सिद्धबाबालाई चार दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति

समाधान संवाददाता, काठमाडाैं
चताराधामका धर्मगुरू सिद्धबाबा भनिने कृष्णदास गिरीलाई सुनसरी जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।
सुनसरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद शर्माका अनुसार सोमबार बिहान पक्राउ परेका गिरीलाई स्वास्थ्य परीक्षणपछि अदालत लगिएको थियो।
अदालतले जबरजस्ती करणी मुद्दामा थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिए पनि स्वास्थ्य अवस्थाका कारण गिरीलाई पुन: अस्पताल नै पठाइएको छ।
आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने गिरीलाई सुनसरी प्रहरीले अस्पतालको आइसियूबाटै पक्राउ गरेको थियो।
सुनसरी प्रहरीका प्रवक्ता डिएसपी विनोद शर्माको टोलीले गिरी बिहान करिब ५ बजेतिर उनी उपचाररत् विराटनगर अस्पतालबाट पक्राउ गरेको थियो।
गिरीलाई ‘माइनर हार्टअट्याक’ भएपछि आइसियूमा राखेर उपचार थालिएको विराटनगर अस्पतालले जनाएको छ।
तपाईको प्रतिक्रिया