मुख्यमन्त्री कप फुटबलः कास्की र लमजुङ फाइनलमा

समाधान संवाददाता २०७६ माघ १४ गते १२:२९

समाधान संवादददाता
पोखरा

पोखरा भण्डारढिकस्थित आदर्श युवा क्लबको खेल मैदानमा जारी गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री लिग फुटबल प्रतियोगिताको फाइनलमा कास्की र लमजुङबीच प्रतिस्पर्धा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको संयोजनमा भएको लिगको सेमिफाइनलमा कास्कीको आदर्श युवा क्लबले तनहुँको भीमाद क्लबलाई हराउँदै फाइनल प्रवेश गर्‍यो । लमजुङको त्रिवेणी युथ क्लबले स्याङ्जाको होराइजन क्लबलाई हराउँदै फाइनल प्रवेश गरेको हो ।

Advertisement

सोमबार भएको पहिलो सेमिफाइनल खेलमा कास्कीले तनहुँलाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै फाइनलको यात्रा तय गरेको हो । निर्धारित ८० मिनेटको खेल गोलरहित बराबरीमा रोकिएपछि अतिरिक्त समय १० मिनेट थप गरिएको थियो । थप समयमा पनि दुवै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि खेल टाइबे्रकरमा धकेलिएको हो । टाइबे्रकरमा कास्कीका गोलरक्षक विश्वास क्षेत्रीले १ पेनाल्टी बचाउ गर्दै टिमलाई फाइनलसम्म पु¥याउन सफल भए । क्षेत्री खेलको म्यान अफ दि म्याच घोषित भए ।

सोमबार नै भएको दोस्रो सेमिफाइनल खेलमा लमजुङले स्याङ्जालाई ३–१ को फराकिलो गोल अन्तरले हराउँदै सहजै फाइनल यात्रा तय गर्‍यो । खेल सुरु भएको तेस्रो मिनेटमा नै लमजुङका सन्दीप रानाले गोल गर्दै टिमलाई अग्रता दिलाए । लमजुङले अग्रता लिएको १० मिनेट बित्न नपाउँदै दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाउन सफल भयो । खेलको १३ औं मिनेटमा आसिक गुरुङले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् । पहिलो हाफमा २ गोलको अग्रता लिएको लमजुङले दोस्रो हाफमा थप १ गोल गर्दै टिमको जित निश्चित गरे । नवराज गुरुङले खेलको ७२ औं मिनेटमा गोल गरे । स्याङ्जाका लागि ५५ औं मिनेटमा सरोजकुमार क्षेत्रीले १ गोल गरे । खेलको म्यान अफ दि म्याच लमजुङका सन्दीप राना घोषित भए । कास्की लिग चरणमा समूह ए को विजेता टिम हो भने लमजुङ समूह ए कै उपविजेता टिम हो ।

Advertisement

लिग चरणमा समूह ए मा रहेको कास्कीले ३ खेल खेल्दा ३ खेलमा नै जित हात पार्दै ९ अंकका साथ शीर्षस्थानमा रहँदै अन्तिम ४ मा रह्यो । समान ३ खेल खेलेको लमजुङ २ खेलमा जित र १ खेलमा हार व्यहोर्दै ६ अंकका साथ उपविजेता हुँदै अन्तिम ४ मा प्रवेश गरेको थियो । समान ३ खेल खेलेका गोरखा र मनाङ भने लिग चरणबाटै बाहिरिएका थिए । गोल डिफेन्सको आधारमा गोरखा तेस्रो स्थानमा, गोरखाको प्लस ४ गोल रहेको छ । गोलको आधारमा मनाङ पुछारमा रहेको छ । ३ खेल खेलेको गोरखा २ खेलमा हार र १ खेल बराबरी गर्दै १ अंक बटुल्न सफल भयो भने समान खेल खेलेको मनाङ पनि २ मा हार र १ खेल बराबरी रहँदै १ अंकका साथ समूहको पुछारमा रहँदै समूह लिगबाट बाहिरिएको हो ।

