मानसिक समस्या र आत्महत्या

समाधान संवाददाता २०७६ असोज २८ गते १६:१२

असोज २३ मा विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको छ । यस वर्षको दिवसको सन्देश आत्महत्या नियन्त्रणमा केन्द्रित थियो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रति ४० सेकेन्डमा १ व्यक्तिले आत्महत्या गर्छ । विश्वव्यापि रुपमा हेर्दा यो निकै भयानक तथ्यांक हो । व्यक्तिको क्षणिक आवेशका कारण परिवार, समाज, मुलुक अनि विश्वले भयावह समस्या खेप्नु परेको छ ।

समयक्रमसँग मानिस व्यस्त बन्दै गएको छ । काम र दामको पछाडि कुदिरहनुपर्ने बाध्यताले एक्लो बन्दै गएको छ । अनि प्रविधि विकासको असर भन्नुपर्छ इन्टरनेटले उसलाई वास्ताविक समाजबाट टाढा बनाइदिएको छ । जसका कारण व्यक्तिमा मानसिक समस्या चुलिँदो छ । त्यसो, यही घटना र परिघटनाले मानिसमा मानसिक समस्या देखापर्छ त्यो किटेर भन्न सकिँदैन । यो कुरा व्यक्तिको सहन गर्ने क्षमतामा पनि भरपर्छ । त्यही एउटा घटनाले १ व्यक्तिलाई मानसिक रुपमा झड्का दिएको हुन्छ ।

सँगै रहेको अर्को व्यक्तिलाई खासै समस्या नदेखिन पनि सक्छ । फेरि मानसिक समस्या भनेको सीधंै पागलपन पनि त होइन । अनि यो रोगको उपचारै नभएको पनि होइन । हिजोआज आत्महत्याका घटना बढेका छन् । आत्महत्या पनि मानसिक समस्याकै कारक हो । गएको वर्षमात्रै मुलुभर ५ हजारभन्दा बढीले आत्महत्या गरे । समयमै उनीहरुको समस्याबारे आफन्त, चिकित्सक वा मनोपरामर्शदाताले थाहा पाएको भए ती घटना नहुन पनि सक्थे ।

Advertisement

मानसिक समस्याको लक्षण यही भन्ने हुँदैन । कोही एकोरिएर एकान्तमा मात्र बस्न चाहने हुन्छन् । कसैले रक्सी, चुरोट र अन्य लागु पदार्थको सेवन बढाउन थाल्छन् । निद्रा नलाग्ने, खाना अरुची हुने, केही कुरा सुन्दा पनि झिँजो मान्ने स्वभाव कतिपयमा विकसित भइरहेको हुन्छ । यसका लागि धेरै ठूलो कारण पनि चाहिँदैन । आफ्नो मनले चाहेको कुरा नहुनेबित्तिकै पनि व्यक्तिमा मानसिक समस्या देखिन सक्छ ।

मानसिक समस्याका कारण अरु सहायक रोगले पनि विस्तारै व्यक्तिलाई गाँजिरहेको हुन्छ । परिवारको १ सदस्यलाई मानसिक रोग लागेको खण्डमा पूरै परिवार तनावमा रहने गरेको पनि देखिएको छ । कतिपयले त यसलाई अझैं पनि पूर्व जन्मको फलको रुपमा लिएर आधुनिक चिकित्सा पद्धति नअपनाई झारफुकमै समय बिताइरहेका पनि हुन्छ । जसका कारण बिरामीले अकालमै ज्यान गुमाउनु परेका घटना पनि सार्वजनिक भइरहेका छन् । मानसिक समस्या अत्यधिक भएका व्यक्तिलाई नियन्त्रणमा राख्ने नाममा कति ठाउँमा त परिवारका सदस्यले नै शारीरिक तनाव दिने गरेका उदाहरण पनि त प्रशस्त देखिने गरेका छन्।

Advertisement

यो समस्याले कुनै जातभात, भूगोल, क्षेत्र र व्यवसाय भन्दैन । सबै तहका व्यक्तिलाई मानसिक समस्याले सताइरहेको छ । प्रतिस्पर्धा बढिरहेको अहिलको जमानमा प्राथमिक तहका बालबालिकासमेत मानसिक तनाव झेलिरहेको हामी पाउँछौं । जसका कारण स्कुले बालबालिका आत्महत्याको गलत निर्णयमा समेत पुगिरहेका छन् । अब हामी प्रस्ट हुने बेला आइसकेको छ । मानसिक रोग भनेको मात्र स्वास्थ्यसँग जोडिएको सवाल होइन । यो त व्यक्तिको सवाल हो । परिवारको सवाल हो । अनि समाज र मुलुकको सवाल पनि हो । यसबाट बच्नका लागि व्यक्ति आफैं अग्रसर र जागरुक हुनुपर्छ । स्वच्छ दिमागबाट नै रचनात्मक क्रियाकलाप सम्भव हुन्छ ।

तपाईको प्रतिक्रिया