साग तयारीः प्याराग्लाइडिङ प्रतियोगिता नहुने सम्भावना

समाधान संवाददाता २०७६ कार्तिक १७ गते १२:२१

समाधान संवाददाता
पोखरा

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत प्याराग्लाइडिङ प्रतियोगिता नहुने सम्भावना बढेको छ । प्रतियोगितामा सहभागी देशको संख्या नपुग्ने कारण सम्भावना न्यून भएको हो ।

प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतले ३ देशका खेलाडी पनि नपुग्ने अनुमान गरे । साग राष्ट्र अन्तर्गत नेपालले पदक जित्ने सम्भावना भएको खेल प्याराग्लाइडिङ १ हो । नेपाल, भारत, श्रीलंका र बंगलादेशमा मात्र प्याराग्लाडिङको खेलाडी छन् । नेपालबाहेक अन्य देशमा संघ नभएका कारण प्रतियोगितामा सहभागी हुनलाई समस्या परेको रावतले बताए ।

Advertisement

अहिलेसम्म भारतबाट आउने नआउने निर्णय भएको छैन । बंगलदेश पछिल्लो २ हप्तामा सम्पर्कविहीन छ, श्रीलंकामा राष्ट्रपतिको चुनाव नजिकिएको र प्रतियोगिताको लागि तयारी पनि नगरेका कारण आउन नसक्ने भएको रावतले बताए । ‘हाम्रो गेमको त सम्भावना कम हुँदै गयो,’ रावतले भने, ‘नेपालको मात्र फिक्स भयो अन्यको सम्भावना कम भएको छ ।’

अहिलेसम्म प्याराग्लाइडिङ प्रतियोगिताका लागि आउने भनेर नेपाल बाहेक कुनै पनि देशको निश्चित भएको छैन । ३ देशभन्दा कम भए प्रतियोगिता नै नहुने भएकाले प्रतियोगिताको सम्भावना घट्दै गएको रावतले बताए । साग खेलमा ट्रायथोलन, प्याराग्लाइडिङ, आर्चरी, बिच भलिबल, ह्यान्डबल, महिला क्रिक्रेट, महिला फुटबल र भारोत्तोलन प्रतियोगिता पोखरामा हुने योजना छ । तर प्याराग्लाइडिङको सम्भावना कम भएपछि पोखरामा हुने खेलमध्ये एउटा खेल घट्ने सम्भावना बढी भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया