तनहुँमा रंगशालाको खोजी

समाधान संवाददाता २०७६ माघ २७ गते १२:४७

कृष्ण न्यौपाने
दमौली

सरकारले गण्डकी प्रदेशमा निर्माण गर्न लागेको रंगशालाका लागि प्रदेश सरकारले सम्भावित जग्गाको अध्ययन थालेको छ । प्रदेशको राजधानी पोखरामा सुविधासम्पन्न रंगशाला निर्माण भइरहेको र छिमेकी जिल्लामा पनि रंगशाला बनाउने सरकारको नीति बमोजिम तनहुँ जिल्लाका २ ठाउँमा प्रदेश सरकारले सम्भावित जग्गाको अध्ययन गरेको हो ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको नेतृत्वमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल लगायतको टोलीले रिसिङ गाउँपालिका–१ झापुटारमा रहेको खेलमैदान र व्यास नगरपालिका–५ चिन्तुटारमा रहेको खेलमैदानको आइतबार स्थलगत अनुगमन गरेको छ ।

Advertisement

प्रदेश स्तरमा आयोजना हुने खेलकुद प्रतियोगिता छिमेकी जिल्लामा पनि गर्ने उद्देश्य बमोजिम तनहुँमा रंगशाला निर्माण गर्ने लक्ष्य राखिएको मन्त्री गुरुङले जानकारी दिए । अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने सरकारको तयारी रहेकोले सम्भावित जग्गाको खोजी सुरु गरिएको मन्त्री गुरुङले जानकारी दिए । मन्त्री गुरुङका अनुसार झापुटारमा रहेको खेलमैदानलाई रंगशाला बनाउनका लागि सम्भावना देखिएको छ ।

‘प्रदेशमा आयोजना हुने खेलकुद प्रतियोगितालाई छिमेकी जिल्लाहरुमा पनि आयोजना गर्ने उद्देश्यले सम्भावित जग्गाको खोजी कार्य शुरु गरेका हौं,’ उनले भने, ‘हाल भइरहेको खेलमैदानलाई नै व्यवस्थित गरी रङ्गशाला निर्माण गर्ने सरकारको सोच छ ।’

Advertisement

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले झापुटारमा रहेको खेलमैदानको जग्गा यकिन गरेर प्रतिवेदन प्रस्तुत गर्न खेलमैदान निर्माण समितिलाई आग्रह गरे । सिलवालले खेलमैदानको ‘ट्रोफोग्राफी सर्भे’ का लागि परिषद्ले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

खेलमैदान निर्माण समितिका अध्यक्ष मधु थापाले यस ठाउँमा पर्याप्त सार्वजनिक जग्गा रहेकोले रङ्गशाला निर्माण गर्न सकिने बताए । थापाका अनुसार उक्त खेलमैदानलाई युवा तथा खेलकुद मन्त्रालयबाट गत आर्थिक वर्षमा रु दश लाख विनियोजन भएको थियो । उक्त बजेटबाट खेलमैदान सम्याउने काम भएको छ ।

तपाईको प्रतिक्रिया