कम्युनिस्ट बन्दा गाउँलेको अपमानः प्यासी

समाधान संवाददाता २०७६ कार्तिक १९ गते १४:५३

ईश्वर देवकोटा
पोखरा

निरकुंश पञ्चायती व्यवस्थाविरुद्ध आगो ओकलेका सोमनाथ अधिकारी प्यासी कम्युनिस्ट आन्दोलनका अथक योद्धाको रुपमा चिनिए । कास्कीका पुराना नेतामध्येका प्यासी धैर्यवान् र अनुशासित कम्युनिस्ट नेताको रुपमा परिचित छन् ।

तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध लामो संघर्षको लडाइँ लडेका प्यासी विद्रोही स्वभावका भएको उनीसँग राजनीतिक संगत गरेका झलक सुवेदी बताउँछन् । ‘विद्यार्थी, नेता, शिक्षक जुनसुकै भूमिका पनि उहाँ विद्रोही स्वभावको हुनुहुन्थ्यो,’ सुवेदी भन्छन्, ‘सँगै उहाँ प्रभावशाली वक्ता पनि हो ।’ राजतन्त्रविरुद्ध लड्दै गर्दा म्याग्दीको दोभामा पञ्चायत सदस्यहरु कब्जामा लिई गणतन्त्र घोषणा गर्ने साहसी नेता रहेको सुवेदी सुनाउँछन् ।

Advertisement

सोही घटनामा संलग्न रहेको भन्दै उनलाई पोखरादेखि जोमसोमसम्म झन्डै ६ दिन हत्कडी र फलामे साङ्लो लगाई चरम यातनासहित जंगलको बाटो हुँदै लगिएको थियो । प्यासीले कम्युनिस्ट भएको भन्दै आफ्नै गाउँले छरछिमेकीबाट समेत अवहेलना सहनुपरेको थियो । ०२८ साल जेठमा जेलबाट मुक्त हुनासाथ गाउँका केही मान्छेहरुले ‘कम्युनिस्ट भयो’ भन्दै सार्वजनिक स्थलमा नै मुखमा थुकिदिएको तीतो यर्थाथ उनीसामु छन् ।

०३२ सालमा ३ वर्षे जेलजीवन प्रारम्भमा जोमसोम जेलमा बयान लिने क्रममा आफ्ना नेताको नाम बताउन नमानेपछि तत्लकालिन पञ्चायति शासकले बोरामा हालेर कालीगण्डकी नदीमा चोबलेका थिए । ०२८ मै उनी एकदिनमा ३ पटकसम्म प्रहरीद्वारा गिरफ्तारमा परेका थिए ।

Advertisement

विद्रोही नेताको राजनीति यात्रा
प्यासी २००७ साल पुस २२ गते पोखरा महानगरपालिका १६, बाटुलेचौरमा जन्मिएका हुन् । उनले पृथ्वीनारायण क्याम्पस पोखराबाट शिक्षाशास्त्रमा अंग्रेजी विषयमा स्नातक गरेका छन् ।

उनको राजनीति यात्रा भने विसं २०२४ सालमा प्रगतिशील विचार अध्ययन समूहको सदस्य हुँदादेखि नै सुरु भएको उनका समकालीन बताउँछन् । उनी तत्कालीन माक्र्सवादी लेनिनवादी क्रान्तिकारी कम्युनिस्ट दलको गण्डकी धौलागिरीको ०२५ जेठ ३० मा संस्थापक सदस्य भएका थिए । ०२७ सालमा एक कार्यकाल उनी पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भए ।

उनी त्यस समय प्रगतिशील प्यानलबाट स्ववियु सभापतिमा निर्वाचित भएका हुन् । राजनीतिसँगै साहित्यिक छवि बनाएका प्यासीले स्ववियुको कार्यकालमै रहँदा माछापुच्छ्रे पत्रिका वार्षिक प्रकाशन थालेका थिए । पछिल्लो स्ववियु कमिटीले पनि उक्त प्रकाशनलाई निरन्तरता दिएको थियो ।

पार्टीमा रहँदा अनेकौं रचनात्मक कामको सिर्जना गर्ने र निरन्तरता दिने प्यासीको स्वभाव रहेको उनी निकटका नेता सुनाउँछन् । प्यासी ०२९ सालमा तत्कालीन नेकपा माक्र्सवादी लेनिनवादी क्रान्तिकारी कम्युनिस्ट दलको कास्की जिल्ला सचिव भएका थिए । पार्टीको जिम्मेवारी सम्हाल्दै ०३१ सालमा ‘आफैं बाँच पार्टी काम गर’ अभियानमूलक नारासहित पार्टी संगठन विस्तारका लागि म्याग्दी जिल्लाको दरबाङ र दोभामा शिक्षण थालेका थिए ।

त्यसैक्रममा ०३२ सालमा पार्टीकै निर्देशनमा दोभा गाउँ पञ्चायतलाई ३ महिना कब्जामा लिने नेतृत्व प्यासीबाट भएको थियो । क्रान्तिको अगुवाइ र पञ्चायती व्यवस्थाको विरोधका आन्दोलनहरुमा प्यासीले पटकपटक जेलजीवन बिताएका थिए । ०३२ देखि ०३४ सालसम्म मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, पाल्पा, पोखरा र नख्खु जेलमा गरी करिब ३ वर्ष काराबास जीवन व्यतित गर्नुपरेको थियो ।

पोखरा र पश्चिमाञ्चल क्षेत्रबाट विद्यार्थी राजनीति आन्दोलनको नेतृत्व गर्दै पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्दै प्यासीले शिक्षण पेसालाई विभिन्न कालखण्डमा छाड्दै र निरन्रतरता दिँदै आएका थिए ।

