एटिएमबाट दैनिक ६० हजार मात्रै झिक्न पाइने

समाधान संवाददाता २०७६ भदौ २० गते १३:५६
सांकेतिक तस्विर

समाधान संवाददाता
काठमाडौं

एटिएमबाट दैनिक ६० हजार रुपैयाँ मात्रै झिक्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंक भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले तत्कालका लागि एटिएमबाट झिक्न पाउने रकमको सीमा घटाइएको बताए । यसअघि दैनिक १ लाख रुपैयाँसम्म नगद झिक्न पाइने व्यवस्था थियो ।

Advertisement

त्यस्तै अब १ पटक कार्ड घुसाउँदा अधिकतम २० हजार रुपैयाँ मात्रै झिक्न पाइने छ । यसअघि १ पटकमा अधिकतम २५ हजार रुपैयाँसम्म झिक्न पाइने व्यवस्था थियो ।

गत शनिबार चिनियाँ ह्याकरले एटिएम प्रणाली नै ह्याक गरी एटिएमबाट रकम चोरेपछि राष्ट्र बैंकले नगद झिक्न पाउने सीमा घटाएको हो । ‘राष्ट्र बैंकले परिपत्र जारी गरिसकेको छ, बैंकहरुले शुक्रबारदेखि नै यसलाई लाग गर्नेछन्,’ मिश्रले भने ।

Advertisement

एटिएम प्रणाली ह्याक प्रकरणपछि राष्ट्र बैंकले अध्ययन गर्न गठन गरेको समितिले नेपाल र भारतबाट ३ करोड ५८ लाख रुपैयाँ झिकिएको ठहर गरेको छ । उक्त प्रकरणमा संलग्न ६ चिनियाँ नागरिक पक्राउ परेका छन् भने यससम्बन्धी अध्ययन गर्न फरेन्सिक टोली नेपाल आएको छ ।

समितिले ३ महिनाभित्र बैंकका सबै कार्ड चिपयुक्त बनाउन सुझाव दिएको छ । हाल चिप नभएका कार्ड समेत प्रयोग भइरहेकाले ३ महिनापछि त्यस्ता कार्ड सञ्चालन हुन नसक्ने व्यवस्था गर्न समितिले सुझाएको छ ।

समितिले दिएका दीर्घकालीन सुझावहरुमा कार्डसँग सम्बन्धित नेटवर्क र सिस्टमको सुपरिवेक्षण नियमित रुपमा गर्नु पर्ने, कार्डसँग सम्बन्धित सूचना प्रणालीको वार्षिक रुपमा अडिट गर्ने व्यवस्था मिलाउनु पर्ने उल्लेख छ ।

कार्डसँग सम्बन्धित प्रणालीको अर्धवार्षिक रुपमा परीक्षण गर्ने व्यवस्था मिलाउनु पर्ने, एटिएमको कक्षमा जडित सिसिटिभीको नियमित रुपमा केन्द्रीकृत रुपले अनुगमन गर्ने व्यवस्था मिलाउनु पर्नेछ । साथै, यस्तो अनुगमन शनिबार लगायत अन्य बिदाको दिनमा समेत नियमित रुपले गर्ने व्यवस्था मिलाउनु पर्ने सुझावमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया