ह्यान्डबल टोली थाइल्यान्ड र भारततिर

समाधान संवाददाता २०७६ कार्तिक २९ गते १३:४१

समाधान संवाददाता, पोखरा

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करिब तिन महिनादेखि पोखरामा प्रशिक्षणमा रहेको राष्ट्रिय ह्यान्डबल महिला तथा पुरुषको दुबै टोली वैदेशिक प्रशिक्षणका लागि प्रस्थान गरेको छ ।

वैदेशिक प्रशिक्षण अन्तर्गत पुरुषको राष्ट्रिय ह्यान्डबल टोली भारतको चन्डीगढस्थित पटियालामा प्रशिक्षण गर्नेछ भने महिला टोलीले थाइल्यान्डको बैंककमा प्रशिक्षण गर्ने नेपाल ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङले जानकारी दिएका छन् ।

Advertisement

भारत गएका पुरुष खेलाडीहरुमा टिम कप्तान विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, दिपक सिं बोहोरा, संदिप कार्की, रणसिं रावत, इन्द्र नारायण चौधरी, मदन चुनारा, श्रीबहादुर सिंजाली, यमबहादुर पुन, आशीष अधिकारी, केशव विष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्त थापा र शरण थापा छन् ।

महिला टिममा टिम कप्तान रञ्जना राई, वविता श्रेष्ठ, अर्चना न्यौपाने, संगीता चौधरी, कविता राई, बन्दना राई, दुर्गा बोहोरा, शान्तिकला राई, झिनमाया थापा, आइतालामु शेर्पा, राम कुमारी चौधरी, शारदा विक, कल्पना ओली, उमा राई, निशा राई र देवकुमारी बास्कोटा छन् ।

Advertisement

दुबै टोलीमा टिम म्यानेजर जीवन बस्नेत र शान्ति थापा वैद्य, विदेशी प्रशिक्षक जोआ फ्लोरेन्सियो, वरिष्ठ प्रशिक्षक अरुणलाल कर्ण, कृष्ण शाक्य, टेकबहादुर परियार र विन्दा थापा छन् ।

दुबै टोलीलाई पोखरा रंगशाला राष्ट्रिय झण्डासहित बिदाई गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले खेलाडीले खेलेर के पाएँ भन्ने समय समाप्त पार्न आफ्नो पहल रहेको बताए ।

राष्ट्रिय खेलकुद परिषद सदस्य गुरुङले १३ औं सागमा पदक जित्ने खेलाडीलाई कम्तीमा पनि एक तोला सुनको मेडल दिई थप हौसला बढाउन आफ्नोतर्फबाट पहल रहने आश्वासन दिए । उनले ह्यान्डबलले १३ औं सागमा पदक जित्नेमा आफू विश्वस्त रहेको बताए ।

संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष गुरुङले बैंककमा महिला टोलीले बैंककस्थित विश्वविद्यालय टोलीसँग १० देखि १२ वटा मैत्रीपूर्ण म्याचसहित अभ्यास म्याचहरु खेल्ने जानकारी दिए । उनले भारतमा जाने पुरुष टोलीले त्यहाँ भारतको विभिन्न स्थानीय टिमसँग मैत्रीपूर्ण खेलहरु खेल्ने जानकारी दिए ।

दुबै टोली मंसिर १२ गते स्वदेश फर्कने कार्यक्रम छ । १३ औं साग अन्तर्गत ह्यान्डबल खेल मंसिरको १७ गतेबाट पोखरा रंगशालास्थित कभर्डहलमा हुनेछ जसमा ६ राष्ट्रका महिला पुरुष टोलीको सहभागिता रहनेछ ।

कार्यक्रममा १३ औं साग स्थानीय सहजीकरण समितिका सचिव लक्ष्मण योगी, कास्की ह्यान्डबल संघका कार्यबाहक अध्यक्ष चित्र थापा, कास्की ह्यान्डबल संघका वैदेशिक विभाग प्रमुख राम गुरुङ लगायत सहभागी रहे ।

तपाईको प्रतिक्रिया