सार्कका जनताको बाटो

समाधान संवाददाता २०७६ माघ ५ गते १४:५९

सुदर्शन प्रधान
भारतमा झण्डै १ अर्ब हिन्दू धर्मवालम्बी छन् । हिन्दू धर्म संस्कृतिलाई उनीहरु सर्वोपरी मान्छन् । सबै धर्मवालम्बीले बौद्धमार्गी, ताऔं, मुस्लिम, क्रिस्चियन, यहुदी, सिख, लगायतले आ–आफ्नो धर्म संस्कृतिलाई महान् मान्छन् । जसलाई उनीहरु सबै श्वासप्रसास प्रणाली झैं ठान्छन्, जुन बाँच्न सकिन्न झैं मान्छन् ।

यो ठूलो भ्रम हो । किनकी अक्सिजन बिना मान्छे बाँच्न सक्दैन । पानी बिना १ हप्ता र खाद्यन्न बिना २ महिना बाँच्न सक्दैन । यसरी हावा, पानी, खाद्यन्न जस्ता कुरा र त्यसका मूल स्रोत वन, वनस्पती, खोला–नदी, समुन्द्र, हिमाल, यो माटो भनौं भूमि हाम्रो दैनिकी र जीवनसँग जिवन्त सम्बन्धित छन् । यसरी प्रकृति वास्तविकतामा सर्वोपरी हो र मानव समाज र सभ्यताको १ मात्र स्रोत हो । हामी सबै धर्म, संस्कृति भित्रका प्रकृतिको सुरक्षा र विश्व मानवमा शान्ति र सुव्यवस्था, यसको लागि आमा वर्गको भनौं महिलाको सर्वोपरिताको लागि नीति नियम, मूल्य मान्यतालाई सम्मान गर्छौं र आत्मसात पनि । तर सबै धर्म दर्शनभित्रका कथित पूर्व जन्म र पुर्नजन्म, स्वर्ग र नर्क जस्ता कुरालाई झुटको खेतीपाती भन्छौं । यी कुराले जनमानषको अन्धविश्वासी, सकुचित, कायर, तुल्याउँछन् । आज समाज र संसारको जन समुदायको ठूलो हिस्सा यस्तै कुराले बाँधिएको छ ।

सबै धर्म दर्शनले हरेक व्यक्तिको जीवन पूर्वजन्मको फल हो भन्छन् । जबकि हरेक व्यक्तिको जीवन त्यहाँको राज्य व्यवस्थाको प्रतिफल हुन्छ । व्यक्तिगत कडा श्रम, अनुशासन, प्रतिभा, दक्षता, मितव्ययिता जस्ता विशेषता हुने मानिसको आर्थिक, भौतिक अवस्था राम्रो हुन सक्छ । तर आम जनताको भनौं जनमानषको जीवनको सम्पूर्ण पक्ष र शान्ति सुरक्षा र सुव्यवस्था जस्ता महत्वपूर्ण कुरामा राज्य व्यवस्थाको नीति, नियमले निर्णायक भूमिका खेल्छ । हिन्दू धर्म दर्शनले वर्तमान युगलाई ‘कलियुग’ र यसपछि ‘सत्ययुग’ आउँछ भन्ने मान्यता बोक्छ । सत्य युग भनेको महिलाबाट सन्चालित र नीति निर्देशित र नियन्त्रित राज्य व्यवस्था हो ।

हिन्दू धर्म दर्शनको यो विशिष्ट कुरा हुन् । सतिप्रथा, जातिभेद भनौं छुवाछुत प्रथा र एउटा गाईलाई भगवानको रुप मान्ने प्रथा बोक्रे कुरा हुन् । प्रकृतिमा बोक्राको पनि महत्व हुन्छ । बरु सतिप्रथाको अन्त पश्चिमा संस्कृति भारतका राजा महाराजाले देखेर युरोपमा श्रीमान्को मृत्यु पश्चात विधवा महिलाले पुनःविवाह गरी राम्ररी घरजम गरेको देखेर भारतमा सतिप्रथा अन्त भएको हो र नेपालका राणाले त्यसको सिको गर्दै सन् १९१५ मा सतिप्रथा रोकिएको हो । त्यसरी नै भारत र नेपालमा जातीय समानता र छुवाछुत प्रथा घोर अमानवीय र अपराधपूर्ण प्रथा हो भन्ने कुरा पश्चिमा माक्र्सवादी दर्शनको प्रभावले विचार निर्माण र त्यसको विस्तार भएको हो ।

