फेवा ताल जोगाउन २९ करोडको योजनामा सिल्टेसन ड्याम

समाधान संवाददाता २०७६ पुष १० गते १३:५१

समाधान संवाददाता
पोखरा

फेवा जलाधार क्षेत्रका खोलाले बगाएर ल्याउने ढुंगा, माटो र बालुवा रोक्न पोखरा महानगरपालिकाले ठाउँ ठाउँमा सिल्टेसन ड्याम बनाउन थालेको छ । फेवाताल पुरिनबाट रोक्न महानगरले गण्डकी प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको सहकार्यमा जलाधार क्षेत्रका खोलामा चेकड्याम र सिल्टपोखरी बनाउन थालेको हो ।

जलाधार क्षेत्रका ५ वटा बेसिनबाट फेवातालमा बर्सेनि ४ लाख घनमिटर नदीजन्य फोहोर मिसिने अनुमान छ । जलाधार क्षेत्रमा सिल्टेसन ड्यामको अलवा ग्याविनको काम, पैरो तथा भू–क्षय रोक्न भू–जैविक प्रविधि (बायो इन्जिनियारिङ) प्रविधिमार्फत फेवातालमा झर्ने माटोलाई रोक्ने पोखराका मेयर मानबहादुर जिसीले जानकारी दिए ।

Advertisement

महानगरले फेवाताललाई सबभन्दा बढी क्षति पुर्‍याएको अँधेरी खोला, हर्पन खोला, लौरुक खोला र बेतयानी खोलामा नदीजन्य फोहोर रोक्न ५ वटा सिल्टेसन ड्याम बनाउन थालेको हो । महानगर र मन्त्रालयको ५०÷५० प्रतिशतको लागतमा २९ करोडको लागतमा आयोजनाको काम थालिएको हो । पोखरा २४ को बेतयानी खोलामा निर्माण गरिने सिल्टेसन ड्यामको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार शिलान्यास गरे । करिब ५ करोड ४६ लाख ५८ हजार ९ सय ७५को लागतमा बन्ने सिल्टपोखरीको ५० मिटर लम्बाइ, ५० मिटर चौडाइ र ४ मिटर उचाइको हुने महानगरका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेले जानकारी दिए ।

चेकड्याम र सिल्टपोखरीको निर्माणको जिम्मा गीता÷जयनेपाल ईश्वर जेभी, स्याङ्जाले पाएको छ । पोखरा २४ को लौरुक खोलामा ५ करोड ७४ लाख ८४ हजार ९ सय ९८ को लागतमा २ वटा चेकड्याम र सिल्टपोखरी निर्माण गरिनेछ । दाङको खड्का कृष्ण÷पिके जेभी निर्माण कम्पनीले लौरुक खोलाको जिम्मा पाएको छ । सोही कम्पनीले पोखरा २३ र २४ मा पर्ने अँधेरी खोलामा ९ करोड ६ लाख ४ हजार ५ सय ५८ को लागतमा सिल्टेसन ड्याम निर्माणको काम पाएको छ । अँधेरी खोलामा १ सय मिटर लम्बाइ र चौडाइ भएको सिल्टपोखरीको उचाइ ४ मिटर हुनेछ । २०७६ भदौ २९ गते सम्झौता भएको अँधेरी खोलामा ६० प्रतिशत काम भएको वरिष्ठ इन्जिनियर काफ्लेले बताए । पोखरा २३ को हर्पनखोलाको घाँटी छिनामा ७ करोड ८८ लाख ६२ हजार ५ सय ४१ को लागतमा चेकड्याम र सिल्टपोखरी निर्माण गरिनेछ ।

Advertisement

खड्का कृष्ण÷पिके जेभी दाङले निर्माणको जिम्मेवारी पाएको सिल्टपोखरीको लम्बाइ र चौडाइ १ सय मिटर र उचाइ ४ मिटर हुनेछ । २०७६ भदौ २९ सम्झौता भएका सबै आयोजनाका काम थालेको मितिले १५ महिनाभित्र निर्र्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सरकार र पोखरा महानगरको साझेदारीमा मानवीय र प्राकृतिक रुपमा अतिक्रमण भएको फेवाताललाई जोगाउने अभियान थालेको बताए । अभियानबाट फेवातालमा बर्सेनि थुप्रिने ढुंगा, गिट्टी, बालुवा नियन्त्रण हुने उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले पोखरा आसपासका तालको संरक्षण र सौन्दर्यीकरण गरी समृद्धि हासिल गर्ने धारणा राखे । ताल विकास प्राधिकरण ऐन निर्माण गर्न लागेको जानकारी दिँदै उनले अधिकार सम्पन्न ताल विकास प्राधिकरणको तालको संरक्षण र विकासको काम गर्ने बताए ।

पोखराका मेयर मानबहादुर जिसीले सिल्टेसन ड्यामको निर्माण फेवाताल बचाउ अभियान अन्तर्गतको काम भएको बताए । सिल्टेसन ड्याममा जम्मा भएको नदीजन्य फोहोर हरेक दिन निकाल्ने व्यवस्था महानगरले मिलाउने मेयर जिसीले जानकारी दिए । उनले सिल्टपोखरीमा जम्मा हुने ढुंगा गिट्टी र बालुवालाई आम्दानीको स्रोत बनाएर ताल संरक्षणको काम गर्ने उल्लेख गरे । ‘फेवामा मिसिने ५ वटा खोलाबाट ३ लाख घन मिटर कच्चा पदार्थ संकलन हुने अनुमान गरिएको छ,’ मेयर जिसीले भने, ‘प्रतिघनमिटर कच्चा पदार्थलाई ७ सय ४२ को दरले हिसाब गर्दा वार्षिक २३ करोड आम्दानी गर्न सकिनेछ ।’ मेयर जिसीले सरोकारवाला र जलाधार क्षेत्रका समुदायको सहभागितामा फेवातालको दिगो व्यवस्थापनको काम गर्ने योजना सुनाए ।

कार्यक्रममा पोखराका उपमेयर मञ्जुदेवी गुरुङ, महानगरका अधिकृत भरतप्रसाद पौडेल, गीता÷जयनेपाल ईश्वर जेभी, स्याङ्जाका प्रतिनिधि खिमप्रकाश मल्ल लगायतले सिल्टसेन ड्याम निर्माणबारे बोलेका थिए । फेवा जलाधार क्षेत्रमा पोखरा महानगरका ६, १८, २२ र २३ नम्बर वडा पर्छन् । अन्नपूर्ण गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ समेत फेवा जलाधार क्षेत्रमा परेका छन् ।

तपाईको प्रतिक्रिया