माननीयको अशोभनीय व्यवहार

समाधान संवाददाता २०७६ माघ ९ गते १३:१६

तत्कालीन नेकपा एमालेको समर्थनमा निर्वाचत जितेका प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) विवादमा तानिएका छन् । पोखराको भण्डारढिकमा मंगलबार सुरु भएको मुख्यमन्त्री कप फुटबलको उद्घाटन समारोहमा पुगेका उनले एन्फा कास्की अध्यक्ष मीलन गुरुङलाई अपशब्द प्रयोग मात्र गरेनन् हातपात पनि गरे । जुन कुरालाई उनले मिडियाकर्मीसमक्ष बडो गर्वका साथ स्वीकार गरेका छन् ।

मनाङबाट आएका खेलाडीलाई खानबस्न प्रबन्ध नगरेको र अभ्यासका लागि मैदान उपलब्ध नगराएको उनको आरोप थियो । त्यतिमात्र होइन फिफाबाट र सरकारबाट आएको रकममा मिलनले अनियमितता गरेको उनले खुलेरै भने । अनियमितता गरेको भए अनुसन्धान गरी कारवाही गर्ने निकाय हुँदाहुँदै किन हातपात गर्नुभयो भन्ने प्रश्नमा उनले सांसद राजीवको जवाफ थियो, ‘उनीहरु पनि करप्ट छन् ।’ अनि अर्को अचम्म त घटना भएका बेला त्यहाँ रहेका प्रहरी केबल मुकदर्शक बने । यति सांसद दीपकको ठाउँमा दोस्रो व्यक्तिले हातपात गरेको भए अवस्था के हुन्थ्यो होला ?

राजीव गुरुङले राजनीतिक आवरण र संरक्षणमा धेरै पहिलादेखि अपराधजन्य क्रियाकलाप गर्दै आएको सञ्चारमाध्यममा सार्वजनिक हुँदै आएका थिए । यसअघिक उनका क्रियाकलाप काठमाडौं केन्द्रित थिए । लामो समय नेपाली कांग्रेसको तरुण दलमा आबद्ध राजीव गुरुङ पछिल्लो समय राप्रपामा आबद्ध भए । स्वतन्त्र रुपमा उठेका उनी तत्कालीन एमालेको सहयोगमा प्रदेश सभा चुनावमा मनाङ ‘ख’ बाट निर्वाचित पनि भए । तर उनीमाथि फौजदारी अभियोग लागेका कारण त्यतिबेला पोखरा आएर सपथ खान पाएका थिएनन् । निर्वाचित भएको १६ महिनापछि २०७५ माघ १४ गतेमात्र उनले सपथ खाएका थिए ।

Advertisement

निर्वाचन लगत्तै उनमाथि फौजदारी अभियोग लागेका कारण केही समय सम्पर्कमा रहेनन् । कानुनी भाषामा फरार रहे । २०७५ वैशाखमा पक्राउ परेपछि जेल परेका उनी सर्वोच्चको आदेशले छुटेपछि उनी पोखरा आएर सपथ खाएका हुन् । उनलाई गत असार १९ मा नेकपा प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पार्टीमा भित्र्याएका हुन् ।

पार्टी प्रवेश गराएका दिन मुख्यमन्त्री गुरुङले भनेका थिए, ‘समय र परिवेशले कोही व्यक्ति कुनै गलत काममा लागे पनि सुध्रने मौका पाए सुध्रिन्छ ।’ सांसद राजीवका हकमा पनि यो कुरा लागु हुन्छ भन्ने विश्वास आम जनमानसमा थियो । तर उनको बानी सुध्रिएको देखिएन । राजीव गुरुङ अहिले दीपक मनाङे होइनन् । उनी त जनताले मत दिएर जिताएका जनप्रतिनिधि हुन् । त्यसैले उनले गर्ने व्यवहार अब पहिलाको ‘दीपक मनाङे’को जस्तो हुनु हुँदैन । अहिले उनी ‘माननीय’ हुन् । माननीयले माननीयजस्तै व्यहावर प्रस्तुत गर्नु पर्‍यो नि ।

Advertisement

नेपालकै कानुन अनुसार निर्वाचित भएर आएको अनि कानुन बनाउने जिम्मा लिएर संसदमा सपथ खाएको व्यक्ति जथाभावी गर्दै हिँड्नु लोकतन्त्रप्रतिकै उपहास हो । संसद अधिवेशन चलिरहेका बेला र अझ गण्डकी प्रदेश सभाका सदस्यले सपथ खाएको २ वर्ष पुगेकै दिन ‘माननीय’ बाट यो घटना भएको छ । मुलुकमा कानुन कार्यान्वयनको अवस्था सन्तोषजनक छैन भन्दैमा सार्वनिकस्थलमा मान्छे कुट्दै हिँड्न र जेपायो त्यही बोल्न कसैलाई पनि छुट छैन । एन्फा कास्कीमा अनियमितता भएको छ भने सम्बन्धित निकायले छानबिन तत्काल थालोस् । लोकतन्त्र, कानुनी शासन र संघीयताको मर्मलाई आत्मसात गर्दै यो विषयलाई सांसद राजीव गुरुङको पार्टी नेकपा र गण्डकी प्रदेश सभाले गम्भीर रुपमा लिनुपर्छ ।

तपाईको प्रतिक्रिया