पक्राउ पर्लान् त सांसद राजीव ?

समाधान संवाददाता २०७६ माघ ९ गते ११:३७

समाधान संवाददाता
पोखरा

संसद अधिवेशन चलिरहेकै बेला गण्डकी प्रदेशसभा सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ विरुद्ध फौजदारी कसुरमा जाहेरी दर्ता भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मीलन गुरुङले जिल्ला प्रहरी कार्यालय कास्कीमा बुधबार सांसद राजीवविरुद्ध जाहेरी दर्ता गरेका हुन् । आफ्नो वशमा नभएका विषय उठान गरी कुटपिटसहित ‘अभद्र व्यवहार’ गरेको भन्दै जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए । राजीव नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेशसभा सदस्य हुन् ।

जाहेरीमा मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ को कसुर अनुसार कारबाहीको माग गरिएको छ । फौजदारी आचारसंहिता अनुसार अभद्र व्यवहार गरेमा १ वर्षसम्म कैद सजाय वा १० हजार रुपैयाँ जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ ।

Advertisement

सांसद राजीवले एन्फा अध्यक्ष मीलनलाई मंगलबार गालीगलौज गर्दै कुटपिट गरेका थिए । पोखराको भण्ढारढिकमा मंगलबार सुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिता उद्घाटन हुनुअघि प्रदेश सांसद राजीवले अभद्र व्यवहार गरेका हुन् । प्रतियोगिताका लागि मनाङबाट डाँफे लालीगुराँस युवा क्लब माघ १ गते नै पोखरा आएको थियो । ४ गते हुने खेलका लागि १ गते नै पोखरा आएको टोलीको आवास तथा यायायातको सुविधा नमिलाएको र खेल मिति सारिँदा पनि जानकारी नदिएको भन्दै सार्वजनिकस्थलमै झापड हानेका हुन् ।

ममाथि अभद्र व्यवहार भयोः मीलन
एन्फा कास्की अध्यक्ष मीलनले जाहेरी दिनुअघि बुधबार पत्रकार सम्मेलन गरेर सांसद राजीवले आफूमाथि अभद्र व्यवहार गरेको र आफू संयमित भई विवाद बढ्न नदिएको बताए । सांसद राजीवले पदीय मर्यादाविपरीत आफूविरुद्ध जाइलागेको उनले आरोप लगाए । ‘गेटबाट छिर्ने बित्तिकै दाइ र उहाँको पिए भिडियो खिच्दै आए । पिए रक्सीले गन्हाइरहेको थियो,’ गुरुङले भने, ‘अनि एक्कासि होटल र ग्राउन्ड किन नमिलाएको भनेर मुक्का र लात्ताले हान्न थाल्नुभयो ।’ ‘उहाँजस्ता सांसद कास्कीमा धेरै छन् । यस्तो दुव्र्यवहार गरेका छैनन्,’ उनले भने, ‘उहाँ खत्तम भए पनि अरु सांसदको इज्जत राख्नुपर्छ भनेर म एक्सनमा गइनँ । मुख्यमन्त्री कप पनि भाँड्नु भएन नि ।’ मीलनले आफूले पनि हात फर्काउन सक्ने तर सांसद पदको मर्यादा राख्दै संयमित भएको बताए । उनले खेल सुरु हुनुभन्दा अघिको जिम्मेवारी एन्फाले लिन नसक्ने बताए ।

Advertisement

गण्डकीमा पहिलो पटक भइरहेको मुख्यमन्त्री कपका लागि प्रदेशले ४० लाख आर्थिक सहयोग गर्ने भएको छ । पहिलो चरणमा २० लाख र दोस्रो चरणमा २० लाख गरी पूरा पैसा पाउने प्रदेशसँग सहमति भएको एन्फा कास्की अध्यक्ष गुरुङले बुधबार पत्रकार सम्मेलनमार्फत प्रष्ट पारे । खेलमा ११ जिल्लाका ९ टिम सहभागी छन् ।