तर सतिप्रथामा भारत र नेपालको नदी किनारमा करोडौं आमा ज्यूँदै जलाइए र छुवाछुत प्रथा विरुद्ध बोल्नेका जिब्रो काटिए, लेख्नेका हात काटिए र ब्राम्हणका पुस्तक पढ्न खोज्नेका आँखा निकालिए करोडौं करोड संख्यामा । तथापी भारत र नेपालका महिला र दलितका जनताले ती घोर उत्पीडन र अपराधपूर्ण प्रथा विरुद्ध शसक्त विद्रोह, क्रान्ति र युद्ध गरेको इतिहास छैन । यस्तो किन भयो ? यो अनुसन्धान पूर्ण छ ।

आज सतिप्रथा छैन । तर छोरीको भ्रुण हत्या, दहेज प्रथा, मुस्लिममा बुर्का प्रथा, तलाक प्रथा, सुन्यत प्रथा जीवित छन्, व्यवहारमा । त्यसरी नै विवाह पश्चात पुरुषको घरमै जान पर्ने प्रथा पनि महिला उत्पीडनको कारक हो । त्यसरी नै जातिभेद तथा छुवाछुत प्रथा विरुद्ध थुप्रै कागची कानूनका धारा र उपधारा बनेका छन् । तर व्यवहारमा त्यसको अन्त हुन सकेको छैन । जबसम्म एउटा दलितको छोराछोरी कथित ठूला जात भनिने ब्राम्हणको छोरी छोरासँग खुल्ला विवाह र भोजभतेर चल्दैन तबसम्म जातिभेद छुवाछुत प्रथाको अन्त भएको मान्न सकिन्न ।

एउटा घरपालुवा जनावर (गाई) लाई भगवानको प्रतीक मान्नु र त्यसको सवालमा अझै बेतर्की र अवैज्ञानिक कुरा गरी आफू जस्तै अर्को मानवको हिंसा गर्नु अपराध हो । गाईमा साँच्चि नै त्यस्तो शक्ति भए दैनिक लाखौं गाई र गोरुको वध गरि छालाबाट पेटी, सुटकेस, जुत्ता, चप्पल, ज्याकेट बनाउने, हड्डीबाट मल बनाउने र मासु अनेकौं परिकार बनाएर खाने यूरोपियन, अमेरिकन, रुसी, चाईनिज, जापानिज हरिकंकाल बन्न पर्ने होइन र ! बरु प्राय हरेक विषयमा उनीहरु अगाडि छन् र भारत नेपालका शासक वैज्ञानिक, प्राविधिक, यान्त्रिक, आर्थिक, भौतिक कुरामा उनीहरुका मुख ताक्छन् । आर्थिक सहयोगको याचना गर्छन् । यो चरम सरमको कुरा हो कि हैन ?