उता समूह बि मा रहेको स्याङ्जा गोलको आधारमा समूह विजेता बन्दै अन्तिम ४ मा प्रवेश गरेको थियो । ४ खेल खेलेको स्याङ्जा ३ खेलमा जित र १ खेलमा हार व्यहोर्दै ९ अंक रहँदा समान खेल खेलेको तनहँुले पनि ३ खेलमा जित र १ खेलमा हार व्यहोर्दै ९ अंकका साथ गोलको आधारमा समूह उपविजेता बनेको थियो । स्याङ्जाको प्लस ४ गोल र तनुहुँको प्लस २ गोल थियो ।

४ खेल खेलेको म्याग्दी २ खेलमा जित र २ खेलमा हार व्यहोर्दै ६ अंकका साथ समूह तालिकामा तेस्रो, समान खेल खेलेको नवलपुरले २ खेलमा जित र २ खेलमा हार व्यहोर्दै ६ अंक बटुले पनि लिग चरणबाट बाहिरिएको हो । ६ अंक बटुल्दै तालिकाको चौंथौ स्थानमा रहँदै बाहिरिएको हो । ४ खेल नै खेलेको बागलुङ भने ४ खेलमा नै अंकविहिन रहँदै समूहको पुछारमा रहँदै बाहिरिएको छ । लिगमा सबै खेल हार्ने १ मात्र टिम बागलुङ हो ।

‘थुनामुक्त भएपछि बसेर हिसाब मिलाउँछौं’
माघ ७ गते गण्डकी प्रदेश मुख्यमन्त्री कप उद्घाटन हुँदै थियो । सोही दिन आयोजक समिति कोषाध्यक्ष मीलन गुरुङमाथि हातपात भयो । गत बिहीबार कोषाध्यक्ष गुरुङमाथि जिल्ला प्रहरी कार्यालय कास्कीमा बैंकिङ कसुरविरुद्ध जाहेरी दर्ता भएको थियो । शुक्रबार गुरुङलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । मीलनमाथि आइतबार म्याद थप गरी ७ दिनका लागि थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।

आयोजक समितिका कोषाध्यक्ष मीलन पक्राउ परे पनि प्रतियोगिताका लागि कुनै असर नपरेको अखिल नेपाल फुटबल संघ उपाध्यक्ष तथा प्रतियोगिता संयोजक कृष्ण थापा बताउँछन् । प्रतियोगिताका लागि मीलनले तयारी गरे पनि उनी नभएको खण्डमा कुनै पनि काम नरोकिएको थापाको भनाइ छ । ‘हामीले कोषाध्यक्ष नभएका कारण सामानको पैसा बुझाउन पाएका छैनौं, ‘थापाले भने, ‘उहाँ निस्केपछि पैसा दिन्छु भनेर अहिलेसम्म काम गरेका छौं ।’

प्रतियोगितामा भएको खर्चको सबै हिसाब प्रष्ट रुपमा राखेको उनले बताए । कोषाध्यक्ष हिरासतमुक्त भएपछि लेनदेको घटना मिलाउने थापाको भनाइ छ । उनले खेलामा लमजुङ जिल्लाविरुद्ध प्रोटेस्ट परेको र उक्त प्रोटेस्ट पनि टुंगो लागिसकेकोबताए । थापाको अनुसार अहिलेसम्म प्रतियोगिताका लागि २० लाख रुपैयाँमात्र निष्काशन भएको छ । अन्य पैसा प्रतियोगिता सकिएपछि मात्र आउने भएका कारण प्रतियोगितामा भ्रष्टाचार नभएको दाबी गरे ।

अखिल नेपाल फुटबल संघ कास्की महासचिव तथा गण्डकी प्रदेश सचिव रमेश कार्कीले मीलनलाई प्रहरीले पक्राउ गर्दा प्रतियोगिताको समितिभित्र बाट टिममा असर परेको बताए । उनले प्रतियोगिता सकिएपछि सबै बैठक बसेर भित्री कुरा मिलाउने जानकारी दिए । उनले अहिले प्रतियोगितामा मीलन नभए पनि आयोजकले गर्नुपर्ने सबै काम भइरहेको प्रष्ट्याए ।

प्रतियोगिताको फाइनल खेल मंगलबार हुँदै छ । प्रतियोगिामा पहिलो हुने जिल्लाले ५ लाख र दोस्रो हुने जिल्लाले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

तपाईको प्रतिक्रिया