सहिदको सम्मान

समाधान संवाददाता २०७६ माघ १६ गते १२:२०

देश र समाजको उन्नति प्रगतिको लागि ज्यान अर्पण गर्ने व्यक्ति सहिद हुन्छ । जहानियाँ तानाशाही शासनका आरम्भकर्ता जंगबहादुर राणाका विरुद्ध संगठित विद्रोह गरेका गोरखाका लखन थापामगरलाई त्यतिबेलाको शासनसत्ताले फाँसी दिएको थियो । १९३३ फागुन २ गते उनको हत्या भएको थियो । उनी नेपालका प्रथम सहिद मानिन्छन् । राणा शासनकै विरुद्ध विद्रोह गरे वापत १९९७ मा दशरथ चन्द, धर्मभक्त, गंगालाल र शुक्रराज शास्त्रीको ज्यान लिइएको थियो । उनीहरुले उक्त सालको माघ दोस्रो साता ज्यान गुमाएका थिए ।

देशमा प्रजातन्त्रको वहालीका लागि लडे बापत उनीहरुले ज्यान गुमाए । तसर्थ नेपाली इतिहासमा उनीहरु चार सहिदका नाममा सम्मानित र अमर छन् । त्यसपछि पनि थुप्रैजनाले प्रजातन्त्रका लागि ज्यान अर्पण गरे । २००७ सालमा आएको प्रजातन्त्रको हरणपछि फेरि पनि अनेकजनाले ज्यान गुमाए । तिनीहरु पनि सम्मानित सहिद हुन् । २०४६ सालमा प्रजातन्त्रको पुनर्वहाली गर्न पनि थुप्रैले ज्यान आहूति दिए । फेरि देशमा गणतान्त्रिक व्यवस्थाका लागि हजारौंले उत्सर्ग गरे । हाला कि सशस्त्रद्वन्द्वमा त्यसरी ज्यान उत्सर्ग गर्नेहरुलाई राज्यले सहिद घोषणा गरे पनि सहिद मान्ने नमान्ने भनेर मत विभाजित छ । आजको समावेशी लोकतान्त्रिक व्यवस्था र गणतन्त्र त्यही सशस्त्र द्वन्द्वको आड र शान्तिपूर्ण जनआन्दोलनका भरमा आएको हुँदा त्यस बेला ज्यान गुमाउनेहरु पनि सहिदै हुन् ।

२०६३ सालपछि थपिएका सहिदहरु भने कतिपय अवस्थामा विवादास्पद र स्वीकार गर्न नसकिने खालका पनि छन् । दुर्घटनामा बितेका र लडाइँ झगडामा मरेकाहरुलाई पनि सहिद घोषणा गरिएको छ । दलहरुको संरक्षणमा रहेका गुन्डाहरुलाई पनि मरेपछि मारिएपछि सहिद घोषणा गरिएको छ । यसले वास्तविक सहिदहरुको अवमूल्यन गरेको छ । सहिदको सम्मानमा चोट लागेको छ । साच्चीकै देश र जनताको भलाइका लागि ज्यान दिने र व्यक्तिगत स्वार्थका लागि लडाइँ झगडा वा गुन्डागर्दीमा उत्रनेहरुलाई एउटै डालोमा हालिएपछि सहिदहरुको मर्यादा बाँकी रहन्न । एक त थप गुन्डागर्दीलाई प्रेरणा दिन दलहरुले जोपायो त्यसैलाई सहिदको कोटामा राखेका छन् । अर्काेतिर राहतको रकम राज्यबाट दलीय कार्यकर्ताका परिवारलाई पोस्न सहिद घोषणा गर्ने गरेका छन् । वास्तविक सहिदले न परिवारलाई राहत खोजेका थिए न व्यक्तिगत स्वार्थमा ज्यान आहूति दिएका थिए ।

Advertisement

सत्ताले एकातिर जसलाई पायो त्यसैलाई सहिद घोषणा गरेर वास्तविक सहिदको अपमान गरेको छ भने अर्काेतिर ती सहिदको अपमान हुने दिशामा आफूलाई अग्रसर गराइरहेको छ । अहिलेको नेपालको सपना सहिदको सपना थिए । समृद्ध नेपालको सपना हो सहिदको सपना । विकसित नेपाल र खुसी नेपालीको सपना हो सहिदको सपना । लोकतान्त्रिक अधिकारले सुसम्पन्न नागरिकको सपना हो सहिदको सपना । तर अहिलेको सरकारले सहिदको सम्मान हुने र सहिदबाट प्रेरणा लिने काम गरेको पाइन्न । सहिद दिवस माघ १६ गते मनाइन्छ त केवल औपचारिकता पूरा गर्न मात्रै । सहिदको सालिकमा गएर माल्यार्पण गरेर औपचारिकता पूरा गर्दैमा सहिदको सम्मान हुँदैन । उनीहरुका सपना साकार पार्ने काम गरे स्वतः उनीहरुको सम्मान हुन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया