ट्रायथोलनमा पौडी विन्दुको काम बाँकी

समाधान संवाददाता २०७६ मंसिर १३ गते १३:५१

समाधान संवाददाता
पोखरा

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पोखरामा हुने ट्रायथोलन खेलको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर १६, १७ र १८ गते लेकसाइडमा हुने ट्रायथोलनका लागि लेकसाइडमा पूर्वाधार निर्माण भइसकेको जिल्ला ट्रायथोलन संघका सचिव प्रकाश बरालले बताए ।

‘खेलमा चाहिने अन्य पूर्वाधारका लागि पनि पोखरा आइसकेको छ । अब कुनै समस्या हुँदैन,’ उनले भने । ट्रायथोलन अन्तर्गत साइक्लिङ र दौडका लागि कुनै समस्या नरहेको तर, पौडीका लागि अन्तिम तयारी भइरहेको उनले जानकारी दिए । खेलका लागि पोखराको लेकसाइड, फेवाताललाई चुनिएको छ ।

Advertisement

ट्रायथोलन अन्तर्गत पौडी सुरु हुने विन्दुमा बिहीबार प्लास्टिक ब्लक बिच्छ्याउने काम भएको छ । ‘पौडीको पनि सुरुआती विन्दुको काम भइसकेको छ,’ ट्रायथोलन टेक्निकल ग्रुप इन्चार्ज आशीष कुलले भने, ‘पौडीको अन्तिम विन्दु पनि २ दिनमा सबै तयारी पूरा गरिसक्छौं ।’

ट्रायथोलनमा महिला तथा पुरुष दुवै विधामा प्रतिस्पर्धा हुनेछ । त्यस अन्तर्गत ७ सय ५० मिटर दूरी पौडी, २० किलोमिटरको साइकलिङ र ५ किलिमिटरको दौडमा सामेल हुनुपर्ने छ । प्रतियोगितामा नेपालसहित भारत र श्रीलंका गरी ३ राष्ट्रको मात्रै सहभागी छ ।

Advertisement

खेलका लागि ३ देशका २८ खेलाडी र ८ अफिसियलसहित ३६ जनाको टोली पोखरा आउने भएको छ । प्रतियोगितामा ५ स्वर्ण, ५ रजत र ५ कास्य गरि १५ पदकका लागि प्रतिस्पर्धा हुने समेत सचिव बरालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया