तनहुँ हाइड्रोको सुरुङ निर्माणकार्य सुरु

समाधान संवाददाता २०७६ माघ ५ गते १३:५२

कृष्ण न्यौपाने
दमौली

तनहुँको ऋषिङ गाउँपालिका १ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको केबल टनेल निर्माण थालिएको छ । १ सय ४० मेगावाटको आयोजनाको दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले विद्युतगृहका लागि टनेल खन्न थालेको हो ।

तनहँु जलविद्युत आयोजनाका प्रबन्ध सञ्चालक प्रदीप थिकेको उपस्थितिमा सिनो हाइड्रोले बिहीबारदेखि सुरुङ खन्न थालेको साइट इन्चार्ज इन्जिनियर विदुर अधिकारीले बताए । सिनोले आयोजनाको प्याकेज २ अन्तर्गतको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण जडानको ठेक्का पाएको थियो ।

Advertisement

सिनोले झापुटारमा पूर्वाधार निर्माणलाईसमेत तीव्रता दिएको छ । सिनो हाइड्रोले यहाँ आवास, कार्यालय, क्रसर प्लान्ट र पहुँच मार्ग निर्माण गरेको छ । दोस्रो प्याकेजको कामका लागि सिनो हाइड्रोसँग र३ अर्ब ८३ करोड १४ लाखमा सम्झौता भएको छ । पहिलो प्याकेज अन्तर्गतको कामका लागि पुनः बोलपत्र आह्वान भएकोमा एसियाली विकास बंैक (एडिबी) ले बोलपत्र रद्द गरेको छ । पहिलो प्याकेजको ठेक्का लागि आयोजनाले गत वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो । त्यसका लागि १९ कम्पनीले चासो देखाए पनि ४ कम्पनीले बोलपत्र पेश गरेका थिए । तर एडिबीले ४ वटै कम्पनीलाई अस्वीकृत गरिदिएको छ ।

अब नयाँ ठेक्का प्रक्रिया सुरु गर्न कम्तीमा ६ महिना लाग्छ । बोलपत्र रद्द भएपछि आयोजनाको निर्माण अवधि पनि पछि धकेलिएको छ । आयोजनाका लागि आवश्यक क्याम्प तथा विद्युतगृहको पहुँच मार्ग निर्माणका लागि १ सय ५० रोपनी जग्गा अधिग्रहण भइसकेको छ ।

Advertisement

पहिलो प्याकेजको संरचना निर्माणका लागि एसियाली विकास बैंक (एडिबी) र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋण परिचालन हुनेछ । निर्माण व्यवसायी कम्पनीले आयोजनाको १ सय ४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने २ सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गर्नेछ ।

आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग सम्झौता भइसकेको छ । आयोजनाबाट सुख्खा याममा १ सय ७९ मेगावाट र वर्षायाममा ३ सय २३ मेगावाट ऊर्जा उत्पादन हुनेछ ।

तपाईको प्रतिक्रिया