अमर न्यौपानेले ल्याए ‘गुलाबी उमेर’

समाधान संवाददाता २०७६ भदौ २२ गते १३:४२

समाधान संवाददाता, पोखरा

मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेले चौथो कृति ‘गुलाबी उमेर’ ल्याएका छन् । उक्त किताब शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । साहित्यकार कृष्ण धराबासी, कलाकार केकी अधिकारी र लेखक न्यौपानेले पुस्तक लोकार्पण गरे ।

धराबासीले पुस्तक किशोर मनोविज्ञानमा आधारित रहेर लेखिएको बताए । ‘यो समयमा किशोरीको मनोविज्ञान कसरी विकास हुन्छ, वर्षाैपिच्छे उनीहरुको व्यवहार कसरी परिवर्तन हुन्छ र उनीहरुले आफ्नो परिवारसँग कस्तो व्यवहार गर्छन्, त्यो देखाउने प्रयास पुस्तकले गरेको छ,’ उनले भने, ‘यसमा फ्रायड प्रतिपादित इलेक्ट्रा कम्प्लेक्सलाई चित्रण गरिएको छ ।’ उपन्यास लेखनमा केही नवीनता रहेको र प्रत्येक अध्यायको उपसंहारका रुपमा अर्काे पाठक खडा गरिनु पनि नौलो अभ्यास रहेको धराबासीले बताए ।

Advertisement

कलाकार केकी अधिकारीले पुस्तक एकदमै फरक लागेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘पुस्तक पढिरहँदा मलाई आफैं किशोरवयमै फर्किएको अनुभूति भयो । मलाई लाग्छ, यो पुस्तकमा प्रत्येक किशोरीले आफूलाई भेटाउँछन् भने महिलाले आनो किशोरावस्थाका घटनापरिघटनालाई सम्झन्छन् ।’

लेखक न्यौपानेले आफूले १२ वर्षसम्म पढाउँदा किताबको कुरा पढाएको र किताबकै गृहकार्य दिए पनि विद्यार्थीले भने आफूलाई जीवनको कुरा पढाएर जीवनकै गृहकार्य दिएको बताए । उनले भने, ‘मैले भनेर गृहकार्य दिएँ, उनीहरुले नभनेरै गृहकार्य दिए । यो उपन्यास विद्यार्थीले दिएको त्यही गृहकार्य हो ।’

Advertisement

पुस्तकमा लेखकले एउटी किशोरीको हुर्कंदो उमेरको कथा पस्किएका छन् । जहाँ बाल्यकालबाट किशोर अवस्थामा प्रवेश गर्दा एउटी किशोरीमा देखापर्ने मानसिक तथा शारीरिक परिवर्तन र उतारचढावको कथा बुनिएको छ । यही उमेरको कथा नै गुलाबी उमेर हो ।

लेखकले पुस्तकमा उमेरलाई ५ भागमा विभाजन गरेका छन् । जन्मदेखि १२ वर्षसम्म पल्लवी उमेर, जो सबैभन्दा अबोध र निश्छल हुन्छ । १३ देखि १९ वर्षसम्म गुलाबी उमेर, जुन सबैभन्दा तरल र कल्पनाशील उमेर हो । र २० देखि ४० वर्षसम्म मखमली उमेर, जसलाई ऊर्जावान् र शक्तिशाली उमेरका रुपमा बुझ्न सकिन्छ । ४१ देखि ६० वर्षसम्म बैजनी उमेर, जुन सबैभन्दा चिन्तनशील र दार्शनिक उमेर हो । ६१ देखि मृत्युपर्यन्तको समयलाई लेखकले अस्मानी उमेरका रुपमा चित्रण गरेका छन्, जो सबैभन्दा आध्यात्मिक अवस्था हो । फाइनप्रिन्टले प्रकाशनमा ल्याएको पुस्तकको मूल्य ४९८ रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया