राेकियाे काेरला व्यापार मेला

समाधान संवाददाता २०७६ भदौ २६ गते १२:३८

एसके थकाली
जोमसोम

बर्सेनि २ सिजन मुस्ताङको उत्तरी कोरलानाकामा हुँदै आएको दोस्रो अन्तरदेशीय व्यापार मेला स्थगित भएको छ । सुरक्षा तथा विविध कारणले व्यापार मेला रोकिएको जनाइएको छ ।

बर्सेनि असार र भदौमा कोरलामा चिनिया व्यापार मेला हुन्थ्यो । यसपालि असारमा मेला भए पनि भदौमा लाग्ने मेला हुन सकेन । १ साताअघि चिनियाँ पक्ष, इलाका प्रशासन कार्यालय, लोमान्थाङ गाउँपालिका र स्थानीयबीच लोमान्थाङमा व्यापार मेला सन्चालन गर्न छलफल भएको थियो । चिनियाँ पक्षले माथिको आदेश भन्दै व्यापार मेला स्थगित गरेको इलाका प्रशासन कार्यालयका प्रमुख मुरारी निरौलाले जानकारी दिए । उनले अर्को आदेश नभएसम्म व्यापार मेला स्थगित भएको बताए ।

Advertisement

लोमान्थाङबासीले चिनियाँ पक्षलाई व्यापार मेला सञ्चालन गरिदिन आग्रह गरेका थिए । उनीहरुले भदौमा हुने दोस्रो व्यापार मेलामा आफूहरुले आवश्यक दैनिक उपभोग्य सामान जोहो गर्ने गरेको उल्लेख गर्दै मेला आयोजना गर्न अनुरोध गरेका थिए । उपल्लो मुस्ताङका स्थानीयले बर्सेनि भदौमा हुने व्यापार मेलामा हिउँदलाई सामान किन्छन् ।

लोमान्थाङबासीले चिनियाँ सुरक्षा अधिकारीसमक्ष व्यापार मेलाको नयाँ मिति तोक्न अडान लिएका थिए । सुरक्षा अधिकारीले अक्टोबर १४ तारिखमा व्यापार हुनसक्ने आश्वासन दिएका छन् । यो समयमा उपल्लो मुस्ताङी हिउँद यामको जाडो छल्न र व्यापार व्यवासाय गर्न बेंशी झर्छन् । इलाका प्रशासन प्रमुख निरौलाले चिनियाँ पक्षले आश्वासन दिएको नयाँ मिति उपयुक्त नभएको औंल्याए ।

Advertisement

मेलामा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीय किनमेलका लागि कोरला जाने गर्छन् । मेलामा चिनिया पक्षले प्रवेशकार्ड अनिवार्य गथ्र्यो । यसअघि असारमा भएको अन्तरदेशीय व्यापार मेलामा इलाका प्रशासनले ८ सय जनालाई बोर्डर पास उपलब्ध गराएको थियो । मेलाका लागि २ सय ७४ जनाले मात्र बोर्डर प्रवेश बनाई नवीकरण गरेका थिए । २ महिनाअघि भएको कोरला अन्तरदेशीय व्यापार मेलाका ४ दिनमा ३ लाख १४ हजार १ सय ४५ राजस्व संकलन भएको थियो ।

तपाईको प्रतिक्रिया