क्षेत्रीय अस्पतालमा भाइरल लोड उपकरण

समाधान संवाददाता २०७६ माघ ३ गते १३:२७

समाधान संवाददाता
पोखरा

एचआइभी पोजेटिभ देखिएका व्यक्तिहरुमा रोगको चरण पत्ता लगाउन र उपचारमा सघाउ पु¥याउन पोखरामै पहिलोपटक भाइरल लोड सेवा सुरु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालाबाट सेवा थालिएको हो । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सेवा शुभारम्भ गरे ।

उपकरणले एचआइभी यकीन भइसकेका व्यक्तिहरुलाई उनीहरु कुन तहमा छन् भन्ने कुरा थप पुष्टि गर्ने छ । एचआइभीको आरएनए भाइरसको न्युक्लिएसिड निकालेर उपकरणले असरको मात्रा जानकारी दिने छ । नियमित औषधि सेवन गरिरहेका व्यक्तिहरुलाई औषधिले पारेको प्रभावबारे स्थिति थाहा पाइने टेक्निसियन महेश्वर तिमिल्सिनाले जानकारी दिए । एचआइभी एड्स सम्बन्धी परीक्षणका लागि सेवा प्रभावकारी बन्ने प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले बताए ।

Advertisement

काठमाडौं, धनगढी, विराटनगरमा यस्तो सेवा उपलब्ध हुँदै आएकोमा पोखरामा पनि विस्तार भएको हो । स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको सहयोगमा उक्त उपकरण जडान गरिएको हो । २ जना प्राविधिक कर्मचारी केन्द्रले व्यवस्थापन गरेको छ ।

सिसडोलमै डेरा छ जस्तो लाग्छः मन्त्री ढकाल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेको २ महिनापछि पोखरा आइपुगेका मन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रको अध्ययनका लागि आफैं उपस्थित भएको बताए । मन्त्रालयको कोठामा बिफ्रिङ सुन्ने परम्पराले सुधार गर्न नसकिने हुँदा सरकारी अस्पतालमा अनुगमन भन्दा अध्ययन निरीक्षणका लागि पुग्ने गरेको उनले सुनाए ।

Advertisement

स्वास्थ्य जनतासँग प्रत्यक्ष जोडिने पक्ष भएकाले व्याप्त समस्याग्रस्त विषयलाई सुल्झाउन आफ्नो कार्यकालभरि लागि पर्ने मन्त्री ढकालको भनाइ छ । ‘कहिलेकाहीँ कहाली पनि लाग्छ । मन्त्रालय र स्वास्थ्य क्षेत्रका भयावह समस्याहरु देख्दा कस्तो लाग्छ भने फोहोर ठाउँको काठमाडौंको कुनै ठाउँमा डेरा गरेर बसेको होइन सिसडोल (डम्पिङ साइट)मै डेरा लिएर बसेको छु कि जस्तो लाग्छ,’ उनले भने, ‘तर त्यसलाई सफा गर्नुको अर्को कुनै मसँग विकल्प छैन । मेरो नेतृत्वमा अनुभूत हुने गरी हुन्छ ।’

शुद्धीकरकणमा लाग्दा पहिलो चरणमा मन्त्रालयभित्रबाट नै सुरु गरिसकेको उनको दाबी छ । त्यसका केही सकारात्मक प्रभाव देखिन समय लाग्ने उनले बताए । ठिकलाई ठिक र बेठिकलाई पनि ठिक भन्नेहरुको कित्ताकाट हुने भन्दै आस्था जे बोकेपनि राम्रो काम गर्नेहरुले साथ पाउने उनले सुनाए ।

सरकारी अस्पतालको स्थिति सुधार गरी आकर्षणको केन्द्र बनाउन योजना बनाइरहेको मन्त्री ढकालले जानकारी दिए । सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई तोकेको ठाउँमा चिकित्सा सेवामा पठाउन मन्त्रालयले काम थालिसकेको उनले बताए । ‘सरकारले अहिलेसम्म अर्बौं लगानी गरेर डाक्टरी पढाएको छ । यता कोर्स सकिनेबित्तिकै आफ्नो खुसीले पलायन भएको छ । अब त्यो अवस्था अन्त्य हुन्छ ।’ उनले भने । २ वर्ष पहाडी वा हिमाली जिल्लामा सेवा नदिएकालाई सेवा दिन बाध्य बनाउन मन्त्रालयले कडाइ गर्ने उनले बताए । छात्रवृत्तिमा डाक्टर बनेका विदेश गइसकेको भएपनि सूचना जारी गर्ने र अटेर गर्नेलाई सम्पत्ती रोक्का राखी राहदानी रद्दसम्म गर्न सकिने उनले बताए । अझ अटेर गरे सम्बन्धित देशबाट फर्काउन त्यहीँको प्रशासनलाई नोटिस पठाउने मन्त्री ढकालको भनाइ छ ।

‘२ वर्षमा बार्गेनिङ हुँदैन । दुर्गममा गएर काम गर्नेहरु काम मात्र गरिरहेका हुँदैनन् । उनीहरुलाई देश चिन्ने अवसर पनि हो,’ उनले भने, ‘सरकारी कोटामा डाक्टर भएका अहिले नेपालमै भइदिएको भए पालिकाले सञ्चालन गर्ने भनिएको १५ शैयाको अस्पतालमा डाक्टर भएनन् भन्ने गुनासो सुनिदैनथ्यो ।’

स्वास्थ्य क्षेत्रका समस्या सुधार गर्न मुलतः ३ कुरामा आफ्नो ध्यान रहेको मन्त्री ढकालले बताए । अस्पतालमा हुने औजार÷उपकरण खरिद अनियमितता, औषधी खरिद र कर्मचारी व्यवस्थापन मन्त्रालयले विशेष निगरानीका साथ सुधार गर्ने बताए । परम्परा धान्ने गरी मन्त्रालय सञ्चालन नगर्ने मन्त्री ढकालको दाबी छ ।

तपाईको प्रतिक्रिया