यहाँ अल्पसंख्यक मुस्लिम धर्म सम्प्रदायलाई गाई खाने भनेर अधर्मीको संज्ञा दिएर हिंसा गर्दै आएको विगत छ । इतिहासमा हिन्दू–मुस्लिम र हिन्दु मौद्धमार्गीबीच युद्ध संग्राममा करोडौं जनताको मृत्यु भएको आंकलन गर्न सकिन्छ र आगामी दिनमा पनि यही गाईगोरुको विषयमा ठूलो संग्राम हुने सम्भावना छ । किनकी भारतमा कट्टर हिन्दूवादी भारतीय जनता पार्टीको सरकार छ र नरेन्द्रमोदी भारतको प्रधानमन्त्री । यो युद्ध संग्रामको सम्भावनाका मूल आधार के त भने भाजपाले भारतलाई हिन्दूराज्य बनाउने उद्घोष गर्दै आयो र बहुसंख्यक हिन्दु धर्मावलम्बी जनतालाई धर्मको नारा दिँदै आयो । सन् २००३ मा गुजरात प्रान्तमा पनि हिन्दु सम्प्रदायले मुख्य मन्त्री नरेन्द्र मोदीको आडमा ८ सय भन्दा धेरै मुस्लिम जनताको ज्यान लियो । आज त उनै नरेन्द्र मोदी भारतको प्रधानमन्त्री जस्तो महत्वपूर्ण पदमा आसिन छ । उनको दिमागमा उब्जने ‘सर्वश्रेष्ठ हिन्दूधर्म’ को कारणले लाखौं, करोडौं मुस्लिम र हिन्दु जनसमुदायको ज्यान र जीवन वर्वाद हुन सक्छ ।

कश्मीरमा मुस्लिमको स्वायत्तताको हकलाई फौजी शक्तिको आडमा उनले अपहरण गरे, अयोध्याको राम–जानकी मन्दीर तथा बाबरी मस्जिदको विवादलाई सत्ताको प्रभाव पारी न्यायधीषमार्फत हिन्दूको पक्षमा पारियो, त्यसरी नै बगंलादेश, पाकिस्तान र अफगानिस्तानबाट भारत प्रवेश गरेका अरु धर्मका जनतालाई नागरिकता दिने तर मुस्लिमलाई नदिने नीति लियो । नेपालमा पनि उसको उत्तर प्रदेशको मुख्यमन्त्री आदित्यनाथले ‘नेपाल हिन्दू राज्य हुनुपर्छ र राजतन्त्र स्थापना हुनुपर्छ’ भनेर बिना हिच्किचाहट बोले । यो नेपालको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप हो । त्यसरी नै नेपालको सुदुरपश्चिमको दार्चुला जिल्लाको सुदुरउत्तरको कालापानी–लिम्पियाधुरा सेरोफेरोको ३७२ वर्ग किमि भु–भाग भारतको नक्सामा गाभेर छाप्यो । यी तथ्यले के भन्छ भने भारतको भारतीय जनता पार्टी र उसको नेतृत्व नरेन्द्र मोदीको गलत र घातक नीतिले भारतभित्र ठूलो गृहयुद्ध मच्चिन सक्छ र छिमेकी मुलुक विशेषत नेपाल, पाकिस्तान र बंगलादेशसँग पनि उसको सम्बन्ध तनावपूर्ण बन्न सक्छ । जुन युद्ध र तनावले यो क्षेत्रका दसौं, बिसौं करोड जनता नराम्ररी प्रभावित बन्न सक्छ । अब भारतलाई केन्द्र मानेर इतिहासमा एक महान् क्रान्तिको जरुरत छ । संसार थर्काउने क्रान्तिको मूल लक्ष्य निम्न हुनुपर्छः

. धर्म, संस्कृतिको नाममा ८० करोड जनसंख्या भएको सार्कमा महिलाको उत्पीडनका सम्पूर्ण बन्धन चुँडाल्नु पर्छ र महिला वर्ग सचेत, संगठित संघर्षशील बनेर मैदानमा आउनुपर्छ । व्यवहारिक र सैद्धान्तिक संघर्षमा खरिएर आएका नेतृले क्रान्तिको नेतृत्व गर्नुपर्छ । यसको लागि महिला वर्गलाई व्यापक प्रोत्साहन र प्रश्रय दिनुपर्छ ।

.यहाँका झण्डै २२ करोड दलित जजातीय मुक्ति विभेदकारी नीतिविरुद्ध संघर्ष, आन्दोलन र क्रान्तिमा भाग लिनु पर्छ, नेतृत्व गर्नुपर्छ ।

