अरुणाको कप्तानीमा महिला भलिबल टोली

समाधान संवाददाता
काठमाडाैं
बंगलादेशमा यसै साता सुरु हुने प्रथम एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल भलिबल संघले थाइल्यान्ड भ्रमणबाट फर्किएको भोलिपल्टै मंगलबार अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
टोलीमा कप्तान अरुणासँगै सरस्वती चौधरी, प्रतिभा माली, निरुता ठगुन्ना, अरुणा शाही, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनीता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द र सलिना श्रेष्ठ छन् ।
उषा भण्डारी, संगम महतो, शान्ति तामाङ, आरती सुवेदी, शान्ति थारु र हीरा केसी भने टोलीमा अटाउन सकेनन् । भलिबल संघले मंसिरमा घरेलु मैदानमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि भने टोली फेरबदल हुनसक्ने बताएको छ ।
१२ सदस्यीय नेपाली टोलीे बिहीबार बंगलादेश प्रस्थान गर्नेछ । सेन्ट्रल जोन भलिबल शुक्रबार सुरु हुँदै छ । सेन्ट्रलजोन भलिबलपछि नेपालले घरेलु मैदानमा साग खेल्नेछ ।
तपाईको प्रतिक्रिया