सूर्य नेपाल वेस्टर्न ओपन २०२० सुरु

समाधान संवाददाता २०७६ फागुन १ गते १२:२७

समाधान संवाददाता
पोखरा

सूर्य नेपाल वेस्टर्न ओपन २०२० बुधबार सुरु भएको हो । गल्फको यो स्पर्धामा ४८ खेलाडी प्रो र एमेच्योरतर्फ प्रतिस्पर्धामा छन् । बुधबारको खेलमा शीर्ष वरियताका गल्फर शिवराम श्रेष्ठले १ अन्डर ६८ को कर्डमा अग्रता लिएका छन् ।

फ्रन्ट नाइन २ अन्डर ३२ स्कोरमा खेलेको उनले १० औं होलमा इगल प्रहार गरे । पार ५ को होलमा उले २ स्ट्रोक जोगाए । तर शिवरामको यो लय १५ औं होलमा आइपुग्दा मत्थर भयो । उनले १५ औं होलमा त्रिपल बोगी खेपे । १७ औंमा बर्डी हिर्काउँदा १८ औं होलमा पनि फेरि बोगी खेपेका उनी बुधबारको खेलमा १ अन्डर खेल्नै शीर्ष स्थानमा छन् ।

Advertisement

शिवरामलाई धनबहादुर थापाले पछ्याएका छन् । उनले पहिलो दिनको खेलमा लेभल पार खेले । पहिलो होलमै डबल बोगी व्यहोरा थापाले १८ औं होलमा फेरि डबल बोगी खेले । उनले फ्रन्ट नाईनमा १ अन्डर र ब्याक नाइन भने १ ओभर खेलेका छन् ।

प्रतियोगिताको तेस्रो स्थानमा गल्फरहरु शुक्र राई, बलभद्र राई र निरज तामाङ रहे । उनीहरुले समान १ ओभर खेलेका छन् । शुक्रले दोस्रो होलमा बोगी खेपे भने १८ औं होलमा बंकरमा परे । यद्यपि उनी लेभल पार खेल्दै स्ट्रोक जोगाउन सफल भए । बलभद्रले भने फ्रन्ट नाइन लेभल पार खेल्ने क्रममा ५ र ८ औं होलमा बर्डी हिर्काए । उनले ६ र ९ होलमा बोगी व्यहोरे । ११ औंमा बोगी, १२ औंमा डबल बोगी खेलेका उनले १५ औं र १७ होलमा बर्डी खेले ।

Advertisement

तामाङले फ्रन्ट नाइनमा १ ओभर ३५ खेले भने ब्याक नाइन लेभल पार खेले । १०, ११ र १२ औं होलमा बर्डी खेलेका तामाङ १४ होलमा डबल बोगी खेप्न बाध्य भए । १६ औंमा बर्डी खेल्दै उनी लेभल पारको स्थितिमा आईपुगे । बुधबारको खेलमा भुवन नगरकोटी र भुवनकुमार रोकाले समान २ ओभर ७१ को स्कोर बनाए । प्रतियोगितामा पोखरा, काठमाडौं, धरान लगायतका गल्फर सहभागी छन् ।

विजेताले १ लाख २५ हजार पुरस्कार पाउने हिमालयन गल्फ कोर्षका व्यवस्थापक भुवन गुरुङले बताए । प्रतियोगितामा उत्कृष्ट २४ भित्र पर्ने खेलाडीले नगद पुरस्कार पाउने छन् ।

तपाईको प्रतिक्रिया