कास्की २ का उम्मेदवारलाई चुनाव चिन्हः कलम, गुलाबकाे फूलदेखि डाेजरसम्म

समाधान संवाददाता २०७६ कार्तिक २६ गते १२:३३

ईश्वर देवकोटा
पोखरा

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ मा भाग लिएका २१ उम्मेदवारले चुनाव चिह्न पाएका छन् । उपनिर्वाचन कार्यक्रम तालिका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार स्वतन्त्रसहितका सबै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको हो ।

कास्की २ मा १० स्वतन्त्रसहित ११ दलीय गरी २१ उम्मेदवार चुनावी मैदानमा प्रतिस्पर्धी छन् । दलीय उम्मेदवारलाई निर्वाचन आयोगमा दर्ता भएको चुनाव चिह्न प्रदान गरिएको सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिए ।

Advertisement

मुख्य निर्वाचन अधिकृतको कार्यालयले १० जना स्वतन्त्र उम्मेदवार वा तिनका प्रतिनिधिलाई विभिन्न चिह्नमध्ये रोज्न लगाएको थियो । स्वतन्त्र उम्मेदवारहरुले आफूलाई मनपरेको चिह्न राजेका हुन् । कुनै पनि उम्मेदवारले राजेको चिह्न एउटै नपरेकाले पनि कार्यालयलाई चिह्न वितरण गर्न सहज भएको थियो ।

स्वतन्त्रमा उम्मेदवारी दिएका पोखरा १७ का ५६ वर्षीय रनबहादुर दमैले आफ्नो चुनाव चिह्न ‘डोजर’ रोजेका छन् । ३ दशकदेखि मजदुरी गर्दै आइरहेका रनबहादुरले मजदुरको हकहितमा आवाज उठाउन चुनावमा होमिएको बताउँदै मजदुरलाई सुहाउँदो चिह्न रोजेको बताए । ‘पाए त बेल्चा, जावेल रोज्न हुन्थ्यो, यहाँ रहेनछ । मजदुरलाई मिल्ने खालको चिह्न डोजर देखें ।’ निर्वाचन अधिकृतको कार्यालयबाट चिह्न पाएसँगै पर्चा छपाएर कास्की २ का ११ वडामै प्रचारका लागि पुग्ने उनले प्रतिक्रिया दिए ।

Advertisement

विवेकशील नेपाली दलबाट उठेकी जमुना शर्माले ‘गुलाबको फूल’ चुनाव चिह्न पाएकी छन् । विवेकशील आयोगमा दर्ता नभएकाले स्वतन्त्र सरह नै चिह्न पाएको हो ।

चुनावी प्रतिस्पर्धामा सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई (सूर्य), प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसबाट खेमराज पौडेल (रुख), राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी (गाई), संघीय समाजवादी पार्टीबाट धर्मराज गुरुङ (हत्केला), साझा पार्टीबाट रजनी केसी (तराजु)ले दलीय चिह्न नै पाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (माले)का टेकनाथ भण्डारी (हसिया तारा), नेपाली कांग्रेस (बिपी)का तर्फबाट चन्द्रबहादुर रानाभाट (कलश), राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट पूर्णबहादुर राना (घर), देशभक्त समाजका तर्फबाट वीरबहादुर विश्वकर्मा (जरायो), राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट गंगा मल्ल (हलो), मंगोल नेसनल अर्गनाइजेसनबाट रियाज गुरुङ (कुखुराको भाले) ले समेत दलीय चुनाव चिह्न पाएका छन् ।

स्वतन्त्र उम्मेदवार उमानाथ गौतमले किताब, कमलजंग कुँवरले शंख, जमुना शर्माले गुलाफको फूल, दीपक रेग्मीले क्यामेरा, नवराज बास्तोलाले कलम, यज्ञप्रसाद पंगेनीले आँप, रनबहादुर दमैले डोजर, लक्ष्मीकुमारी भुजेलले माहुरी, सुनीलबहादुर कोइरालाले टेबुल, सुनील भुसालले क्रिकेट ब्याट चिह्न पाएका छन् ।

मंसिर १४ गते अगाडि मौन अवधि सुरु हुनेसमयसम्म उम्मेदवारले प्रचार गर्न पाउने भएका छन् । दलीय उम्मेदवार रहेका प्रतिपस्पर्धीले मनोनयनको कार्यक्रम सकिएसँगै चुनाव प्रचारमा जुटेका छन् । कास्की २ मा ११ वडाका गरी कुल ७१ हजार ८ सय ७१ मतदाता उपनिर्वाचनमा सहभागी हुनेछन् ।

मतदाताको भोट आफ्नो पोल्टामा पार्न स्वतन्त्र सहितका दलीय उम्मेदवारले विभिन्न एजेन्डा अघि सारेका छन् । निर्वाचन आयोगले उपनिर्वाचन कार्यक्रम अनुसार मंसिर १४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने तालिका तय गरेको छ । मतदाताले आफ्नो मतदाता नामावली दर्ता भएको नजिकको मतदान केन्द्रमा गई भोट हाल्नुपर्ने छ । मतदाताले भोट हाल्ने दिनसम्मका लागि सम्पूर्ण पूर्वतयारी सकिएको सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिए ।

तपाईको प्रतिक्रिया