.कुनै पनि किसानको परिवारलाई पर्याप्त जग्गा उपलब्ध हुनुपर्छ । जमिन्दारी प्रथा उन्मुलन हुनुपर्छ । बाँझा जग्गा राज्यले आफ्नो बनाउन पर्छ र अर्गानिक कृषि फर्म निर्माण गर्न चाहने पौरखीका समुहलाई १÷५ हजार रोपनीसम्म र निजी फर्म खोल्न चाहनेलाई ५ सय रोपनीसम्म जग्गा उपलब्ध गराउनुपर्छ । न्यूनतम १२ वर्षसम्म ।

. २५ हजार डलरसम्म कृषि ऋण भएका कृषक र कृषि फर्मलाई पूर्ण मिनाहा हुनुपर्छ । सोभन्दा माथिकालाई ५० प्रतिशत छुट हुनुपर्छ । कृषकलाई सस्तो ब्याजमा ऋण प्रवाह हुनुपर्छ । कृषकका उत्पादनको मूल्य राज्यले उचित रुपले निर्धारण गर्नुपर्छ, त्यस्ता उत्पादन राज्यले खरिद गर्न पर्छ र विक्रीकोे लागि राज्यले थोक र खुद्रा पसल स्वयं सञ्चालन गर्न पर्छ । तब किसान र उपभोक्ता पीडित बन्ने छैनन् ।

. सम्पूर्ण यातायात, औद्योगिक, खानी निर्माण मजदुर र अन्य होटल, पसल लगायतका मजदुर भनेका समाजका मूल चालक हुन् । उनीहरुको हक, हित र अधिकार अहम सवाल हो । हरेक मजदुरले रासनकार्ड पाउनुपर्छ ।

.यो संघर्ष, आन्दोलन र क्रान्तिले प्रकृतिको सुरक्षा गर्नुपर्छ । वनजंगल, खोलानदी, हिमाल, तालतलैया, समुन्द्र, जीवजन्तु र पंक्षी, भूमिको संरक्षण र सम्बद्र्धनमा कटिवद्ध हुनुपर्छ ।

.राज्य सत्ताको आडमा अवैध रुपले धनसम्पत्ती कब्जा गरेका नोकरसाह, नेता, न्यायधीष, सेना र प्रहरी कमाण्डर र कर छली गरेकाको सम्पत्ती राष्ट्रीयकरण गर्नुपर्छ । सम्पूर्ण जनतालाई स्वास्थ्य उपचार, शिक्षा र यातायात निशुल्क हुनुपर्छ । त्यसरी नै मातृसत्तात्मक क्रान्ति द्रोही र जनद्रोहीका धन सम्पत्ति पनि राष्ट्रियकरण हुनुपर्छ ।

.सार्क भरिको कोइला, तेल, पेट्रोलियम धातु जस्ता खानी र अरु उद्योग कलकारखानामा अन्तराष्ट्रका लगानीलाई उचित रुपले सुरक्षित गरिने छ । तर यो पर्यावरण तथा मातृसत्ताको विरुद्धमा दुष्ट र भ्रष्ट शासकलाई यो महान् क्रान्ति दबाउन हतियार, गोलाबारुद दिएर सहयोग गर्छ र अरु षड्यन्त्र गर्छ भने ती सबै कुरा राष्ट्रियकरण हुनेछ । स्मरण रहोस्, यूरोप, जापान, अमेरिका, रुस, चीन जस्ता विकसित राष्ट्र कैयौं प्राकृतिक वस्तु अरु राष्ट्रमा निर्भर छन् । हाम्रो कदमले त्यहाँका जनतालाई नाकाबन्दी हाम्रो उद्देश्य होइन । बरु संसार भरिका प्राकृतिक स्रोतहरु विश्व मानव जातिका साँझा सम्पत्ति हुन् । ढिलो छिटो संसार भरिका मानव जाति यो पथमा दोहोरिनै पर्छ ।

तपाईको प्रतिक्रिया