झापड हान्दा मजा लाग्छः दीपक मनाङे
प्रदेशसभा सदस्य राजीवले प्रदेशसभा सदस्य भए पनि आफूले कारबाहीको राम्रो तरिका अपनाएको दाबी गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरी उनले मीलन गुरुङ सम्बद्ध एन्फाका सबै सदस्य भ्रष्टाचारी र ठग भएको आरोप लगाउँदै सामान्य मुद्दामा प्रहरीमा जानु नपर्ने सुनाए । मुख्यमन्त्रीको नाम बेचेर मीलन र एन्फाले बदनामी गरिरहेको आरोपसमेत उनले लगाए । कानुन बनाउने ठाउँमा बसेर तपाईंले यस्तो व्यवहार गर्न मिल्छ भन्ने प्रश्नमा सांसद गुरुङले भने, ‘ठगलाई झापड नहानेर फूलमाला लगाएर हिँड्नु त ? गएका दिनमा पनि पूर्वप्रधानमन्त्रीलाई जनताले चप्पल हान्दा हामी खुसी भएका होइनौं ?’ आफूलेमात्र होइन मीलनलाई त मुख्यमन्त्रीले नै झापड हान्नुपर्ने उनको भनाइ थियो । उनले आफू बुद्ध भएर जप गरेर बस्न नसक्ने र रावणजस्तो भएकाले झापड हानेको बताए । प्रहरीमा जाहेरी दर्ता गरेर केही नहुने उनको प्रतिक्रिया थियो । उनले भने, ‘उसले गरेका ५० औं अनिमितताका प्रमाण छन् म पनि हाल्दिन्छु ।’

यस्तो छ कानुनी व्यवस्था
मुलुकी फौजदारी संहिता २०७४ को दफा नै किटेर अभद्र व्यवहारको जाहेरी दर्ता भएपछि अब सांसद राजीव गुरुङ पक्राउ पर्लान् कि नपर्लान् भन्ने चासो बढेको छ । नेपालको संविधान २०७२ को धारा १८७ (६) ले फौजदारी अभियोगमा प्रदेशसभा सदस्यलाई पक्राउ गर्न सकिने उल्लेख गरेको छ । धारा १८७ को उपधारा ६ मा भनिएको छ, ‘प्रदेश सभाको सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन । तर कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई कानुन बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना प्रदेशसभाको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ ।’

गण्डकी प्रदेशसभा नियमावली २०७४ को नियम २०५ मा सदस्यको पक्राउसम्बन्धी जानकारी दिनुपर्ने उल्लेख छ । नियमावलीमा भनिएको छ, ‘संविधानको धारा १८७ को उपधारा (६) को व्यवस्था बमोजिम सभाको कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सभालाई तत्काल दिनुपर्नेछ ।’ संविधानको धारा १८७ को उपधारा ६ बमोजिम कुनै सदस्यलाई कुनै फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको अवस्थामा प्रदेशसभाको सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन, नियममा उल्लेख छ ।

सोधपुछ गर्छौंः मुख्य सचेतक
गण्डकी प्रदेशसभा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दल मुख्य सचेतक मायानाथ अधिकारीले सांसदमात्र होइन, कोही कसैले पनि कुनै व्यक्तिमाथि हातपात गर्न नहुने बताउँछन् । सांसद राजीव गुरुङको बारेमा दलमा जानकारी आएको र यसबारेमा उनीसँग सोधपुछ गरेपछि त्यही अनुसार अगाडि बढ्ने उनले बताए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका मुख्य सचेतक मणिभद्र शर्मा कँडलले सांसदले हातपात गर्नु असाध्यै अशोभनीय रहेको प्रतिक्रिया दिए । उनले भने, ‘यो विषयमा हामी बिहीबार दलको बैठक बस्दै छौं, कसरी अगाडि बढ्ने बैठकबाटै निक्र्यौल गर्नेछौं ।’

तपाईको प्रतिक्रिया