चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड आज हेलिकप्टर चढेर पोखरा, भक्तपुर र धरान पुग्ने

समाधान संवाददाता २०७६ मंसिर ११ गते १२:०५

समाधान संवाददाता, काठमाडाैं

शनिबार हुने उपनिर्वाचनका लागि दलहरूले बुधबार चुनावी प्रचारलाई तीव्रता दिएका छन् । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै तीन वटा चुनावी सभालाई सम्बोधन गर्दैछन् ।

प्रचण्डले कास्की २, धरान र भक्तपुरका चुनावी सभालाई बुधबार सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपाले जनाएको छ । स्रोतका अनुसार प्रचण्डले तीन ठाउँमा चुनावी प्रचार गर्न दिनभरिजसो हेलिकप्टर प्रयोग गर्ने भएका छन् ।

Advertisement

अहिले पोखरामा रहेका प्रचण्ड केहीबेरमा धरान उड्नेछन्। त्यसपछि उनी हेलिकप्टरबाटै काठमाडौं फर्केर भक्तपुरको चुनावी सभामा पुग्ने कार्यक्रम छ । हेलिकप्टर चुनावी क्षेत्रमा भने नलैजाने उनको सचिवालयले जनाएको छ ।

पोखरा जाँदा प्रचण्ड हेलिकप्टरबाट विमानस्थलसम्म गएका छन् । उनी इटहरीमा हेलिकप्टर राखेर गाडीमा धरान जानेछन् । त्यहाँबाट त्रिभुवन विमानस्थल आएर उनी गाडी चढेर भक्तपुर जानेछन् ।

Advertisement

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली पनि आज पोखरामा चुनावी सभालाई सम्बोधन गर्न जाने तय भएको थियो । मंगलबार एक्कासी एपेन्डिसाइटिसको शल्यक्रिया गरेकाले प्रधानमन्त्रीको कार्यक्रम रद्द भएको छ ।

धरानमा चुनावी सभा सकेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा काठमाडौं फर्कंदै छन् । देउवाको सचिवालयले दिएको जानकारी अनुसार विराटनगर विमानस्थलबाट काठमाडौंका लागि उडेका देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जाँदैछन् ।

समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई चुनावी प्रचारका कार्यक्रममा भाग लिन दाङमा छन् । राष्ट्रिय जनता पार्टी, राप्रपा, राप्रपा संयुक्त, साझा पार्टी, विवेकशील नेपाली दललगायतले पनि उम्मेदवारी दिएका ठाउँमा चुनावी प्रचारलाई तीब्रता दिएका छन् ।

निर्वाचन आयोगले बुधबार राति १२ बजेसम्म मात्रै चुनावी प्रचार गर्न पाइने कार्यतालिका यसअघि नै जारी गरिसकेको छ । बिहीबारदेखि मौन अवधि सुरु हुनेछ । चुनावी प्रचारका कार्यक्रमहरु गर्न पाइने छैन ।

एक संघीय क्षेत्र, तीन प्रदेशसभा, धरान उपमहानगरलगायत रिक्त स्थानीय तहमा शनिबार मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

तपाईको प्रतिक्रिया