राप्तीबाट मात्रै विप्लवले उठाए करोड बढी रकम

समाधान संवाददाता २०७६ कार्तिक ३ गते १४:४६

समाधान संवाददाता, दाङ

सरकारद्धारा प्रतिवन्धित नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले साविकको राप्ती अञ्चलका पाँच जिल्लाहरुबाट मात्रै एक करोड बढी चन्दा उठाएको प्रमाण प्रहरीले फेला पारेको छ ।

असोज ३० गते बिहान १ बजे राजपुर गाउँपालिका अन्तरगतको वडा नं. ४ स्थित मगराईना गाउँबाट विप्लवका सहोदर दाजु चन्द्रबहादुर चन्द (वीरजंग) सहित २१ जना नेता कार्यकर्ता पक्राउ गर्दा बरामद भएको दस्ताबेजबाट उक्त कुरा खुलेको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी विनोद विक्रम शाहले एक करोड भन्दा बढी रकम चन्दा संकलन गरेर खर्च गरेको दस्तावेज बरामद भएको जानकारी दिए ।

‘बरामद सामाग्री हेर्दा एक करोड भन्दा बढी रकम चन्दाको रुपमा उठाएर खर्च गरेको पुष्टि हुन्छ,’ प्रवक्ता शाहले भने ।

Advertisement

यो बीचमा विप्लवले को–को बाट कति–कति चन्दा उठाए र अब को–कोसँग चन्दा उठाउने तयारी थियो भन्ने कुराको प्रमाण समेत फेला परेको प्रहरीको भनाइ छ ।

‘प्रहरीले उनीहरुका भावी योजनाका महत्वपूर्ण दस्ताबेजहरु पनि बरामद गर्न सफल भएको छ,’ प्रवक्ता शाहले भने ‘उद्योगी व्यापारीले मात्रै हैन, जनप्रतिनिधिले समेत विप्लवलाई चन्दा सहयोग गरेको देखिन आएको छ ।’

यसले जनप्रतिनिधिप्रति समेत आशंका गर्नुपर्ने अवस्था सृजना भएको एक अर्का एक प्रहरी अधिकारीले बताए ।

वडा अध्यक्ष, मेयर र उपमेयर समेतले विप्लवलाई सहयोग गरेको देखिनु आश्चर्यजनक भएको ती प्रहरी अधिकारीले बताए ।

जिल्ला प्रहरी प्रवक्ता शाहका अनुसार विप्लवले राप्तीका साविक राप्तीका ५ जिल्ला मध्य सबैभन्दा बढी चन्दा दाङबाटै उठाएको देखिएको छ ।

त्यतिधेरै चन्दा उठाएर खर्च गरेको कागजात देखिएपछि त्यो रकम उनीहरुले हतियार खरिदमा समेत प्रयोग गरेको हुन सक्ने प्रहरीको शंका छ ।

बरामद भएका कागजी दस्ताबेजको आधारमा जनवर्गिय संगठनहरु विस्तार गर्दै बलियो बनाउने, प्रशिक्षण चलाउने, प्रत्येक घर–घरवाट सदस्य बनाउने, सैन्य संगठन बलियो बनाउन तालिमहरु सञ्चालन गर्ने र चन्दा अभियानलाई थप तीव्र पार्ने जस्ता तथ्यहरु फेला परेको प्रहरीले बताएको छ ।

‘विप्लवको उदेश्य भनेको मंसिर १४ को उपनिर्वाचन हुन नदिने तथा विथोल्ने भन्ने ढंगको नै देखिएको छ,’ प्रहरी प्रबक्ता शाहले भने ‘प्रहरीले ठूलो सुराक फेला पार्न सफल भएको छ । यसलाई कुनैपनि क्षति बिना प्राप्त एउटा ठूलो सफलता हासिल भएको मान्नु पर्छ।’

अर्कौतर्फ विप्लवका गतिविधि बढाउन अप्रत्यक्ष रुपमा चन्दा संकलन गर्ने तौर तरिका बारेको महत्वपूर्ण दस्ताबेज फेला परेको हुँदा प्रहरीलाई विप्लवका गतिविधि निस्तेज पार्न सजिलो हुने प्रहरी अधिकारीको बुझाइ छ । 

तपाईको प्रतिक्रिया