पीपीएलः काठमाडौंको लगातार दोस्रो जित

समाधान संवाददाता २०७६ पुष ६ गते ११:५०

विराटनगरविरुद्ध ब्याटिङका लागि क्रिजमा उत्रिएका कप्तान ज्ञानेन्द्र र जयकिसन । तस्बिरः समाधान

ईश्वर देवकोटा
पोखरा

नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टि–२० क्रिकेटको शनिबारको खेलमा ज्ञानेन्द्र मल्लको कप्तानी रहेको काठमाडौं गोल्डेन वारियर्सले विराटनगर टाइटन्समाथि ३६ रनले जित हात पारेको छ । प्लेअफमा सुरक्षित रहन निकै मेहनत गरेको काठमाडौंले पहिलो २ खेलमा हार व्यहोरे पनि पछिल्लो २ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नतिजा पक्षमा पारेको हो ।

Advertisement

यसअघि काठमाडौं साविक विजेता पोखरा पल्टनसँग ९ विकेट र बुटवल ब्लास्टर्ससँग सुपर ओभरमा हारेको थियो । बुधबारको खेलमा धनगढीमाथि १ सय ६ रनको सानदार जित निकालेसँगै शनिबारको खेलमा विराटनगरलाई हराएर लगातार दोस्रो जित हात पारेको छ ।

टस जितेर ब्याटिङ गरेको काठमाडौंले ५ विकेटको क्षतिमा १ सय ५९ रनको योगफल खडा गरेको थियो । लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा २ बल खेल्नुअघि अलआउट भई १ सय २३ रनमा समेटियो ।

Advertisement

काठमाडौंका लागि ओपनर ब्याट्सम्यान जयकिसन कोल्सावालाले अर्धसतकीय पारी खेले । उनले ४३ बलमा २ छक्का र ५ चौकाको सहायतामा ५५ रन बनाएर आउट भए । १४.२ ओभरमा पुनित मेहराले साहब आलमको हातबाट उनलाई क्याच आउट गराए । उनी प्लेयर अफ द म्याचसमेत चुनिए ।

कप्तान ज्ञानेन्द्र मल्ल ४५ रन बनाएर आउट भए । उनले ३३ बलमा २ छक्का र ३ चौका हिर्काए । उनलाई पनि पुनित मेहराले नै जितेन्द्र मुखियाको हातबाट क्याच आउट गराए । तेस्रो विकेटका लागि जयकिसन र ज्ञानेन्द्रले ६६ रनको साझेदारी गर्दै टिमका लागि स्कोर बढाएका थिए ।

अदिल खान र पवन सर्राफले अविजित १३ र ५ रन बनाए । इनिङ्सको ओपनिङ गरेका ब्याट्सम्यान गौरव तमोर पहिलो ओभरको अन्तिम बलमा रन नै नजोडी किशोर महतोको बलमा आउट भएका थिए । अमीत श्रेष्ठ १७, सुबोध भाटी १४ रनमा सीमित रहे ।

बलिङतर्फ विराटनगरका पुनित मेहराले ३ ओभरमा १५ रन खर्चिएर २ विकेट झारे । किशोर महतोले ३ ओभरमा ३३ रन खर्चिएर १ विकेट लिए । नोमान खानले समान १ विकेट लिए । नोमानले ४ ओभरमा ३८ रन खर्चिए । जितेन्द्र मुखियाले १ विकेट लिए । मोहम्मद जियाद आलमले ४ ओभरमा ३० रन खर्चिदा विकेट झार्न सकेनन् ।

इनिङ्सको ओपनिङ नै फितलो प्रदर्शन गरेको विराटनगरले लक्ष्य अनुसारको रन लिन सकेन् । ७ जना ब्याट्सम्यानले दोहोरो अंकको रन छुन नसकी आउट भए । ओपनर ब्याट्सम्यान मोहम्मद जियाद आलम र सुनील धमलाले १÷१ रन बनाएर आउट भए ।

मध्यक्रमका ब्याट्सम्यान राजु रिजाल १, राजेश पुलामी मगर २, दिलीपनाथ १, जितेन्द्र मुखिया २, किशोर महतो १ रनमा आउट भए । तेस्रो नम्बरमा ब्याटिङमा उत्रिएका कप्तान प्रदीप सिंह ऐरीले खेलमा केही आशा जगाए पनि २७ बलमा २९ रनमै सीमित भए । उनलाई सुशन भारीले आउट गराए ।

विराटनगरलाई उकास्न प्रयास गरेका पुनित मेहराले अर्धसतकीय पारि खेले । उनले ३१ बलमा ५३ व्यक्तिगत स्कोर बनाए । १८ दशमलव २ ओभरमा उनलाई सुबोध भाटीले बोल्ड गराए । नोमान खान २५ रनमा आउट भए ।

बलिङतर्फ काठमाडौंका सुबोध भाटीले सर्वाधिक ३ विकेट झारे । उनले ४ ओभरमा २५ रन खर्चिए । वसन्त रेग्मी र अमरसिंह रौतेलाले समान २÷२ विकेट लिए । अमृत भट्टराई, सुशन भारीले समान १÷१ विकेट लिए ।

पिपिएल अन्तर्गत आइतबार २ खेल हुँदै छन् । पहिलो खेल विराटनगर टाइटन्स र चितवन राइनोजबीच हुनेछ भने दोस्रो खेलमा बुटवल ब्लास्टर्सले धनगढी ब्लुजको सामना गर्नेछ ।

तपाईको प्रतिक्रिया