भ्रमण वर्ष प्रचार गर्दै व्यवसाय

समाधान संवाददाता २०७६ पुष १० गते १३:४८

समाधान संवाददाता
पोखरा

३ तहका सरकार बनेपछि ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा अघि सारिएको छ । नेपालले २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित भिजिट नेपाल २०२० मनाउँदै छ । भ्रमण वर्ष सुरुआतको संघारमा प्रचारप्रचारका विभिन्न रणनीति बनिरहेका छन् ।

सरकारी तवरबाट भिजिट नेपाल सुरु हुनै लाग्दा निजी क्षेत्रबाट पनि विभिन्न प्रयास थालिएका छन् । गत कात्तिकमा तिलोत्तमा नगरपालिका रुपन्देहीमा स्थापना भएको लिडास फेसन निटवेयर प्रालिले भ्रमण वर्ष प्रचारसँगै व्यावसायिक यात्रामा सिर्जनात्मक सुरुआत गरेको छ । लिडासले भिजिट नेपालको लोगो अंकित स्वेटर र गलबन्दी बजारमा ल्याएको छ ।

Advertisement

लिडासका प्रबन्ध निर्देशक इन्द्र खड्काले मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पर्यटनमन्त्री विकास लम्साललाई भेटे । मुख्यमन्त्री गुरुङले सरकारी तवरबाट हुनुपर्ने काम निजी क्षेत्रले गरेको भन्दै गण्डकी सरकार स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न तयार रहेको बताए । उनले सरकारी र निजी क्षेत्रको सहकार्यबाट मात्रै समृद्ध नेपालको सपना साकार हुने बताए ।

पर्यटनमन्त्री लम्सालले भ्रमण वर्षको प्रसार र पर्यटकलाई उपहारका लागि यस्ता सामग्री निकै उपयोगी हुने विचार राखे । उनले गण्डकी सरकारले १ सय गलबन्दी र १ हजार स्वेटर खरिद गरी सरकारका विभिन्न तहमा वितरण गर्ने प्रतिवद्धता गरे ।

Advertisement

लिडासका यी उत्पादनलाई प्रदेश ५ को सरकार र स्थानीय तहहरुले पनि सघाउने प्रतिवद्धता गरिसकेका छन् । प्रालिले लेडिज स्वेटर, पन्जु, लङकोट, जम्पर, प्लाजु, सबै सिजनलाई हुने एक्सपोर्ट क्वालिटीका सामान पनि उत्पादन गरिरहेको छ । लिडासका प्रबन्ध निर्देशक खड्का १५ वर्ष विदेश बसेर फर्किएका हुन् । उनीसहित ५ जनाको ७ करोड लगानीमा स्थापित लिडासमा ७० जनाले रोजगारी पाएका छन् ।

लिडासका उत्पादनलाई अमेरिका, स्विटजरल्यान्ड, वेलायत, अस्टेलियामा पनि पुर्‍याइसकिएको छ । खड्का भन्छन्, ‘हामीले सबै विदेशमा बनेका सामान किन बेच्ने ? देशको भ्रमण वर्ष प्रवद्र्धन गर्दै हाम्रा उत्पादनलाई अन्तर्राष्ट्रियकरण गर्न यसलाई प्लेटफर्म बनाएका छौं ।’ उनले निजी क्षेत्र, सरकारी र नेपालीको यसमा साथ मिल्ने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया