मन्त्रीले जवाफ नदिँदा संसद बैठक अवरुद्ध

समाधान संवाददाता २०७६ माघ १४ गते ११:५५

समाधान संवाददाता
पोखरा

गण्डकी प्रदेश सभामा एकैदिन २ पटक बैठक अवरुद्ध भएको छ । संसदमा उठाइएका प्रश्नको जवाफ १ साता बित्दासम्म पनि मन्त्रीबाट नआएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबारको बैठक २ पटक अवरुद्ध गरेको हो ।

आइतबारको बैठकमा नियमापत्ती जनाएका कांग्रेस सांसद कुमार खड्काले सोमबार पनि नियमापत्ती जनाए । प्रदेश सभा नियमावलीले व्यवस्था गरेअनुसार संसदमा उठेका सवालको ७ दिनभित्र जवाफ दिनुपर्ने व्यवस्थालाई सरकारले बेवास्ता गरेको र संसदीय पद्धति पालना नगरेको उनको भनाइ थियो । यसअघि उठेका सवालको जवाफ मन्त्रीहरुले नदिएसम्म बैठक चल्न नदिने सांसद खड्काले नियमापत्तीको क्रममा सुनाए ।

Advertisement

शून्य र विशेष समयपछि सामाजिक विकास मन्त्री नरदेवी पुन र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले यसअघि उठेका सवाल र मन्त्रालयले गरेका कामहरुको बारेमा जानकारी गराए । त्यसलगत्तै नरदेवी पुनले संसदमा पेस गर्ने तयारीमा रहेको ‘गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको विधेयक’ पेस नहुँदै सोमबारको पहिलो बैठक अवरुद्ध भयो । बैठकमा पर्यटनमन्त्री विकास लम्साल उपस्थित थिए तर, उनको बोल्ने कार्यक्रम थिएन । अन्य ३ मन्त्री सोमबारको बैठकमा उपस्थित भएनन् ।

सम्बन्धित मन्त्रीहरु संसदमा उपस्थित हुन नसक्ने कारण देखाएकाले अर्को बैठकमा मन्त्रीले जवाफ दिने र सोही किसिमको रुलिङ जारी भइसकेको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए । तर प्रमुख प्रतिपक्षी दलका सबै सांसद उठेर अवरोध जनाइरहेपछि पहिलो बैठक आधा घन्टाका लागि स्थगन भएको हो । कार्यव्यवस्था परामर्श समिति बैठकपछि झन्डै ४५ मिनेटको अन्तरमा दोस्रो बैठक बसेपनि पुन प्रमुख प्रतिपक्षी दलले अवरोध जनाएपछि बैठक चल्न सकेन । मंगलबारसम्मका लागि बैठक स्थगित गरिएको सभाभुख अधिकारीले सभामा जानकारी दिए ।

Advertisement

प्रदेश सभा नियमावलीले व्यवस्था गरेअनुसार संसदमा उठेका सवालको ७ दिनभित्र सरकारका मन्त्रीहरु जवाफ दिनुपर्ने व्यवस्था पालना नहुँदा अवरुद्ध गर्नु परेको प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले जानकारी दिए । संसदमा यसअघि उठेका सवाल र सांसद राजीव गुरुङको झापड प्रकरणबारे प्रतिपक्षी दलले सरकारसँग जवाफ मागेको छ ।

‘माननीय राजीव गुरुङ मुद्दा लागेर थुनामा जानुभयो भन्ने सभामुखले जानकारी गराउनुभयो,’ उनले भने, ‘कानुन, नियम भन्दामाथि कोही छैन । जसले कानुनविरुद्ध जान्छ त्यो सजायको भागी हुनुपर्छ । कुन कानुनमा मुद्दा चल्यो डिटेल हेरेको छैन । मलाई लाग्छ कानुन अनुसार गएको छ । कति ग¥यो, के ग¥यो मेरो कमेन्टको कुरा होइन तर प्रक्रियामा गयो नि ।’ मन्त्रीले जवाफ नदिएसम्म बैठक अवरुद्ध गर्ने नेता पोखरेलले जानकारी दिए ।

मगन्तेदेखि मिसेलसम्म छानबिनको माग
प्रदेश सभाको बैठकमा विदेशी नागरिकहरुले पोखरामा गरिरहेका अवैध क्रियाकलापलाई नियन्त्रण गरी कारबाही थाल्न सांसदहरुले आवाज उठाएका छन् । विशेष समयमा सांसद राजीव पहारीले अमेरिकी नागरिक मिसेल अलेग्जेन्द्रा विल्सले पोखरामा गरेका अवैध क्रियाकलापको बारेमा सञ्चारमाध्यमले उठाएका विषयमा गम्भीर हुन सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘भिसा प्रयोजन विपरीतका काम गर्दै आइरहेकी मिसेलका अवैध गतिविधि सञ्चारमाध्यमहरुले उठाइरहेका छन् । त्यसतर्फ उनी विरुद्धको उजुरीमा तत्काल छानबिन गरी कारबाही गर्न माग गर्दछु ।’

नेपालका विभिन्न तस्बिर देखाएर पैसा उठाउने कार्य रोक्न उनी विरुद्ध दिएको उजुरी उपर अनुसन्धान कहाँ पुगेको बारे जानकारी दिन पनि उनले सभामुख मार्फत सरकारसँग जवाफ मागेका हुन् ।

पर्यटन भ्रमण वर्ष मनाइरहँदा नेपाल प्रवेश गरी विशेषत पर्यटकीय क्षेत्र लेकसाइडमा हुने अवैध क्रियाकलाप माथि निगरानी बढाउन अध्यागन सहित सुरक्षा निकायले चासो दिन सांसद पहारीले आग्रह गरे । काश्मिरीहरुले सञ्चालन गरिरहेका व्यवसाय र अन्य विदेशीले सञ्चालन गर्ने व्यवसाय एवं गतिविधिमाथि विशेष निगरानी बढाउन उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विशेष समयमै बोल्दै सांसद दीपक कोइरालाले लेकसाइड क्षेत्रमा मगन्तेहरुको बिगबिगीले पर्यटन क्षेत्रमा नकारात्मक असर परिरहेको बताए । उनले भने, ‘अधिकांश भारतीय नागरिक नै यहाँ माग्न कै निम्ति आउने गरेको सञ्चारमाध्यममा प्रकाशित खबरबाट जानकारी आएको छ । गिरोह मार्फत नै लेकसाइडमा माग्न बस्ने र पर्यटकलाई हैरानी दिइरहेको कार्यले समग्र पर्यटन क्षेत्रलाई असर पारेको छ ।’ कानुनले निषेध गरेको गतिविधिलाई नियन्त्रण गर्नका लागि सम्बन्धित निकायले बेलैमा ध्यान नदिए विकराल रुप लिन सक्नेतर्फ सचेत हुन उनको आग्रह छ ।

तपाईको प्रतिक्रिया