्छ अनि बिरामी बोकेर काठमाडौं लैजान्छ । हृदयाघात या अलि कडै खालका बिरामी दिनहुँ सरदर १० जना पोखराबाट काठमाडौं या भारतका विभिन्न अस्पतालमा रिफर हुन्छन् । तर आँखाको उपचारका लागि पोखराबाट काठमाडौं र विदेश धाइरहनु पर्दैन । २७ वर्षअघि पोखरामा स्थापित हिमालय आँखा अस्पतालले पोखरामात्र हैन, कर्णालीको दुर्गम भेगका बासिन्दालाई समेत गुणस्तरीय सेवा दिँदै आएको छ ।

अरु रोग लागे पोखरेली अन्यत्र जानुपरे पनि आँखाको उपचारमा पोखराले अन्यत्रकालाई निम्तो दिइरहेको छ । चस्मा लगाउन नपर्ने गरी गरिने रेटिना सम्बन्धी अप्रेसन सुविधा तिलगंगा आँखा अस्पतालमा मात्रै छ । नत्र आँखा सम्बन्धी समस्याको ९० प्रतिशत उपचार पोखरामै हुन्छ । अस्पतालको आफ्नै प्रयास र दातृ संस्थाहरुको सहयोगले आँखा उपचारमा हिमालय आँखा अस्पताल अब्बल सावित भएको छ । तत्कालीन अवस्थामा गण्डकी, धौलागिरी र कर्णाली अञ्चललाई लक्ष्य गरी विसं २०४९ मा पोखरामा हिमालय आँखा अस्पताल खुलेको हो ।

विसं ३०३५÷३६ मा नेपालमा राष्ट्रिय अन्धोपन सर्वेक्षण गरियो । उक्त सर्वेक्षणले कुल जनसंख्याको शून्य दशमलव ८४ प्रतिशत दृष्टिविहीन रहेको तथ्यांक देखायो । तीमध्ये पनि ९२ प्रतिशत दृष्टिविहीन ग्रामीण भेगमा बस्ने गरेको र अन्धोपनलाई मुलुककै मुख्य जनस्वास्थ्य समस्याका रुपमा सर्वेक्षणले चित्रण गरेको थियो । त्यतिबेलासम्म राजधानी केन्द्रित आँखा उपचार सेवा यो सर्वेक्षणको नतिजा सार्वजनिक भएलगत्तै राजधानी बाहिर पुर्‍याउन पहल थालिएको हो ।

Advertisement

नेपाललमा आँखा उपचारको क्षेत्रमा सहयोग गर्ने मध्ये सबैभन्दा अग्रपंक्तिमा आइ केयर फाउन्डेसन नेदरल्यान्ड छ । सोही संस्थाकै अग्रसरमा हिमालय आँखा अस्पताल खुलेको हो । नेदरल्यान्डबाट नेपाल घुम्न आएको पर्यटकको टोली जुम्ला गएका बेला त्यहाँका नागरिकमा आँखाको समस्या देखेपछि फाउन्डेसनको परिकल्पना गरिएको थियो । पर्यटकको त्यो टोली नेदरल्यान्ड फर्केपछि च्यारिटीबाट सहयोग संकलन गरी ३५ वर्षदेखि लगातार फाउन्डेसनले नेपालमा काम गर्दै आएको छ । नेपाल लगायत विश्वका १६ मुलुकमा आँखाको क्षेत्रमा सहयोग गर्दै आएको आई केयर फाउन्डेसन नेदरल्यान्डले ३५ वर्ष पार गरेको छ । यही अवसरमा फाउन्डेसनले नेपालका विभिन्न जिल्लासहित पोखरामा उत्सव मनाएको छ ।

तथ्यांक अनुसार मुलुकमा कुल जनसंख्याको १६ प्रतिशतलाई कुनै न कुनै आँखाको रोग छ । ३ प्रतिशत पूर्ण वा आंशिक दृष्टिहीन छन् । तर नेपालमा हाल १ सय १५ को हाराहारीमा आँखा विशेषज्ञ छन् । तीमध्ये जम्मा ३० जनामात्र डाक्टर काठमाडौं बाहिर छन् । कम्तीमा १ लाख जनसंख्या बराबर १ आँखा विशेषज्ञ हुनुपर्नेमा २ लाख बराबर १ जना मात्र उपलब्ध छन् । नेत्र सहायक र अन्य प्राविधिकसमेत पर्याप्त नहुँदा नागरिकले चाहेको अवस्थामा आँखाको उपचार पाउन सकेका छैनन् ।

Advertisement

तराईभन्दा पहाडी क्षेत्रमा आँखा उपचार समस्या बढी छ । आँखा उपचारका सुविधा तराई र सहरी क्षेत्रमा केन्द्रित भएकाले पहाडी भेगमा उपचार सुविधा सहज हुन सकेको छैन । पहाडी क्षेत्रमा राजधानीबाहिर पोखरामा हिमालय आँखा अस्पताल र पाल्पामा लायन्स लाकौल गरी २ मात्र अस्पताल छन् । बेलाबखत बस्ने आँखा शिविर र मुलुकका २९ ठाउँमा सञ्चालित आँखाको प्रारम्भिक उपचार हुने स्वास्थ्य केन्द्रले सक्दो सेवा दिँदै आएको छ । नेपालमा आँखा रोगकको समस्या देखेपछि स्थापना भएको आइ केयर फाउन्डेसनलाई हाम्रो पनि शुभकामना ।

तपाईको प्रतिक्रिया