०३६ सालमा अनेरास्ववियु कास्की जिल्ला कमिटीको अध्यक्ष भएका प्यासी पश्चिमाञ्चल क्षेत्रीय कमिटी अध्यक्ष हुँदै ०३७ सालमा विद्यार्थी संगठन अनेरास्ववियुकै पाँचौ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटी उपाध्यक्षमा निर्वाचित भएका थिए । उनलाई पार्टीले पश्चिमाञ्चल क्षेत्रको विशेष जिम्मेवारीसमेत सुम्पिएको थियो ।

विभिन्न भूमिका र जिम्मेवारीले राजनीतिक कद उचो बनाएका प्यासी ०३७ देखि ०३९ सम्म तत्कालीन नकेपा (माले) इलाका कमिटी कास्कीको सचिव थिए । ०४३ सालमा नेकपा (माले)का तर्फबाट पार्टीले लिएको पञ्चायतको उपयोग नीतिलाई लागु गर्ने गरी जनपक्षीय राष्ट्रिय पञ्चायत सदस्यमा कास्की जिल्लाबाट अत्यधिक मतले निर्वाचित भएका थिए ।

मनमोहन अधिकारी नेतृत्वको नेकपा माक्र्सवादी र मदन भण्डारी नेतृत्वको नेकपा (माले) एकीकरण भई ०४७ मा नेकपा एमाले भएपश्चात्त प्यासी ०४८ साल अञ्चल कमिटी सदस्य भएका थिए । लगत्तै ०४८ मा एमाले कास्की उपसचिवको जिम्मेवारी पाएका थिए ।

प्यासी ०४८ मै कास्की जिल्ला क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । त्यससमयमै उनी ०४९ सम्म नेकपा एमाले संसदीय दलको सचिव चुनिएका थिए ।

०५४ मा नेकपा एमाले विभाजित हुनु अगावै प्यासी राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षमा मन्त्रिपरिषद्बाट मनोनयन भएका थिए २०५१ मा । ०५२ मा एमाले चौथो जिल्ला अधिवेशनबाट कास्कीको सचिवमा निर्वाचित भए । ०५४ मा पार्टी विभाजित भएपश्चात्त पनि उनी पुनःगठित जिल्ला कमिटी एमालेको सचिव नै भएका थिए ।

विभिन्न मितिमा नेकपा एमाले कास्की जिल्ला कमिटीको सचिव बनेका प्यासी ०६७ साल पुस १७ गते अञ्चल कमिटीको सचिव भए । ०६८ साल फागुन २१ गते एमाले राष्ट्रिय प्रतिनिधि परिषद्बाट केन्द्रीय निर्वाचन आयोगको सदस्यमा निर्वाचित भए । त्यसको ४ दिनपछि फागुन २१ गते नै केन्द्रीय निर्वाचन आयोगको प्रथम बैठकबाट केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा निर्वाचित बनेका थिए ।

प्यासी एमालेको नवौं महाधिवेशन पछि स्थायी किमिटी सदस्य भए । तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेको एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी आमन्त्रित सदस्य छन् ।

राजनीतिक निरन्तरतासँगै प्यासीले सामाजिक संस्थाहरुसमेत आफ्नो उपस्थिति बनाइराखेका थिए । पोखरा विश्वविद्यालयको सभासद, पृथ्वीनारायण क्याम्पसको सञ्चालक समिति, विन्ध्यवासिनी माविको व्यवस्थापन समिति अध्यक्ष, सोही क्याम्पसको अध्यक्ष गरी उनले दुई कार्यकाल भूमिका निभाइसकेका छन् ।

चिनियाँ परराष्ट्रमन्त्रीलाई स्वागत गर्दा कुटाइ
जेलजीवनमा कठोर यातना सहेर पनि पञ्चायती व्यवस्था र राजतन्त्र विरुद्ध आन्दोलनमा होमिएका प्यासी राजनीतिकर्ममा रहँदा विभिन्न अड्चन सहनु परेको थियो । ०३५ सालमा चिनियाँ परराष्ट्र मन्त्री पोखरा आउँदा स्वागत गरेबापत तत्कालीन अञ्चालाधीशको निर्देशनमा उनी नेविसंघबाट पृथ्वीनारायण क्याम्पस हाताभित्रै कुटिएका थिए । राजनीतिक विश्लेषक झलक सुवेदी भन्छन्, ‘एउटा अप्रिय घटना उहाँसँगै रहँदा त्यो सम्झिन्छु । क्याम्पसभित्र मरणासन्न हुने गरी कुटिएको थियो । घाइते भएका प्यासीलाई अस्पताल पुर्‍याउनसमेत नदिई गेटमा नेविसंघले ताला लगाइदिएका थिए ।’

राष्ट्रिय पञ्चायत सदस्य भएको बेला पञ्चायत रजत जयन्ती समारोहमा बोल्दै गर्दा ‘यो रजत जयन्ती होइन देशका योद्धाहरुको रगतले लतपतिएको रगत जयन्ती हो’ भनी सम्बोधन गर्दा मञ्चमै लाठी खाएका थिए ।

मन्त्रिपरिषदको सोमबारको बैठकले कास्कीका सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को प्रदेश प्रमुखमा नियुक्तका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरिसकेको छ । उनीसहित सातै प्रदेश प्रमुखहरुको सथप मंगलबार हुने बताइएको छ । गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश २ मा तिलक परियार, ३ मा विष्णु प्रसाईं, ५ मा धर्मनाथ यादव, सुदूरपश्चिममा शर्मिला त्रिपाठी र कर्णालीमा गोविन्द कलौनी प्रदेश प्रमुख सिफारिस भएका छन् ।

तपाईको प्रतिक्रिया