मुस्ताङमा तेस्राे राष्ट्रिय स्की प्रतियाेगिता हुने

समाधान संवाददाता २०७६ माघ १५ गते १२:५८

समाधान संवाददाता, पाेखरा

मुक्तिनाथ रानीपौवाका स्थानीय पर्यटन व्यवसायी सुरज गुरुङको पहलमा मुस्ताङमा तेस्रो राष्ट्रिय स्की प्रतियोगिता हुने भएको छ । नेपाल स्की संघले मुक्तिक्षेत्रमा स्की च्याम्पियनसिप गर्न लागेको हो ।

हिउँको चाँङसँगै चिप्लेटी खेल्दै लुकामारी गर्ने साहसिक खेल हो स्की । समुन्द्री सतहदेखि करिब ४ हजार मिटर उचाइमा हिउँमाथि स्की खेल्ने गरिन्छ । हाइ अल्टिच्युड साहसिक स्की खेल्न उपयुक्त स्थान मुस्ताङ भएकाले संघले यहीँ दोहोर्‍याएर प्रतियोगिता गर्न लागेको संघका महासचिव विजय श्रेष्ठले जानकारी दिए ।

Advertisement

यसअघि संघले रसुवाको लाङटाङस्थित क्यानजेन क्षेत्रमा पहिलो पटक स्की च्याम्पियनसिप गरेको थियो । उनले मुस्ताङ जिल्ला अरु जिल्लाभन्दा भौगोलिक दृष्टिकोणले बाटोघाटोको सहजता, यातायात, होटल र स्की खेल्न चाहिने सबै पूर्वाधार भएकाले च्याम्पियनसिपका लागि मुस्ताङ छनोट गरिएको महासचिव श्रेष्ठले प्रष्ट पारे । महासचिव श्रेष्ठले मुस्ताङमा स्की रिसोर्ट स्थापना गर्न सके पर्यटन क्षेत्रमै छलाङ मार्ने दाबी गरे ।

भारी हिमपात भएको क्षेत्रमा प्रशस्त अक्सिजन उपलब्ध हुने भएकाले स्की खेल्न सेताम्मे हिउँ अनुकूल भएको संघको ठम्याइ छ । संघले विशुद्ध पर्यटन प्रवद्र्धन लक्ष्यसहित कार्यक्रम गर्न लागेकाले यसका विजेतालाई नगद नभई प्रमाणपत्र, मेडल लगायतले पुरस्कृत र सम्मानित गरिने जनाएको छ । मुस्ताङमा स्की च्याम्पियनसिप आयोजना गर्न संघ टोली आउँदो बिहीबार काठमाडौंबाट मुस्ताङ प्रस्थान गर्दै छ ।

Advertisement

संघले प्रतियोगीलाई यही माघ १८ र १९ गते मुक्तिनाथ क्षेत्रमा स्की प्रशिक्षण गराउने र २० गते अन्तिम च्याम्पियनसिप गर्ने तयारी थालेको हो । स्कीका लागि पूरै खर्च व्यवस्थापन र स्की इकुमेन्ट संघकै रहनेछन् भने यसकोे समन्वय मुक्तिनाथको होटल ग्रान्ड सम्वाला, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र संघ तथा प्रदेश सभासदले गर्ने संघले जनाएको छ ।

दोस्रो संस्करणमा २५ खेलाडी सहभागी थिए भने यसपटक ४० भन्दा बढी सहभागी हुने आयोजकको अनुमान छ । महासचिव श्रेष्ठले यसपटक स्नो बोडिङ एसोसिएनले कालिञ्चोकमा आयोजना गरेको स्कीका ६ जना च्याम्पियनले भाग लिने बताए । उनका अनुसार स्की च्याम्पियनसिपमा स्नो बोडिङ स्की, अल्पाइन स्की र क्रस कन्ट्री स्की समावेश हुँदै छ । स्की समन्वयकर्ता होटल ग्रान्ड सम्वालाका सञ्चालक सुरज गुरुङले मुस्ताङको पर्यटक विकासका लागि स्की च्याम्पियन महत्वपूर्ण भएको बताए ।

तपाईको प्रतिक्रिया