चितुवा आतंकले रातभर सुत्दैनन स्थानीय

समाधान संवाददाता २०७६ पुष १८ गते १२:५६

राजन उपाध्याय
दुलेगौंडा

तनहुँको शुक्लागण्डकी–३ रातमाटामा घरको पिंढीमै आक्रमण गरी २२ महिने बालकको मृत्यु भएपछि स्थानीय त्रसित भएका छन् । बुधबार राति बालकलाई आक्रमण गरेकै स्थानमा पुन चितुवा आएपछि स्थानीयले सुरक्षाको माग गरेका छन् ।

चितुवाको डरले स्थानीयहरुको दैनिक कामकाजमा समेत वाधा पुगेको छ । घटना भएदेखि घाँस दाउराको लागि वनमै जान छाडेको उनीहरुले गुनासो गरे । स्थानीय सुनिता खत्रीले पुन घरकै आगनमा चितुवा आएको जानकारी दिइन् । ‘रिचार्ज किनेर घर फर्कदै थिए, आँगन वरिपरि नै चिुतवा हिँडिरहेको देखें,’ उनले भनिन्, फोन गरेर गाउँलेलाई बोलाएपछि भाग्यो । पटपटक चितुवा आउदा बालबालिका र महिलाहरुलाई दैनिक काममा वाधा पुगेको छ ।’

Advertisement

अर्की स्थानीय फूलमाया नेपालीले चितुवको आक्रमण भएपछि ५ बजेनै खाना खाएर सुत्ने गरेको सुनाइन् । ‘हामी त साँझै सुरक्षित तरिकाले घरमै बसौंला,’ उनले थपिन,’ ‘तर स्कुल जाने बालबच्चाहरुको सुरक्षा कसरी गर्ने, नपठाउँ भने पनि अहिले परीक्षा चलिरहेको छ ।’ उक्त गाउँबाट बिहानै ५ बजे उठेर अध्ययनका लागि जंगलको बाटो हुँदै विद्यार्थीहरु दुलेगौंडा आउने गरेको नेपालीले बताइन् ।

घर आँगनमै आहाराको खोजीमा चितुवा आउन थालेपछि स्थानीयले सुरक्षाका लागि गस्ती थालेका छन् । गाउँघरमा प्रयोग हुने हँसिया र लाठीले मार्न नसकिने भन्दै सेना र सशस्त्रको गस्ती हुनुपर्नेमा प्रशासनको ध्यानाकर्षण गराए । बिहीबार सो क्षेत्रमा पुगेकी प्रदेश सभा सदस्य आशा कोइरालालाई उनीहरुले जतिसक्दो चितुवा नियन्त्रणमा लिएर सुरक्षित वातावरण बनाउन आग्रह गरे । उदेनढुंगा टोल विकास संस्थाका अध्यक्ष गोकर्णबहादुर पुवरले परम्परागत खोर निर्माण गर्न सम्बन्धित निकायले सहयोग गर्नुपर्नेमा जोड दिए । ‘अहिले घरघरै चितुवा आएको छ,’ उनले थपे, ‘नरभक्षी चिुतवालाई मारेरमा कुनै कसुर नलाग्ने बनाउनु जरुरी छ ।’ उनले चितुवाका कारण दैनिक कामकामज नै प्रभावित हुन पुगेको उल्लेख गरे । ‘गाइवस्तुलाई राम्रोसँग खान दिन सकिएको छैन,’ उनले भने, ‘घरको वरपरको काम पनि गर्न ज्याननै जोखिममा पर्ने हो कि भन्ने चिन्ता छ ।’

Advertisement

आफूहरु नै असुरक्षित भएमा चितुवालाई मार्न कानुनले छुट दिएको प्रदेस सभा सदस्य कोइरालाले जानकारी दिइन् । उनले भानु नगरपालिकामा निर्माण गरिएको परम्परागत पासो बनाउन डिभिजन वनसँग सहकार्य भएको बताइन् । वडा नं. ३ का अध्यक्ष रामकुमार श्रेष्ठले विभिन्न स्थानमा खोर बनाई चितुवालाई नियन्त्रणमा लिनुपर्ने बताए ।

आइतबार बेपत्ता भएका बालक रविन नेपालीको शव क्षतविक्षत अवस्थामा करिब १ किलोमिटर परको ढाङढुंगे ठूलोपाखा तीन पोखरी सामुदायिक वनमा फेला परेको थियो । भोलिपल्ट नै बाख्रासहित पासो सोही जंगलको छेउमा राखिएको छ ।

तपाईको प्रतिक्रिया