पत्रकारितामाथि उठेका प्रश्न

समाधान संवाददाता २०७६ मंसिर ४ गते १४:४१

पत्रकारितामा आफैमा संवेदनशील पेसा हो । केही दसकको फरकमा नेपाली पत्रकारिता व्यावसायिक बनेको छ । विदेशी मुलुकमा अपनाइएका पत्रकारिताका असल अभ्यासहरु यहाँ हुन थालेका छन् । मिडिया हाउसहरु मनग्गे खुलेका छन्, अनि त्यसै अनुसार पत्रकारको संख्या पनि बढेको छ । त्यति मात्र कहाँ हो र ? विद्यालय तहदेखि नै पत्रकारिता विषय पढाइ हुन थालेको छ । यसकारण पनि पत्रकारिताले धेरै फड्को मारिसकेको छ । पत्रकारकारिताको विकासमा अझ धेरै सघाउन पुर्‍याएको छ प्रविधिले । लेटरप्रेसको जमानबाट अहिले डिजिटल युगमा प्रवेश गरेको छ पत्रकारिता । गाउँगाउँमा खुलेका रेडियो अनि स्थानीयस्तरमै सञ्चालित टेलिभिजनले पनि त्यसै अनुसारका सामग्री पस्केका छन् । यस हिसावमा नेपाली पत्रकारिता जगत धेरै अगाडि बढेको छ । कहिलेकाँही मिडिया र मिडियाकर्मीले सूचना, मनोरञ्जन र शिक्षावाहेक १ पाइला अगाडि सरेर लोकतान्त्रिक आन्दोलनमा पनि सहभागिता जनाएका छन् । यसले नेपाली मिडिया समाजको प्रवाहसँगै छन् है भन्ने सन्देश पनि दिएको छ । विश्वव्यापीकरण र सामाजिकीकरणको क्षेत्रमा पनि मिडियाको योगदान उत्तिकै सरहानीय छ ।

हो, जुन रुपमा मिडियाको विकास भएको छ, त्यसै अनुरुप चुनौती पनि थपिएको छ । एकातिर पत्रकार आफ्नो व्यावसायिक धर्म बिर्सेर नानाथरि काममा लागे भन्ने आरोप छ । अर्कोतिर समाचार लेखेकै कारण पत्रकामाथि हुने भौतिक आक्रमणको क्रम पनि बढेको छ । विदेशी मुलुक मात्र होइन, नेपालमै पनि पत्रकारहरुले राज्यपक्ष र गैरराज्य पक्षबाट ज्यानै समेत गुमाउनु परेको छ । अनि समयमै तलब नपाएर भौतारिनु पर्ने समस्या पत्रकारका लागि नौलो विषय होइन । तै पनि चुनौतीको सामना गर्दै पत्रकारिता अगाडि बढिरहेको छ । व्यावहारिक रुपमा राज्यको चौथो अंगको रुपमा स्थापित पत्रकारिता जगत विवादित हुनुहुँदैन । पत्रकारितालाई स्वच्छ बनाउन विश्वव्यापी रुपमा आफ्नै मापदण्ड, आचारसंहिता र कानुन छन् । यी यावत विषय हुँदा हुँदै पनि समाजले चाहे अनुसारको पत्रकारिता किन हुन सकेको छैन त ? अनि पत्रकार र पत्रकारिताको आचरणको कुरा किन चर्चामा आइरहेको हुन्छ छ ? यो गम्भीर विषय हो । समाजका विविध विषयमा प्रश्न गर्ने अनि गलत विषयलाई सुधारका लागि पहल गर्ने पत्रकार आफै विवादित हुनुहुँदैन भन्ने सर्बव्यापी मान्यता हो । यो विषयमा पत्रकार आफै प्रस्ट हुन नसकेका कारण विवादको घेरमा परेको हो ।

पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर पोखरामा २ मंसिरमा भएको कार्यक्रममा सहभागीले पत्रकार र पत्रकारिताका बारेमा यस्ता धेरै प्रश्न गरे । जुन प्रश्न निकै जायज थिए । समाजले जुन पक्षबाट राम्रो परिणामको आशा गरेको हुन्छ, त्यही पक्षबाट नराम्रा काम हुँदा पक्कै पनि आलोच्य हुन्छ । पत्रकारले लेख्ने समाचार र उसले तयार पार्ने सामग्री मात्र होइन, उसका हरेर व्यवहार निश्पक्ष र पारदर्शी हुनुपर्छ । आफू आचरणमा नरहने पत्रकारले समाजमाथि प्रश्न गर्ने नैतिकता राख्न सक्दैन । पत्रकारले कुनै दलप्रति झुकाव राख्नै पाउँदैन भन्ने होइन । तर झण्डै बोकेर हिँड्ने पत्रकारबाट निश्पक्ष समाचारको आशा गर्न सकिँदैन । अहिले लहर चलेको छ स्थानीय तहदेखि संघ सरकारसम्म मिडिया संयोजक वा निजी सहयोगी(पिए) राख्ने । यसमा पत्रकार प्राथमिकतामा परेका छन् । पत्रकारलाई यस्तो पद दिएमा पहिलो त आफ्नो नकारात्मक कुरा बाहिर जाने भएन । दोस्रो, चाहेको कुरा मज्जैसँग प्रचार हुने भयो । तर पत्रकारहरु यसरी दोहोरो पदमा रहँदा पत्रकारिता पेसा नै नै आशंकका घेरामा रहेकोबारे उनीहरु सचेत हुनु जरुरी छ । पत्रकारिता वाहेकका विभिन्न पेसामा आवद्ध हुने अनि ऊमाथि नराम्रो व्यवहार भयो भने पत्रकारिता पेसा जोडेर अरुले आवाज उठाइदिनुपर्ने विडम्बनापूर्ण अवस्था अब देख्न नपरोस् ।

Advertisement

तपाईको प्रतिक्रिया