काम गर्दै पोखरा महानगर, डेभिजफलमा सिसाको पुल, सराङकोटमा पार्क र सेती गर्जेज पिपिपी मोडेलमा बन्दै, सहरी योजना आयोग, महानगरीय खेलकुद विकास समिति बन्ने

समाधान संवाददाता २०७६ पुष ५ गते १६:५४

समाधान संवाददाता

पोखरा महानगरको छैटांै नगर तथा विधानसभा माघ पहिलो साता तय भएको छ । महानगरको शुक्रबारको ३४ औं नगर कार्यपालिका बैठकले हिउँदमा हुने विधानसभाको मिति तोकेको हो ।

बैठकले महानगरको नीति नियम र कानुन बनाउने विधानसभा माघ ६, ७ र ८ गते गर्ने निर्णय गरेको महानगर प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए । महानगरको वर्षे नगरसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिन्छ । ‘विधानसभामा तालिम, गोष्ठी तथा बैठक सञ्चालन कार्यविधि संशोधनको विषयलाई प्रस्तुत गर्ने तयारी भएको छ,’ प्रवक्ता नेपालीले भने, ‘सहरी योजना आयोग, महानगरीय खेलकुद विकास समिति र महानगर युवा परिषद गठन र कर्मचारीको सेवा, सुविधा तथा अवकासको सम्बन्धमा पर्याप्त छलफल गर्ने निर्णय गरेको छ ।’

Advertisement

बैठकले महानगरको वडा नम्बर ३३ का अध्यक्ष शिवप्रसाद आचार्य, ४ का अध्यक्ष शंकर बास्तोला र कार्यपालिकाका सदस्य सन्तु सुवेदीलाई पोखरा नगर विकास समिति सदस्यमा पठाउने निर्णय गरेको छ । मेयर मानबहादुर जिसीको अध्यक्षतामा भएको बैठकले सार्वजनिक निजी साझेदारी (पिपिपी) अन्तर्गत ३ परियोजना अगाडि बढाउने सैद्धान्तिक सहमति दिएको छ । पोखरा १७ को सिसाको पुल, वडा नम्बर १८ सराङकोटको पार्क र सेती गर्जेज परियोजना अघि बढाउन महानगरले सहमति दिएको हो ।

सिर्जनाचोकको आकासेपुलमा सिमेन्ट पिलरको सट्टामा स्टिलको पिलर राख्ने निर्णय भएको छ । आकासेपुलको जमिनमुनिको संरचना सिमेन्टको र जमिनमाथिका सबै संरचना स्टिलको बनाइने भएको छ । बैठकले महानगरभित्र बनेका घरको नक्साका बारेमा नयाँ निर्णय गरेको छ । अभिलेखीकरणभित्र नपरेका र मापदण्डभित्र बनेका घरलाई प्रमाणपत्र दिइने प्रवक्ता नेपालीले बताए । अभिलेखी करणभित्र नपरेका र मापदण्ड अनुरुप नबनेका घरलाई सम्पन्न प्रमाणपत्र नदिएर अभिलेखीकरणमात्र गर्ने निर्णय कार्यपालिकाको बैठकले गरेको छ ।

Advertisement

महानगरले फिर्केखोलाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न विषयगत विज्ञहरुको समिति बनाउने भएको छ । पोखराको सहरी क्षेत्रमा व्यावसायिक तथा प्रवद्र्धनात्मक हिसाबले राखिने डिजिटल बोर्डका बारेमा नीतिगत निर्णय गर्ने महानगरले तयारी गरेको छ । महानगरले निजीको हकमा डिजिटल बोर्ड राख्नका लागि निश्चित आकार र ठाउँ तोक्ने निर्णय गरेको छ ।

महानगरमा दर्ताका लागि निवेदन दिएका घ वर्गका १४ निर्माण कम्पनीको इजाजत नियम अनुसार स्कीकृत भएको छ । बैठकले सिर्जनाचोकको भवनको भाडा नतिरेकाले जस्ट इन टाइमसँग भएको सम्झौता खारेज गरेको छ । बैठकले प्रक्रिया पु¥याएर भाडा असुल गरी नयाँ ढंगले भवन व्यवस्थापन गर्ने निर्णयसमेत गरेको छ । पोखरा १३ स्थित पहिरोपानी, चिसापानी र मजुवा सडक स्तरोन्नतिको कामअघि बढाउने निर्णयसमेत महनगरले गरेको छ ।

तपाईको प्रतिक्रिया