भूमिराजको ‘कार्निभल’ बजारमा

समाधान संवाददाता २०७६ पुष १३ गते १३:०९

समाधान संवाददाता
पोखरा

डा. भूमिराज बस्ताकोटीको कथासंग्रह ‘कार्निभल’ शनिबारबाट बजारमा आएको छ । बिएन पुस्तक संसारले प्रकाशन गरेको संग्रह साहित्यकार सरुभक्त तथा स्रष्टाकी छोरी प्रतिमाले संयुक्त रूपमा लोकर्षण गरे ।

सरुभक्तले पोखरेली साहित्यमा कविताका सापेक्षमा आख्यान पछि परेका बेला बस्ताकोटीको कृतिले महत्त्व राख्ने बताए । उनले भने, ‘कसैको प्रत्यक्ष प्रभावमा नभएर स्रष्टाले आफ्नो बाटो आफैं तयार गर्नुपर्छ । भूमिराजले त्यो गरेको मैले पाएको छु ।’ पोखरामा आख्यान लेखनलाई अभिप्रेरित गर्ने संस्थागत प्रयास खाँचो रहेको पनि उनले औंल्याए ।

Advertisement

समीक्षा गर्दै डा. लक्ष्मीशरण अधिकारीले संग्रहका कथामा विनिर्माण तथा स्वैरकल्पनाको उपयोग भएको बताए । उनले गण्डकी क्षेत्रको आञ्चलिक स्वादका साथै पर्यावरणीय चेतना पनि कथाहरुमा पाइने जनाए । अर्का समीक्षक दीपेन्द्र पराजुलीले संग्रहका सबै कथाले विनिर्माणिक चेतना तथा पद्धतिलाई ग्रहण गरी परम्परित केन्द्र विघटन गरेको विचार राखे ।

विनिर्माणिक चेतना तथा पद्धति उपयोग गरे पनि आफू त्यसको अन्धभक्त नरहेको र पूर्वीय मान्यताले पनि नेपाली साहित्य सृजनामा मूल्य राख्ने कथाकार डा. भूमिराज बस्ताकोटीले बताए । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष डा. जगन्नाथ रेग्मी, कन्या क्याम्पसका प्रमुख सुरेशकुमार मानन्ध, प्रतिष्ठानका सहसचिव कृष्ण त्रिपाठी, डा. वासुदेव भण्डारी, डा. सवीन्द्र भण्डारी, डा. टीकाराम आचार्य र टंक र डिल्लीराम पौडेलले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया