दायित्व बिर्सेर समृद्धिकाे सपना
प्राडा निर्मल लामिछाने
एउटा भनाई छ ‘लिटिल माइन्ड डिस्कस पिपुल, एभरेज माइन्ड डिस्कस इभेन्टस् एन्ड ग्रेट माइन्ड डिस्कस आइडियास् ।’ अर्थात् ‘छोटो बुद्धि भएकाले मान्छेको कुरा गर्छन्, मध्यम बुद्धि भएकाले घटनाको बारेमा कुरा गर्छन् र ठुलो बुद्धि भएकाले विचार विमर्श गर्छन् ।’ म सम्झन्छु मेरै छोरीले पनि आफ्नै अनुभवमा ‘बाबा नेपालमा धेरै लिटल माइन्ड हुने रहेछन् ।’ भनेकी थिइन् । छोरीको त्यो भनाई अहिले पनि मेरो कानमा गुन्जिरहन्छ ।
उक्त भनाई नेपालको परिस्थितिसँग मेल खान्छ भन्ने मेरो सोच हो । नेपालको अवस्था हेर्दा लाग्छ, नेपाली जति फुर्सदिलो कोही पनि छैनन् । एकछिन हामी आफ्नो घरको परिवेशमा जाऊँ । प्राय हामी एउटा नेपाली परिवारमा के देख्छौ त ? १ जना कमाउने र त्यसमा आश्रित ४÷५ जना हुन्छन् । बिडम्बना त के छ भने, ती व्यक्ति गर्व साथ बुबा कमाउनु हुन्छ, हामी केही गर्दैनौं भनिरहेका हुन्छन् । यदि १ जना कमाउने मान्छेलाई सोध्यो भने म दुबइमा काम गर्छु, ३ वर्ष भयो नेपाल आएको भन्छन् । विदेशबाट आइसकेपछि उनीहरुले केही काम गरिरहेका हुँदैनन् । नेपालमा नै केही काम गर्नुपरे पनि लाज मानिरहेका हुन्छन् उनीहरुले ।
१ हिसाबले भन्ने हो भने देशको विकासका लागि हरेक नागरिकको हात हुन्छ । जब हामी विदेशमा गएर जस्तै गाह्रो र लाज मान्ने काम गरिरहेका हुन्छौं भने आफ्नै देशका लागि काम गर्न के लाज मान्नु होइन र ? १ जनाको कमाइको भरमा परिवारका सबै सदस्य आश्रित हुनुभन्दा सबै मिलेर काम गर्दै परिवारका सदस्य रमाउनु उचित हुन्छ । काम देशको विकास हरेक नागरिकको व्यक्तिगत विकाससँग जोडिएको हुन्छ ।
कुनै समय म बाह्रबिसे, सिधुपाल्चोकको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत छँदा यदाकदा बोर्डर पारी खासा, चाइना पुगिन्थ्यो । नेपालको सीमाना र चीनतर्फको भू–भागमा धेरै फरक थियो त्यो बेलामा । नेपालको सीमानाको अवस्था नाजुक थियो भने चीनतर्फको भू–भाग भने विकसित र समृद्ध ।
चिनियाँ कोही पनि थिएनन्, जसले काम नगरेको होस् । उनीहरु हरेकले केही न केही काम गरिरहेका हुन्थे । साना–साना काम जस्तै व्यापारी, भरिया, सरसफाइ लगायतका काम भने पनि गरिरहेका हुन्थे उनीहरु । नेपालीको कुरा गर्ने हो भने विदेश गएर जस्तै काम पनि गर्न तयार हुने व्यक्ति नेपालमा भने सानो र ठूलो काम भनिरहेका हुन्छन् र त्यस्तो काम गर्न उनीहरुलाई लाज लागिरहेको हुन्छ । चीनतर्फका मानिस आफूलाई व्यस्त राख्ने गरेको त्यो समयमा मैले देख्थे । उनीहरुले कामलाई सानो र ठूलो भन्नुभन्दा पनि सम्मान गर्थे ।
सरसफाइका नाममा सडकमा भएपनि पानी हाल्थे उनीहरु । अर्थात् भनौं त्यो समयमा पनि खाली बसेका व्यक्ति मैले देखिन । तर नेपालमा भने सडक सरसफाइ गर्नु त परै जाओस्, झन् उल्टो फोहोर फालेर हिँड्छन् । खाली समय भयो कि कतै पसलमा गएर क्यारमबोर्ड खेलेर बस्छन् । नेपालीमा सरकारले गरेन, राजनीति विचलन बढ्यो, लगानी गर्ने वातावरण भएन, क्षमता अनुसारको रोजगार पाइएन जस्ता गुनासो बढी हुन्छ । यस्तै गुनासोले अहिलका युवापुस्ता विदेश जान्छन् । तर त्यस्तो भन्ने व्यक्ति नै यहाँ बस्दासम्म खाली समय गफ गरेर या फेरी साथीभाइसँग रमाइलो गरेर बिताएका हुन्छन् । ‘यदि त्यो खाली समयलाई केही उर्जाशील कार्यका लागि लगाएको भए मैले अहिले सफलता हात पार्थे कि पार्दिनथे होला भन्ने विषयमा सोच्ने कि नसोच्ने ? सरकारलाई दोष दिएर मात्र हुँदैन । चाहेका नै भए आफैंले पनि सफलताका लागि सुरुआत गर्न सक्नुपर्छ ।
नेपालमा पर्यटकका लागि धुम्न आएका केही विदेशीले पनि यहाँ काम गरिरहेको भेटिन्छन् । हामीले यो सोच्नु जरुरी हुन्छ कि आफ्नो सफलताका लागि सरकारको मात्र भर परेर हुँदैन । हो, हामीले मान्नुपर्छ, लगानीका लागि सरकारले वातावरण तयार पानुपर्छ । तर जनयुद्धकालिन अवस्था जस्तो विषम परिस्थितिमा पनि काम सुरु गरेर अहिले सफलता हात पारेका उदाहरण पनि हामी माझ धेरै छन् । कुरा यक्ति हो, हामीले केही समस्या आउना साथ अब गर्न सकन्नि भनेर हार खानु हुँदैन । निरन्तर लागिरहनुपर्छ । अनि सोच्नुपर्छ, के राज्यको विकास तथा समृद्धि नेता तथा सरकारको मात्र ठेक्का हो र ? समृद्धि हरेक व्यक्तिको व्यक्तिगत सफलतासँग जोडिएको हुँदैन र ? किन कि समृद्धिको जिम्मेवारी सरकार मात्र होइन हरेक नागरिकको पनि हुन्छ ।
नेपालको गाउँघरको कुरा गर्ने हो भने अहिले रित्ता छन् । गाउँघरमा प्राय वृद्धवृद्धा तथा केही बालबालिका मात्र भेट्न सकिन्छ । युवापुस्ता प्राय वैदेशिक रोजगारका लागि विदेशिएका छन् भने भएका केही युवा पनि पढ्ने तथा नै केही राम्रो काम गर्ने बाहनामा सहर झरिरहेका हुन्छन् । गाउँमा बस्ने व्यक्ति पनि खेतबारीमा काम गर्न छाडेका छन् । मेहनत गर्नुभन्दा पनि किनेर खाने बानी परिसकेको हुन्छ । बेरोजगार बस्नुपर्दा गफ लगाएर बस्नु सिवाय अन्य काम हुँदैन र त्यस्ता व्यक्ति नै आफूले आफैलाई महान् तथा सबै कुराका बारेमा जानकारी भएको जस्तो गफ दिन्छन् । त्यस्ता व्यक्तिको कुरा सुन्दा लाग्छ उनीहरु नै सबैभन्दा विद्धान् छन् । उनीहरुको काम नै कुनै चिया पसलमा बसेर देशका नेताले के गरे र प्रधानमन्त्री यस्तो उस्तो भन्ने विषयमा बहस गर्ने हुन्छ ।
यस्तै प्रसंग मलाई याद आयो । केही वर्ष अगाडिको कुरा हो, पोखराको भाटभटेनी सुपर मार्केटले पोखरामा ‘कृषकबाट सिधै उपभोक्ता’ भन्दै गाउँबाट तरकारी खान पाउने प्रचार गरेको थियो । त्यो समयमा हामीले पनि ८० रुपैयाँ पर्ने तरकारी २० रुपैयाँमा किनेर खाएका थियौं । फेरी केही दिनमा नै सुन्नमा आयो कि तरकारी व्यवसायीको विरोध भएपछि यो योजना बन्द गरियो । त्यति बेला म एउटा ग्राहक भएको नाताले सम्झन्छु कि त्यो निकै राम्रो र भरपर्दो कार्य थियो । विरोधका नाममा उक्त कार्य बन्द गर्नु किसान तथा आम नागरिकका लागि पनि राम्रो थिएन । किन कि यसबाट किसानले आफ्नो उत्पादन व्यापार गर्न पाउँथे भने नागरिकले आफ्नै गाउँठाउँको तरकारी प्रयोग गर्न पाउँथे ।
प्राय हामी नेपाली घन्डी मनस्थितिले ग्रसित छौं । यसमा एउटा कथा पनि छ । १ पटक १ जना नेपालीले धेरै दुख पाएछन् । अनेकौं काम गर्दा पनि उसको समस्याको समाधान हुन सकेन । त्यसपछि अन्तिममा भगवान्को तपस्या गर्न बसेछन् उनी । उक्त व्यक्तिको तपस्याबाट खुसी भएर भगवानले के चाहियो तिमीलाई भन्ने प्रशन गरेछ । यो प्रश्न सुनेपछि तपस्यारत व्यक्तिले आफूलाई धन चाहियो भनेछन् । यो सुनेपछि भगवानले उनलाई घन्टी दिँदै भनेछन्, ‘तिमीले जति पटक यो टन्टी बजाउँछौ त्यति पटक तिम्रो घरमा १÷१ लाख भित्रिने छ र छिमेकीको घरमा भने २÷२ लाख आउने छ ।’ त्यसपछि उक्त नेपालीले घन्टी नै बजाएन । यही नै हो खासमा नेपालीमा भएको घन्टी मनस्थिति । यहाँका प्राय व्यक्ति अन्यलाई केही फाइदा हुने जस्तो छ भने काम नै गर्दैनन् । बरु कुनै पसलमा बसेर समय व्यतित गरिदिन्छन् ।
यति मात्र होइन नेपाली जुन पेसामा आबद्ध भएपनि राजनीति गरिदिन्छन् । चिकित्सक, इन्जिनियर, कर्मचारी लगायत हरेक तह र तप्काका व्यक्ति पनि राजनीतिमा आबद्ध हुन्छन् । उनीहरुलाई कुनै तहबाट पनि उच्चस्तरको पदमा पुग्ने चाह हुन्छ । यसरी राजनीति गर्दा उनीहरुले आफ्नै काम पनि पूरा गर्न भुलिरहेका हुन्छन् । राजनीति गर्नु हुँदैन र आस्था राख्नै हुँदैन भन्ने होइन । तर राजनीति कसरी र कुन स्थानमा बसेर गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । हरेक क्षेत्रमा राजनीति प्रवेश गर्दा समस्या उत्पन्न हुन्छ र अहिलेको नेपालको समस्या पनि त्यही नै हो । यहाँ आफ्नो कामभन्दा पनि राजनीतिक गफ र कार्यक्रम नै बढी महत्व हुन्छ त्यस्ता व्यक्तिलाई ।
हरेक व्यक्तिले कुनै एउटा पेसामा मात्र हात हाल्नु राम्रो हो र यसले नै सफलता हात पार्न सहज हुन्छ । राजनीति र अन्य पेसा अपनाउँदा हामीमध्ये धेरै न त राजनीतिमा सफल हुन सक्छौं, न त आफूले अङ्गालेको पेसामा नै । बरु कुनै एउटा कुरामा मात्र सफलता हात पार्नु उचित हुन्छ । विदेशमा भएका नेपालीमा पनि राजनीतिले गाँजेको छ । विदेशमा नेपालीका संघसंस्थाका संख्या पनि कम छैन ।
जातीय, साँस्कृतिक लगायतका विभिन्न संघसंस्था एउटै देशमा पनि स्थापना भइरहेको हुन्छ । त्यहाँ पनि राजनीति विचार ने हावी भइरहेको हामी आफैंले पनि देखिरहेका हुन्छौं । राजनीतिलाई अहिलेका युवापुस्ता फोहोरी खेल भन्छन् । कही न कही यो कुरा पनि सावित भइरहेको हुन्छ । तर बुझ्नुपर्ने कुरा के हो भने, राजनीति होइन, राजनीति गर्ने व्यक्तिले यसलाई फोहोरी बनाएका छन् अहिलेको अवस्थामा ।
विकास र समृद्धिका लागि सरकारको मात्र आस र भरोसामा बस्ने हो भने कहिले पनि हामी सफल हुन सक्दैनौं र नेपालको अवस्थामा पनि सुधार आउन सक्दैन । काम गर्न सक्ने उमेर विदेशमा बिताउने र नेपालमा वृद्ध भएपछि आउने हो भने मुलुकको अवस्थामा कहिले पनि परिर्वतन आउने छैन । यदि साच्चै नै नेपालको विकास चाहने हो भने सरकारले अहिलेका युवापुस्तालाई उनीहरुको योग्यता र क्षमताका आधारमा रोजगारको व्यवस्था गर्नुपर्छ भने युवापुस्ताले पनि देशका लागि भन्दै कामलाई यो सानो र यो ठूलोभन्दै छुट्याउनु हुँदैन । काम भनेको काम नै हो र यसलाई हरेक व्यक्तिले सम्मान गर्न सक्नुपर्छ । अनि मात्र मुलुकको विकास हुने छ ।
तपाईको प्रतिक्रिया