अपांगमैत्री बनेनन् मतदानस्थल

समाधान संवाददाता २०७६ मंसिर १५ गते १२:५५

समाधान संवाददाता
पोखरा

कास्की क्षेत्र नम्बर २ प्रतिनिधिसभाको शनिबार भएको उपनिर्वाचनमा अपांग, ज्येष्ठ नागरिक र बिरामी अशक्तहरुको लागि मतदानको लागि प्राथमिकता दिए पनि अमांग मैत्री बन्न सकेनन् । धेरै मतदान केन्द्र उनीहरुको लागि मैत्री बन्न नसकेको हो ।

मतदानमा जाँदा अरु मतदातालाई जस्तै लाइनमा बस्न भने नपरेको सुनाए । कुनै मतदान केन्द्रमा छुट्टै लाइनको व्यवस्था गरिएको थियो । लाइनको व्यवस्था नगरिएको केन्द्रमा जाने वित्तिकै मतदानको प्रबन्ध मिलाइएको थियो ।

Advertisement

नेपाल नेत्रहीन संघका केन्द्रीय महासचिव शिशिर खनालले सहरी क्षेत्रका मतदान केन्द्रहरु अपांगमैत्री भएता पनि पोखरा महानगरका ग्रामीण क्षेत्रका केन्द्रमा त्यस्तो सुविधा नभएको बताए । निर्वाचन आयोगले सार्वजनिक विद्यालयलाई मतदान स्थल तोकेकाले विद्यालयको पूर्वाधारमा भरपर्ने उनले उल्लेख गरे । पोखरा १७ को छोरेपाटन मतदान केन्द्रमा मतदान गरेका खनालले आफूलाई निर्वाचनमा खटिएका कर्मचारीले मैत्रीपूर्ण व्यवहार गरेको अनुभव सुनाए । ‘भोट हाल्न जाँदा लाइनमा बस्न परेन,’ उनले भने, ‘कसैले रोकतोक गरेनन् । अपांग परिचयपत्रका आधारमा सहज रुपमा मतदानको व्यवस्था गरिएको थियो ।’ महासचिव खनालका अनुसार कास्कीका निर्वाचन क्षेत्र नम्बर २ मा १० प्रकृति गरी करिब २ सय ५० अपांगहरु निर्वाचनमा भाग लिएका थिए ।

राष्ट्रिय अपांग महासंघ नेपाल कास्कीका पूर्व अध्यक्ष गंगाबहादुर खड्काले मतदान केन्द्र अपांग मैत्री नहुँदा समस्या भएको बताए । पोखरा १५ स्थित शिद्ध माध्यमिक विद्यालयमा मतदान गरेका खड्काले शारीरिक अपांगलाई ह्विल चियरमा जान आउनको लागि सहज नभएको उल्लेख गरे । निर्वाचन आयोगले ह्विल चियर प्रयोगकर्ताको ३ पांग्रे स्कुटरको लागि मतदान प्रयोजनको निम्ति चलाउन पाउने व्यवस्था गरेको थियो । ज्येष्ठ नागरिक र अशक्तको हकमा इच्छाएको व्यक्ति लैजाने व्यवस्था मिलाएको थियो ।

Advertisement

स्वबलम्बन जीवन पद्धति केन्द्र पोखराका कोषाध्यक्ष भरत अधिकारीले पोखरा २१ निर्मलपोखरीको जनचेतन माध्यमिक विद्यालयको मतदान केन्द्र अपांगलाई मैत्री नभएको बताए । ३ पांग्रे स्कुटर चढेर मतदान गर्न पुगेका अधिकारीले मतदान गर्न लाइन बस्न नपरेको उल्लेख गरे । उनले जाने आउने बाटो नछुट्टाएका कारण अपांगलाई अन्यत्रैबाट घुमाएर लैजाने व्यवस्था गरिएको बताए । उपनिर्वाचनमा पोखरा ७ को कृष्ण माध्यमिक विद्यालयमा १ सय ३ वर्षीया कृष्णकला पाध्या गौतम र ९७ वर्षीय खुसीराम रेग्मीले मतदान गरेका थिए । पोखरा १७ को पार्दी माध्यमिक विद्यालयमा ९५ वर्षीय पदमकुमारी शेरचनले मतदान गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया