रोजगारीले बद्लिएकाे दैनिकी

समाधान संवाददाता २०७६ माघ १९ गते १५:०२

कृष्ण न्यौपाने
दमौली

तनहुँको शुक्लागण्डकी नगरपालिका ६ खैरेनीटारकी कोपिला अर्याल घरमा बस्दा फेसबुक चलाउने, युट्युब हेर्ने काम गर्थिन् । दिन बिताउनका लागि मोबाइल चलाउनुपर्ने बाध्यता थियो । तर माघमा सुरु भएसँगै उनलाई दिउँसो फुर्सद छैन । शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारामा स्थापना भएको ढुंग्रो उद्योगले अर्यालको दैनिकी बदलिएको छ ।

‘श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्छ, म घरमा एक्लै छु,’ अर्यालले भनिन्, ‘घरमा यत्तिकै बस्दा दिन कटाउन पनि गाह्रो हुन्थ्यो । मोबाइल चलाउँदै बस्नुको विकल्प थिएन । तर अहिले उद्योगमा काम गर्न थालेपछि दैनिकी परिवर्तन भएको छ ।’ बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म उद्योगमा उनी व्यस्त हुन्छिन् । ‘पहिला दिउँसोको समयमा हातमा मोबाइल हुन्थ्यो, अहिले ढुंग्रो हुन्छ,’ अर्यालले भनिन् । श्रीमान्ले विदेशमा १०–१२ घण्टा काम गर्ने गरेको र अहिले आफूले पनि काम गर्न थालेपछि कामको महत्व पनि बुझेको उनले सुनाइन् । उद्योगले सीप सिकाउनुका साथै आम्दानीको स्रोत पनि बनाएको छ ।

Advertisement

खैरेनीटारकै इन्द्रा अर्याल पनि फुर्सदै थिइन् । उनको पनि उद्योगमा काम गर्न थालेपछि दैनिकी फेरिएको छ । बिहान चाँडै नै खाना खाएर घरधन्दा सकेर दिनभर उद्योगमा काम गर्ने गरेकी छन् । घरमै त्यत्तिकै समय खेर फाल्नुभन्दा उद्यमशील बन्ने उद्देश्यसहित काम गर्न सुरु गरेको उनी बताउँछिन् ।

व्यास १० घर भई हाल बेलचौतारा बस्ने विष्णु थापाले रोजगारीले अत्मनिर्भर बनाउन सघाएको उल्लेख गरिन् । ‘केही कुरा किन्न पर्दा श्रीमान्सँग पैसा माग्नुपथ्र्यो, अहिले आफैंले पनि अलि अलि कमाउन थालेपछि सजिलो भएको छ,’ थापाले भनिन् ।

Advertisement

माछापुच्छ«े फुड प्रोडक्टमा उनीहरुसहित ३० महिला र ५ पुरुषले रोजगारी पाएका छन् । सबै महिला शुक्लागण्डकी आसपासका छन् । स्थानीय पवनकुमार ढकाल, सुरज श्रेष्ठ, ढाकाराम सुवेदी, जयशंकर यादव र अभिषेक यादवको संयुक्त लगानीमा माघ १ गतेदेखि उद्योग सञ्चालनमा आएको छ । पवनकुमारको जग्गा लिजमा लिएर उद्योग सञ्चालन गरिएको छ ।

उद्योगमा हालसम्म ३५ लाख लगानी भएको सञ्चालक ढकालले जानकारी दिए । उद्योगबाट हाल ढुंग्रोमात्रै उत्पादन भइरहेको छ । भविष्यमा चिजबल लगायत पनि उत्पादन सुरु गरिने उनले बताए । ‘सुरुआती चरण भएकाले अन्य सामग्री उत्पादन गर्न सकेका छैनौं, केही समयपछि अन्य सामग्री पनि उत्पादन गर्ने छौं,’ उनले भने ।

ढकालका अनुसार उद्योगबाट हाल ७० प्याकेट ढुंग्रो उत्पादन भइरहेको छ । माग अनुसार ढुंग्रो पु¥याउन उद्योगलाई भ्याइनभ्याइ छ । ढुंग्रा तनहुँको शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका, भीमाद नगरपालिकाका साथै पोखरा, नारायणगढ, बागलुङ, स्याङ्जा लगायतका स्थानमा पठाइन्छ । ‘बजारको समस्या छैन,’ ढकालले भने ।

तपाईको प्रतिक्रिया