पोखरेलीको चाहाना स्वच्छ खानेपानी

समाधान संवाददाता २०७६ कार्तिक ५ गते १२:५०

हिमालको फेदी अनि काखमा फेवाताल लगायत ताल अनि सेती नदी भए पनि पोखरामा खानेपानीको समस्या छ । काठमाडौंको जस्तो हाहाकार नै त यहाँ छैन । तर पोखरेलीले चाहेजति पानी प्रयोग गर्न पाएका छैनन् । महानगर भएसँगै पोखरा चाक्लिएको छ । पोखराको विगतका १८ वटा वडाको क्षेत्रफल भन्दा अहिले क्षेत्र बढेको छ । विकासका हिसाबले महानगरलाई चुनौती पनि थपिएको छ । भूगोलका आधारमा त नेपालकै सबैभन्दा ठूलो महनगर हो पोखरा । बजार क्षेत्रका बासिन्दाको आवश्यकता मात्र पूरा गरेर अब हुँदैन । कास्कीकोटको डाँडादेखि कृस्तीका पाखासम्म अनि पुम्दीदेखि आर्बाको टाकुरासम्मका बासिन्दाले विकासको फल चाख्न पाउनुपर्छ । सबै पोखरेलीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले महानगरले खानेपानी संस्थानसँग सम्झौता गरेको छ ।

पोखराका सबै वडाको खानेपानी व्यवस्थपानका लगि बृहत गुरु योजना बनाउन खानेपानी संस्थान र महानगरको प्राविधिक टोली तत्काल खटिने भएको छ । ३३ वटै वडामा सञ्चालित साना तथा ठूला सबै खानेपानी योजना एवं दैनिक सञ्चालनको व्यवस्थापन संस्थानबाट गर्ने गरी कार्यअघि बढाउने सम्झौताले पोखरेलीलाई पक्कै राहत मिल्ने छ । संस्थानले हाल पानी उपलब्ध गराउँदै आएको ट्रिटमेन्ट प्लान्टसँगै पोखरा महानगरभित्र १ सय १० किलोमिटर पाइप लाइन विस्तारको कामलाई निरन्तरता दिएको छ ।

जापान सरकारको सहयोगमा सुरु भएको पानी शुद्धीकरण आयोजनाको ८ प्रतिशत काम सकिएको छ । जाइकाको सहयोगमा खानेपानीको मुख्य वितरण लाइन, सर्भिस लाइन विस्तार भइरहेको छ । १३ किलोमिटर ट्रान्समिसन लाइन र ९ किलोमिटर मुख्य वितरण लाइन विस्तार गर्ने योजना छ । ३ वर्षभित्रमा पूरा गर्ने अठोटसहित सुरु भएको काम समयमै सकिने संकेत देखिएको छ । जाइकाको सहयोगमा पोखरा ५ मालेपाटन, पोखरा ११ मनिपाल फूलबारी र पोखरा १५ कोलपाटनमा २० लाख लिटर क्षमताका ओभरहेड खानेपानी ट्यांकी निर्माण भइरहेका छन् । ५ अर्ब लागतको खानेपानीको योजना सन् २०२१ को अन्त्यसम्ममा टुंग्याउने लक्ष्य छ । योजनाले प्रशोधन हुने पानी पोखराको माग अनुरुप वितरण हुनेछ । पोखराको मुख्य सहरमा दैनिक साढे ४ करोड लिटर पानीको माग छ ।

Advertisement

अहिले पोखरेलीले स्वच्छ पानी प्रयोग प्रयोग गर्न पाएका छैनन् । पहिलो त खानेपानीको मुहान मर्दीखोला नै फोहर छ । पाइपको जोर्नी र प्वालबाट चुहावट हुँदा पानी प्रदूषणसमेत बढी नै छ । अहिले खानेपानी संस्थान पोखरा कार्यालय अन्तर्गत ४० हजारभन्दा बढी ग्राहक छन् । मूलको पानी पु¥याउन नकिएको ठाउँमा संस्थानले बोरिङबाट पानी तानेर वितरण गरेको छ । फूलबारी, रामबजारको श्रीकृष्णचोक, पार्दी, अमरसिंहचोक र हिमाली टोलबाट बोरिङको पानी वितरण हुन्छ । अब पूरै पोखराको खानेपानीको व्यवस्थापन संस्थानले लिएको खण्डमा वितरण प्रणाली अझै सुदृढ हुने आशा गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया